
रत्ननगर । रत्ननगर–१६ स्थित पिठुवा स्वास्थ्यचौकीमा आयोजित निःशुल्क आँखा शिविरमा २२६ जना सेवाग्राहीले आँखा जाँच गरी औषधिसहितको सेवा लिएका छन् । शिविरमा ३० जना मोतिबिन्दुका बिरामीलाई शल्यक्रिया लागि भरतपुर आँखा अस्पताल पठाइएको छ ।
नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, रत्ननगर–१६ वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीको संयुक्त आयोजनामा सञ्चालित शिविरबाट ३० हजार रुपैयाँबराबरको औषधि हस्तान्तरण गरिएको थियो ।
रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी र सरिता गुरूङको आतिथ्यता रहेको थियो ।
भरतपुर आँखा अस्पतालबाट वरिष्ठ नेत्र सहायक सुभाष सापकोटा, आयुष पौडेल, महिला स्वास्थ्य स्वयंसेविकाहरु, स्वास्थ्यचौकीका सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले हरेक वर्ष वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीको आयोजनामा निःशुल्क स्वास्थय शिविरहरुमा औषधि वितरण गर्नुका साथै बिरामीलाई घर फर्किंदा यातायातको व्यवस्था गर्दै आएको बताए ।
पिठुवा स्वास्थ्यचौकीका प्रमुख नरहरि श्याम शर्माले वडा कार्यालयको सहयोग र स्वास्थ्यचौकीको समन्वयमा वडावासीलाई टोल–टोलमा विभिन्न शिविरमार्फत स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको बताए । यसैक्रममा आँखा शिविर सञ्चालन गरिएको उनले बताए ।
चितवन । नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर अतिक्रमणमा परेको छ । नहर भरतपुर महानगरपालिकाको सहरी क्षेत्र भएर बग्छ । नहरको जग्गा विभिन्न व्यक्ति, संघसंस्था, समूह र सरकारी निकायले वर्षौँदेखि ओगटेका छन् । अतिक्रमण बढेपछि लिफ्ट सिँचाइअन्तर्गत ‘सी’ नहर हराएर नक्सामा सीमित बन्नपुगेको छ ।
भरतपुर महानगरपालिका–१ मा पर्ने नारायणी लिफ्ट सिँचाइ विसं २०४० बाट सञ्चालनमा आएको थियो । लिफ्ट सिँचाइ प्रणालीअन्तर्गत नहर ‘ए’ बाट नारायणीको पानी तानेर नहर ‘बी’ र नहर ‘सी’ मार्फत सिँचाइका लागि छोडिन्छ । बी र सी नहरका शाखा नहरबाट पानी तानेर किसानले खेतबारी सिँचाइ गर्दै आएका छन् ।
भरतपुर महानगरपालिका–११ बर्सेनि रामबागसम्मको १३ किलोमिटर लामो ‘सिएल वान’ नहरको अधिकांश जमिन अतिक्रमणमा परेको छ ।
नारायणी लिफ्ट जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले खेतीयोग्य जमिन घडेरीमा परिणत हुने अवस्था आएपछि नहरको संरक्षणमा स्थानीयको चासो कम हुँदै गएको बताए ।
नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख कुलराज चालिसेले अतिक्रमण भएको क्षेत्रमा नहरबाट पुनः पानी सञ्चालनको सम्भावना नरहेको बताए ।
उनले सिञ्चित हुने क्षेत्र खण्डीकरण भइसकेकाले नहरको जमिनलाई स्थानीय सरकारले विधि बनाएर उपयोग गर्न सुझाव दिए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गाको रेखदेख र संरक्षणको जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । नारायणी लिफ्टको अन्य नहर पनि ठाउँ–ठाउँमा अतिक्रमणमा परेको छ । सुरूमा चार हजार ७०० हेक्टरमा सिँचाइ हुँदै आएकोमा अहिले त्यो क्षेत्र घटेर तीन हजार २०० हेक्टरमा सीमित भएको छ ।
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा आर्थिक वर्ष २०८२/०८३ मा अपराधसम्बन्धी १ हजार ८७६ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा केही प्रकारका अपराध घटे पनि लागूऔषध र बैंकिङ कसुरका घटनामा उल्लेख्य वृद्धि भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये १ हजार १९२ वटा फछ्र्योट भइसकेका छन् भने ५८४ वटा मुद्दा अझै विचाराधीन छन् ।
दर्ता भएका मुद्दामध्ये आत्महत्यासम्बन्धी ४७४ वटा सबैभन्दा बढी रहेका छन् । त्यसपछि लागूऔषधसम्बन्धी ३४१, सार्वजनिक हितविरुद्धका कसुरसम्बन्धी २६४, बैंकिङ कसुरसम्बन्धी १९२, सवारी ज्यानसम्बन्धी ९८, चोरीसम्बन्धी ८८, करणीसम्बन्धी ४५ तथा कर्तव्य ज्यानसम्बन्धी ३ वटा मुद्दा दर्ता भएका छन् ।
स्थानीय तहअनुसार सबैभन्दा बढी अपराध भरतपुर महानगरपालिकामा १ हजार १६० वटा दर्ता भएका छन् । त्यसपछि कालिका नगरपालिकामा २३२, रत्ननगरमा १४३, माडीमा ९९, खैरहनीमा ९३, इच्छाकामनामा ७९ र राप्ती नगरपालिकामा सबैभन्दा कम ७० वटा अपराधसम्बन्धी घटना दर्ता भएका छन् ।
प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लागुऔषधसम्बन्धी अपराध ४९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८१/०८२ मा १८५ वटा रहेको यस्तो अपराध गत वर्ष २७५ पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ । यस्तै बैंकिङ कसुरसम्बन्धी अपराध पनि ४६ प्रतिशतले वृद्धि भएको छ । सवारी ज्यान र ठगीसम्बन्धी मुद्दा क्रमशः ८ र ३ प्रतिशतले बढेका छन् । यद्यपि चोरी, अभद्र व्यवहार, आत्महत्या, जबर्जस्ती करणी, विद्युतीय अपराध, बाल यौन दुरुपयोग तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा भने घटेको प्रहरीले जनाएको छ ।
एक वर्षको अवधिमा अदालतबाट दोषी ठहर भएका ८७७ जनालाई पक्राउ गरिएको प्रहरीको तथ्यांक छ । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा २९४ जनाले बढी हो । आर्थिक वर्ष २०८१÷ ०८२ मा ५८३ जना पक्राउ परेका थिए । गत आर्थिक वर्षमा पक्राउ परेका दोषीहरूको कुल कैद अवधि १२२ वर्ष ८ महिना २० दिन रहेको छ । साथै, ६ करोड ७६ लाख ४७ हजार ६१९ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।
प्रहरीले सो अवधिमा हराएका ४१० वटा मोबाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको जनाएको छ । यस्तै, जिल्लाभर १२ हजार ८३४ पटक गस्ती सञ्चालन गरिएको, ९१ वटा बन्द, विरोध, जुलुस तथा ¥याली भएका र प्रहरीको १०० नम्बरमा ४५ हजार ९३७ पटक नागरिकबाट फोन आएको तथ्यांकसमेत सार्वजनिक गरिएको छ ।





