
चितवन । दूधको अभाव भएपछि चितवनको भरतपुर महानगरपालिका–१, ठिमुरामा रहेको चितवन मिल्क उद्योग तीन महिनादेखि बन्द रहेको छ । डेरी र सहकारीहरूले ल्याएको दूध प्रशोधन गरेर पाउडर र नौनी उत्पादन गर्दै आएको उद्योग दूध नआएपछि बन्द भएको हो ।
उद्योगले डेरी र सहकारीहरूले ल्याएको दूध निश्चित शुल्क लिएर प्रशोधन गर्दै आएको थियो । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत वर्षमा असार र साउनमा दूधको अभावमा बन्द हुने गरेको भए पनि यस वर्ष वैशाखबाट नै उद्योग बन्द भएको हो ।
उद्योगमा डेरी र सहकारीले राखेको नौनी र पाउडर दूध सकिने अवस्थामा पुगेको छ । नौनी खासै मौज्दात नभएको भन्दै उनले पाउडर दूध एक हजार बोरा बाँकी रहेको बताए ।
विगत वर्षहरूमा यतिबेला ५०० टन नौनी र छ हजार बोरा हाराहारी पाउडर दूध मौज्दात हुने गर्दथ्यो । चितवन, मकवानपुर, नवलपरासी, रूपन्देहीलगायत जिल्लाबाट यहाँ दूध आउने गर्दछ ।
विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु ११३ र घ्यू (बटर)को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । भदौबाट दूध आउने प्रतीक्षामा आफूहरू रहेको पराजुली बताउँछन् । उद्योगमा ३३ जना कर्मचारी कार्यरत छन् ।
विसं २०६४ मा स्थापना भएको सो उद्योग २०७२ सालमा आएको भूकम्पसँगै बन्द भएको थियो । बन्द हुनुअघि उद्योग आफैँले दूध खरिद गरेर प्रशोधन गरी बजारमा बिक्री गर्दै आएको प्रबन्धक पराजुलीले बताए ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार भारतीय सीमा क्षेत्रबाट दूध भारततर्फ गएकाले नेपालमा दूधको सञ्चिति नभएको हो । भारतमा अहिले दूधको अभाव छ । यहाँको दूधले बजार पाइरहेको छ । जसका कारण प्रशोधनका लागि दूध अभाव छ । किसानले राम्रो मूल्य पाएको उनले बताए ।
चितवन । भरतपुर अस्पताल प्रसूति गराउनेको पहिलो रोजाइ हुने गरेको छ । पहिले–पहिले टाढाटाढाबाट सुत्केरी गराउन आउने गरेकामा स्थानीयस्तरमा अस्पतालहरू खुलेपछि टाढाका बिरामीको सङ्ख्या घटे पनि स्थानीयको पहिलो रोजाइ भरतपुर अस्पताल बन्ने गरेको छ ।
प्रसूति सेवामा नेपालमा नै अग्रणी अस्पतालको रूपमा भरतपुर अस्पताललाई लिने गरिन्छ । सरकारी अस्पताल भएर सुत्केरी गराउन आउनेले विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ सेवाका कारण सकेसम्म अधिकांशले भरतपुर अस्पतालमा शिशु जन्माउन चाहन्छन् । अस्पतालका प्रवक्ता एवं वरिष्ठ प्रसूति रोग बिशेषज्ञ सह प्रध्यापक डा रामप्रसाद सापकोटा गत आर्थिक वर्षमा सात हजार ८५३ जना महिलाले अस्पतालबाट प्रसूति सेवा लिएको बताउँछन् ।
उनका अनुसार तीमध्ये चार हजार २३५ जनाको सामान्यस्तरबाट शिशुलाई जन्म दिइएको छ भने तीन हजार ५४० जनाको शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको छ । ७० जनाको भ्याकुम र फोर्सएप नामक उपकरण प्रयोग गरेर शिशुलाई जन्म दिइएको छ ।
अघिल्लो आर्थिक वर्षमा आठ हजार ४२० जना आमाले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएका थिए । तीमध्ये तीन हजार ८२५ जनाको शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको हो भने चार हजार ४०८ जनाको सामान्य तरिकाले शिशुलाई जन्म दिइएको छ । १८७ जना आमाको उपकरण प्रयोग गरी शिशुलाई जन्म दिइएको हो । गतवर्ष ४५ प्रतिशतको शल्यक्रिया गर्नुपरेको थियो भने अघिल्लो आर्थिक वर्षमा यो प्रतिशत ४५ दशमलव ४ रहेको थियो । जटिल प्रकृतिका धेरै हुने भएकाले शल्यक्रियाको प्रतिशत अस्पतालमा बढी हुने गरेको उनको भनाइ छ ।
अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र २९ जना नर्सिङ सेवाका तालिम प्राप्त कर्मचारी रहेका छन् । जसका कारण सुत्केरी गराउनेलाई अन्यत्रभन्दा सहज हुने गरेको उनको भनाइ छ । अस्पतालमा नै २० शय्याको बाल सघन उपचार कक्ष र चार शय्याको कङ्गारु मदर केयरसमेत रहेको छ । अस्पतालमा दक्ष नर्स र मिड वाइफले मात्र बच्चा निकाल्न सहयोग गर्ने पाँच शय्याको बर्थिङ युनिटसमेत छ । प्रसूति सेवामा यस अस्पताललाई प्रसूति गृहपछिको व्यवस्थित र विश्वासिलोरूपमा लिने गरिन्छ ।
विगतका वर्षका तुलनामा पछिल्ला वर्षहरूमा सेवा ग्राहीहरूको सङ्ख्या क्रमश घट्दो छ । यसको कारण नवलपरासी, गोरखा, तनहुँ र मकवानपुरजस्ता धेरै बिरामी आउने गरेका जिल्लामा अस्पतालबाट दिइने सेवामा विस्तार गरी प्रसूति सेवा दिन थालिएको सापकोटा बताउँछन् । प्रसूति सेवालाई अस्पतालले उच्च प्राथमिकता दिएर जिल्लामा नै सेवा दिन थालेपछि बाहिरी जिल्लाका बिरामी घटेको उनको भनाइ छ ।
जटिल अवस्थामा भएका भने रिफरल भएर र स्वयं भरतपुर अस्पताल आउने गर्दछन् । अस्पतालमा बाल सघन उपचार कक्षको शय्या धेरै भएकाले जटिल समस्या देखिन सक्ने गर्भवतीलाई भरतपुर अस्पताल पठाउने गरिन्छ । त्यस्ता गर्भवतीको सङ्ख्या भने बढ्दो रहेको उनी बताउँछन् ।
भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यो अस्पतालमा टाढाटाढाबाट बिरामी आउने गरेका छन् । हिजोआज दैनिक तीन हजारभन्दा बढी बिरामीले अस्पतालबाट बहिरङ्ग सेवा लिँदै आएका छन् ।
चितवन । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी भर्ना लिने भएको छ । पहिलो वर्ष चारवटा कार्यक्रममा १० जना विद्यार्थी भर्ना गर्न लागेको हो ।
विश्वविद्यालयका उपकुलपति प्राडा ऋषिराम कट्टेलका अनुसार विश्वविद्यालयले स्नातक तहको कृषि सङ्कायमा तीन, वन विज्ञानमा तीन, पशु चिकित्सामा तीन र मत्स्य विज्ञानमा एक जना विदेशी विद्यार्थी भर्ना गर्न लागेको हो । ‘ती विद्यार्थी भर्नाका लागि कार्यविधि बनाइँदै छ । पशु चिकित्सकाका विदेशी विद्यार्थीसँग १० हजार अमेरिकी डलर शुल्क लिने निर्णय गरिएको छ भने अन्य सङ्कायकासँग चार हजार डलर लिइँदै छ’, उनले भने ।
विश्वविद्यालयले अहिले खोल्न लागेको प्रवेश परीक्षामा भने विदेशी विद्यार्थी सहभागी हुनु नपर्ने जनाएको छ । भर्नाका लागि कस्ता विदेशी विद्यार्थी योग्य हुने भन्ने विषय कार्यविधिमा समावेश हुने उपकुलपति कट्टेलले बताए । यसअघि मुलुकमा अन्य विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिए पनि कृषि विश्वविद्यालयले पहिलोपटक भर्ना लिन लागेको हो ।
विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले कुनै पनि विश्व विद्यालयलाई अन्तर्राष्ट्रियस्तरको स्तरनिर्धारणका लागि तोकिने विभिन्न मापदण्डमध्ये विदेशी विद्यार्थी अध्यापन गराउने पनि एक मापदण्ड भएकाले विदेशी विद्यार्थी भर्ना गर्न लागिएको बताए ।
नेपालमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले छोटो अवधिका अनुसन्धानका कार्यक्रम एवं विदेशी विद्यार्थीका लागि यहाँ कक्षा सञ्चालन गर्दै आए पनि उपाधि प्राप्त गर्ने गरी विद्यार्थी भर्ना गरी अध्ययन, अनुसन्धानको कार्यक्रम सञ्चालन गरेको थिएन । विश्वविद्यालयले स्नातक, स्नातकोत्तर, विद्यावारिधिको पठनपाठन गर्दै आएको छ ।
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अदालतको फैसला प्रभावकारीरूपमा कार्यान्वयन गर्दै आएको छ । विगत तीन आर्थिक वर्षमा फैसला कार्यान्वयनको क्रममा फरार प्रतिवादी पक्राउ पर्नेको सङ्ख्या बढ्दै गएको छ ।
प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि गत आर्थिक वर्षमा ८७७ जना पक्राउ गरी जिल्ला अदातलमा पेस गरेको छ । पक्राउ परेकाबाट फैसला कार्यान्वयनका लागि १२२ वर्ष आठ महिना २० दिन कैद र रु छ करोड ७६ लाख ४७ हजार ६१९ जरिवाना असुल गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा फैसला कार्यान्वयनका लागि ५८३ जना पक्राउ गरिएको थियो । उनीहरूबाट १२७ वर्ष छ महिना तीन दिन कैद र रु दुई करोड ५८ लाख ७९ हजार ४१९ जरिवाना रकम असुल गरिएको थियो । यस्तै, आर्थिक वर्ष २०८०–०८१ मा ४५३ जनालाई पक्राउ गरी अदालतमा बुझाइएकामा १९६ वर्ष नौ महिना नौ दिन कैद र रु दुई करोड १४ लाख ९३ हजार ८५७ जरिवाना असुल गरिएको थियो ।
फैसला कार्यान्वयनका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको उनले बताए । बाहिर बसेर मुद्दा लड्ने तर फैसला आएपछि लुकिछिपी बस्ने गरेका व्यक्तिलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाउने गरिएको उनले जानकारी दिए ।
चितवन । उपचारमा आउने बिरामीले सधैँ रगतको अभाव खेप्नु परेपछि भरतपुर अस्पतालले आफैँले रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमा गत एक वर्ष तीन हजार ८३५ युनिट रगत सङ्कलन भएको छ ।
हरेक साताको सोमबार, बुधबार र शुक्रबार रक्तदान कार्यक्रम सञ्चालन गरिँदै आइएको केन्द्रले जनाएको छ । विसं २०८१ जेठदेखि नियमित रक्तदान कार्यक्रम गर्न थालिएको जनाउँदै रक्तसञ्चार केन्द्रका अधिकारी विष्णुप्रसाद बाँस्तोलाले ती दिनमा बिहान ८ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म रक्तदान गर्न सकिने बताए ।
रक्तदान गर्नेलाई खाजाको व्यवस्था गरिनुका साथै अस्पतालले प्रमाणपत्र पनि दिने गरेको छ । उनका अनुसार खाजाको खर्च भरतपुर महानगरपालिकाले भुक्तानी गर्दछ । बिरामीका आफन्तहरूबाट धेरै रगत सङ्कलन हुने गरेको छ । कतिपय सङ्घ संस्थाले आफ्नो विशेष दिन पारेर रक्तदान कार्यक्रमसमेत आयोजना गर्दै आएका छन् ।
साथै, बाहिर गएर पनि रगत सङ्कलन गर्ने गरिएको केन्द्रका अधिकारी बाँस्तोलाले जानकारी दिए । अस्पतालका बिरामीलाई यहाँ सङ्कलन भएको रगतले नपुग्ने भए पनि केही हदसम्म आकस्मिक अवस्थामा सहयोग पुगेको उनको भनाइ छ । अस्पतालले बाँस्तोलाको नेतृत्वमा प्राविधिक र सहयोगी गरी पाँच जनाको टिमलाई रगत सङ्कलनमा खटाउँदै आएको छ ।
चितवन । इच्छाकामना गाउँपालिका–७, भालुवाङस्थित सुन्दरबस्तीको सङ्गमटोलका ३४ घरपरिवारलाई शुक्रबार जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपुर्जा वितरण गरेका हुन् ।
सो अवसरमा उनले सबै तिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुमबासीले जग्गाधनी पुर्जा पाउने बताए । उनले ५०० दिनभित्र लालपुर्जा वितरण गरी सक्ने बताए । यसका लागि स्थानीय तह, जिल्लास्थित भूमि समस्या समाधान समिति, निवेदक सबैको साथ र सहयोग चाहिने बताए । सुकुमबासीका लागि लालपुर्जा वितरण गरिएको यो दोस्रो जिल्ला भएको उनको भनाइ थियो ।
कार्यक्रममा भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै पालिकासँग समन्वय गरेर प्रक्रिया पुगेकालाई तत्काल लालपुर्जा वितरण गरिने र प्रक्रिया नपुगेकाको प्रक्रिया पूरा गर्न लाग्ने बताए । सबै पालिकामा नाप नक्सा, दर्ता, प्रमाणीकरणलगायतका काम भइरहेको उनले बताए । जिल्लामा ४२ हजार जनाको निवेदन परेको उनको भनाइ थियो ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जग्गाधनी प्रमाणपत्र पाउनेमा चार घर भूमिहीन दलित र ३० घर भूमिहीन सुकुमबासी रहेको बताए । सोही टोलका ३८ घरको लालपुर्जा तयार भएकोमा फोटो टाँस्नुपर्ने जग्गाधनी बाहिर भएकाले उनीहरु आएपछि लालपुर्जा वितरण गरिने बताए । गाउँपालिकामा अझै ८० घर भूमिहीन दलित, ७७१ घर भूमिहीन सुकुमबासी र दुई हजार ९३० अव्यवस्थित बसोबासी रहेका छन् ।
सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीसहित इच्छाकामनाका सातवटै वडाका वडाध्यक्षको उपस्थिति रहेको थियो ।





