२०८३ श्रावण १६ शनिबार
२०८३ श्रावण १६ शनिबार

चितवन । चितवनको भरतपुरमा सर्वपक्षीय सहभागितामा शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्दै सद्भाव र्‍याली निकालिएको छ । पछिल्लो समय सुनसरी, सिरहालगायत विभिन्न जिल्लामा देखिएका जातीय तथा धार्मिक तनावका घटनाप्रति चिन्ता व्यक्त गर्दै समाजमा आपसी विश्वास, सहिष्णुता र सामाजिक एकतालाई थप मजबुत बनाउने उद्देश्यले र्‍याली आयोजना गरिएको हो ।

भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन, जिल्लास्थित राजनीतिक दल तथा विभिन्न धार्मिक संघसंस्थाको संयुक्त आयोजनामा भएको र्‍याली भरतपुरको चौबीसकोठीबाट सुरू भई नगरका मुख्य सडक हुँदै नारायणगढ पुलचोकमा पुगेर सम्पन्न भएको थियो ।

‘शान्ति, सद्भाव र एकताका लागि शान्तिपूर्ण ऐक्यबद्धता’ लेखिएको ब्यानरसहित सहभागीहरूले नगर परिक्रमा गर्दै नेपाल विविधताले सम्पन्न बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र भएकाले यही विविधता राष्ट्रिय एकताको आधार भएको सन्देश दिएका थिए ।

उनीहरूले समाजमा फैलाउन खोजिने विभाजनकारी सोच, घृणा र हिंसाको प्रतिरोध गर्दै संवाद, आपसी सम्मान र सहअस्तित्वको संस्कृतिलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

र्‍यालीमा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्लाका राजनीतिक दलका प्रतिनिधि, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका अगुवा, नागरिक समाज, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

आयोजकहरूले शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै कुनै पनि प्रकारका जातीय, धार्मिक वा सामाजिक द्वन्द्वलाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

भरतपुर महानगर र जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा आयोजित सद्भाव र्‍यालीमा विभिन्न धार्मिक संघसंगठनका प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यापारी, मजदुर र नागरिक समाजका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

रत्ननगर । रत्ननगर नगरपालिकाले कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाअन्तर्गत कार्यरत कर्मचारीहरूको व्यापक हेरफेर गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको नयाँ कर्मचारी विवरणअनुसार अधिकांश वडाका वडा सचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको हो ।

नगरपालिकाले लामो समयदेखि एउटै वडा तथा शाखामा कार्यरत कर्मचारीहरूलाई नयाँ जिम्मेवारीमा खटाएको जनाएको छ । नयाँ जिम्मेवारीअनुसार वडा नं– १ को वडा सचिवमा पदमराज सापकोटा, वडा नं–२ मा प्रदीप खरेल, वडा नं–३ मा टीका रेग्मी, वडा नं–४ मा बासुदेव रिजाल र वडा नं–६ मा पुष्पराज आचार्यलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी वडा नं–७ मा शङ्करबहादुर गिरी, वडा नं–८ मा केशवराज शर्मा, वडा नं–९ मा गंगाकुमारी सुवेदी, वडा नं–१० मा महेश सुवेदी र वडा नं–११ मा सूर्यप्रसाद ढुङ्गानालाई वडा सचिवका रूपमा खटाइएको छ ।

यस्तै, वडा नं–१२ मा सुरेन्द्र चौधरी, वडा नं–१४ मा रूपबहादुर पण्डित क्षेत्री तथा वडा नं–१६ मा प्रमिला शर्माले वडा सचिवको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
वडा सचिवहरू मात्रै होइन, नगरपालिकाले सहायक कम्प्युटर अपरेटर, सब–इन्जिनियर, कार्यालय सहयोगीलगायत अन्य कर्मचारीहरूको समेत विभिन्न वडा कार्यालय, शाखा तथा उपशाखामा सरुवा गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालका अनुसार कर्मचारीहरूको कार्यसम्पादनलाई थप प्रभावकारी, सेवाप्रवाहलाई चुस्त र प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले कर्मचारीहरुको आन्तरिक हेरफेर गरिएको हो ।

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पतालनजिकै घर भएका धर्म कार्कीले सर्पको डसाइबाट श्रीमती गुमाए । तत्कालीन समयमा उनको मात्र होइन, ठूलो संख्यामा सर्पदंशले मानिसको ज्यान जाने गरेको थियो ।

सर्पको संख्या धेरै हुने र समयमा अस्पताल पुग्न नसक्दा अकालमा धेरैको निधन हुने गरेको थियो । पछिल्ला वर्षहरुमा सामाजिक गतिविधिमा सक्रिय कार्की समयमा अस्पताल पुग्न सके सर्पदंशबाट ज्यान जोगिने चेतना भेटेकालाई जगाउने गर्छन् । उनी भन्छन्, ‘यो बेला सर्पको जोखिम बढी हुने हुँदा सञ्चारमाध्यमले चेतनामूलक समाचार दिनुपर्छ ।’

चितवनमा भरतपुर अस्पतालमा मात्र सर्पको डसाइको बिरामीको उपचार गर्ने गरिन्छ । अस्पतालमा लामो समय सर्पदंशका बिरामीको उपचार र अनुसन्धानमा खटिएका डा विजय पौडेल पहिले पहिले विषालु सर्पले टोकेका २५ प्रतिशतसम्मको मृत्यु हुने गरेको बताउँछन् । आव २०५९/०६० तिरको समयमा अस्पतालमा वर्षभरिमा ६०० हाराहारी सर्पदंशका बिरामी आउने गरेकोमा २५० हाराहारी विषालु सर्पले डसेका हुने गर्दथ्यो । अस्पतालमा आव २०६४/०६५ मा सघन उपचार कक्ष बनाएपछिका वर्षहरुमा सात प्रतिशत हाराहारीको निधन हुन थाल्यो । यो प्रतिशत क्रमशः घट्दै आएर २०७५ /०७६ मा पाँच प्रतिशतमा झरेको उनी बताउँछन् ।

चितवनमा आउने बिरामीलाई धेरैजसो कोब्रा, करेट, रसेनभाइपर र पिटभाइपरले डसेका हुन्छन् । नवलपरासी क्षेत्रमा भाइपरको जोखिम बढी हुने गरेको छ । केही समयअघि मात्रै भरतपुर अस्पतालबाट अवकाश लिएका पौडेलका अनुसार मानिसलाई डस्ने सर्पमध्ये ८० प्रतिशत विषालु हुँदैनन् । चितवनको पश्चिम र माडी क्षेत्रमा पाइने सर्प विषालु हुने उनले जानकारी दिए । प्राध्यापक पौडेल अवकाश भएपछि सर्पदंशका बिरामी हेर्दै आएका डा. प्रमोद पौडेल सर्पले डसेर अस्पताल आएका बिरामीको मृत्युदर शून्य आसपासमा आएको बताउँछन् । कुनै वर्ष एकदुई जनाको मृत्यु हुने र कुनै वर्ष शून्य रहने गरेको छ ।

गत आवमा सर्पको डसाइले अस्पताल आएका कसैको पनि ज्यान गएको छैन । अघिल्लो आवमा अस्पताल आउँदा आउँदै बाटोमा एक जनाको मृत्यु भएको तथ्याङ्क छ । पहिले–पहिले एक जना बिरामीलाई २०० भाइलसम्म एन्टिस्नेक भेनम दिने गरेको भए पनि पछिल्लो समय विष देखिएकालाई १० भाइलबाट सुरू गरेर बढीमा ३० भाइलसम्म दिने गरिएको उनले जानकारी दिए ।

भरतपुर अस्पतालले गत एक वर्षमा ४९१ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । अस्पतलाको आकस्मिक कक्षमा उपचार गराउन आउनेमध्ये ती संख्यामा सर्पदंशका बिरामी रहेका थिए ।

आकस्मिक कक्षका प्रमुख अलाउद्दिन मियाका अनुसार गत वर्ष आएका बिरामीमध्ये १४ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेको थियो । सो वर्ष सबैभन्दा धेरै साउन महिनामा सर्पदंशका बिरामी उपचारका लागि आएका थिए । गत वर्ष साउन महिनामा मात्र १३१ जना सर्पदंशका बिरामीले उपचार लिएका थिए । यसमध्ये तीन जनालाई सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

यस्तै, भदौमा ९८ जनाको उपचार गरिएकोमा सात जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । असोजमा आएका ७७ जना सर्पदंशका बिरामी मध्ये तीन जनालाई सघन उपचार कक्षमा राखिएको थियो । जेठमा ३६ जनाको उपचार गरिएकोमा एक जनाको सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

कात्तिकमा ५० जना, मङ्सिरमा आठ जना, पुसमा चार जना, माघमा तीन जना, फागुनमा १० जना, चैतमा १० जना, वैशाखमा ३१ जना, र असारमा ३३ जना सर्पदंशका बिरामीको उपचार भरतपुर अस्पतालमा गरिएको थियो । उनका अनुसार चितवनसहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले अस्पतालमा सेवा लिएका हुन् ।
चितवनसहित नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर अस्पताल आउने गरेका छन् । उनका अनुसार सर्पदंशका बिरामीमध्ये एन्टिस्नेक भेनम औषधिको प्रयोग गर्नुपरेकालाई सघन उपचार कक्षमा राखी उपचार गरिन्छ ।

सर्पदंशका बिरामीहरु बढी संख्यामा वर्षातको समयमा आउने गरेको छन् । खेती पाती लगाउने समयमा सर्पदंशको समस्या बढी हुने गर्दछ । विषालु सर्पले टोक्दा बिरामीलाई पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको परेला झर्ने, हातखुट्टा चलाउन नसक्ने, वान्ता हुने, बेहोस हुनेजस्ता लक्ष्यण देखिने उनले बताए । विषादी नभएको सर्पले टोक्दा घाउ हुने र सुनिने मात्रै हुन्छ । रुखहरुमा पाइने हरियो सर्पले टोक्दा रक्तश्राप बढी हुने, सुनिनेजस्ता लक्ष्यण देखिने गरेको उनले जानकारी दिए ।

सर्पले टोकेमा दौडिन, हिँड्न र हलचल गर्न नहुने, टोकेको ठाउँमा भन्दा माथि रक्तसञ्चार विस्तारै होस् भनेर बाँध्ने र नजिकैको अस्पतालमा लैजानुपर्ने उनले बताए । यस क्षेत्रमा कोब्रा, करेत र भाइपर जातका विषालु सर्प भेटिने गर्दछ ।

कालिका । चितवनको कालिका नगरपालिकाले स्थानीय तहबाटै भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको छ । भूमि व्यवस्थापन शाखा स्थापना गरी नगरपालिकाले बुधबारदेखि नापनक्सा, जग्गा प्रशासन तथा विभिन्न लिखत पारितसम्बन्धी सेवा औपचारिकरुपमा सुरूवात गरेको हो । यससँगै चितवनका सात स्थानीय तहमध्ये भूमि प्रशासन सेवा सञ्चालन गर्ने कालिका पहिलो पालिका बनेको छ ।

नेपालको संविधानले भूमि प्रशासनसम्बन्धी अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरे पनि आवश्यक पूर्वाधार र जनशक्ति अभावका कारण हालसम्म यी सेवा सङ्घीय सरकारअन्तर्गतका भूमिसुधार, मालपोत तथा नापी कार्यालयमार्फत प्रवाह हुँदै आएका थिए । आवश्यक तयारी पूरा गरेपछि कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट सेवा सञ्चालनमा ल्याएको हो ।

नगरप्रमुख विनोद रेग्मीले नगरपालिकाबाट सेवा सुरू भएसँगै कालिकाका ११ वटै वडाका नागरिकले अधिकांश भूमि प्रशासनसम्बन्धी सेवा स्थानीयस्तरमै प्राप्त गर्न सक्ने बताए । यसअघि सामान्य कामका लागिसमेत भरतपुरस्थित मालपोत, भूमिसुधार तथा नापी कार्यालय पुग्नुपर्ने बाध्यता रहेकोमा अबदेखि सो सुविधा आफ्नो पालिकामा सुरू गरिएको उनले बताए ।

भूमि प्रशासन अधिकृत रामप्रसाद अधिकारीका अनुसार सेवा सुरूवात भएको पहिलो दिनमै ६ वटा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । पहिलो सेवाग्राहीका रुपमा गोरखा भुङ्लीचोककी चन्द्रमाया आलेले सेवा लिएकी थिइन् । पहिलो दिनमै दुई लाख रूपैयाँ बढी राजस्व सङ्कलन भएको अधिकृत अधिकारीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंका अनुसार हालका लागि जग्गाको स्रेस्ता कायम गर्ने सेवा भने भरतपुरस्थित सम्बन्धित कार्यालयबाटै उपलब्ध हुनेछ । अन्य अधिकांश भूमि प्रशासनसम्बन्धी सेवा नगरपालिकाबाटै प्रदान गरिने उनले जानकारी दिए ।

नगरपालिकाले उपलब्ध गराउने सेवाहरुमा सगोलनामाको लिखत पारित, मृत्युपछिको नामसारी, राजीनामा लिखत पारित, छोडपत्र लिखत पारित, हालैदेखिको बकसपत्र लिखत पारित तथा शेषपछिको बकसपत्र लिखत पारितलगायतका सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

नगर उपप्रमुख विमला तामाङले सेवा विकेन्द्रीकरणसँगै अब सामान्य भूमि प्रशासनका कामका लागि भरतपुर धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरिन् । यसबाट सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै स्थानीयस्तरमै छिटो, सहज र प्रभावकारी सेवा प्रवाह हुने उनको भनाइ छ ।

खैरहनी । खैरहनी नगरपालिका वडा नं–१० र ११ का अतिविपन्न मुसहर तथा बोटे समुदायका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान गरिएको छ । भरोसा फाउन्डेसन ललितपुर नेपालको सहयोग एवम् कठार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहकार्यमा मुसहरबस्तीका ४५ तथा बोटेबस्तीका ४१ घरमा शुद्ध खानेपानीको व्यवस्था गरिएको हो ।

धारा हस्तान्तरण कार्यक्रममा प्रमुखअतिथि तथा भरोसा फाउन्डेसनका निर्देशक काम पाइतेले अतिविपन्न समुदायसम्म स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले स्वच्छ खानेपानीले नागरिकको स्वास्थ्य सुधारका साथै जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कठार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष जोखा चौधरीका अनुसार धारा जडानका लागि २७१ घरधुरीबाट निवेदन परेको भए पनि पहिलो चरणमा सबैभन्दा अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर ८६ घरधुरीमा धारा जडान गरिएको हो ।

मुसहरबस्तीमा यसअघि ४५ घरधुरीका लागि तीनवटा मात्र चापाकल रहेकाले दैनिक एक घन्टासम्म लाइन बसेर पानी भर्नुपर्ने बाध्यता थियो । अहिले घर–घरमै धारा जडान भएपछि स्थानीयवासी खुसी भएका छन् ।

स्थानीय सविना माझी भन्छिन्, ‘पहिले बिहानैदेखि पानीका लागि लाइन बस्नुपथ्र्यो, धेरै दुःख हुन्थ्यो । अहिले आफ्नै घरमा धारा आएपछि निकै सहज भएको छ, हाम्रो परिवार मात्र होइन सिङ्गो बस्ती नै खुसी छ ।’ अर्का स्थानीय रामबहादुर बोटेले पनि खानेपानीको सुविधा पुगेपछि बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष राहत पुगेको बताए ।

भरोसा फाउन्डेसनका सल्लाहकार कृष्णप्रसाद अर्यालले धारा जडानसँगै पानीको दुरूपयोग रोक्न समुदायसँग सहमति गरिएको जानकारी दिए । उनका अनुसार अत्यधिक पानी खपत गर्ने तथा सामाजिक अनुशासनविपरीत गतिविधिमा संलग्न हुनेलाई समुदायको निर्णयअनुसार जरिवाना गर्ने व्यवस्था गरिएको छ । यसबाट उनले खानेपानीको दिगो व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भरोसा फाउन्डेसनका अर्का सल्लाहकार मधुसूदन उप्रेतीले खानेपानी केवल पूर्वाधार मात्र नभई स्वास्थ्य, सरसफाइ र सामाजिक रुपान्तरणसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गरे । उनले भने, ‘घर–घरमा स्वच्छ खानेपानी पुगेपछि सरसफाइको अवस्था सुधारिन्छ, रोगको जोखिम घट्छ र समुदायको जीवनशैलीमा सकारात्मक परिवर्तन आउँछ । यस्तो अभियानमा सबै पक्षको सहकार्य आवश्यक छ ।’

कार्यक्रममा भरोसा फाउन्डेसनका अध्यक्ष दीपक बोहोरा, सल्लाहकार चिन पाइते, नरहरि सापकोटालगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै विपन्न समुदायको जीवनस्तर उकास्ने अभियानलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिए ।

भरोसा फाउन्डेसनको तीन लाख रूपैयाँको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त योजनाले विपन्न समुदायमा शुद्ध खानेपानीको पहुँच विस्तार गर्नुका साथै सरसफाइ र स्वास्थ्य सचेतना अभिवृद्धिमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

चितवन । नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ ।

विशेषगरी, सुनसरी जिल्लासहित तराईका केही क्षेत्रमा भएको घटनामा तीन जनाको ज्यान गएकोप्रति महासंघले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

महासंघले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै विविधताबीचको एकता नै राष्ट्रिय बल भएको स्पष्ट पारेको छ । तर, सुनसरीको देवानगञ्जबाट सुरु भएको घटनापछि विभिन्न स्थानमा उत्पन्न तनावपूर्ण अवस्थाले सामाजिक सद्भावमा असर पर्न सक्ने भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ ।

यस्तो अवस्थामा जनधनको सुरक्षा र शान्तिपूर्ण वातावरण निर्माण गर्नु राज्य र सबै नागरिकको साझा दायित्व रहेको नेपाल पत्रकार महासंघका कार्यवहाक सभापति दीपक आचार्यद्वारा प्रकाशित वक्तव्यमामा उल्लेख गरिएको छ ।

महासंघले सबै पक्षलाई अफवाह, घृणा फैलाउने अभिव्यक्ति तथा सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक सामग्रीबाट टाढा रहन आग्रह गर्दै कुनै पनि असहमति वा विवादको समाधान हिंसाबाट नभई संवाद, कानुनी प्रक्रिया र लोकतान्त्रिक विधिबाट गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तै, संवेदनशील अवस्थामा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका अझ जिम्मेवार, तथ्यपरक र संवेदनशील हुनुपर्ने उल्लेख गर्दै महासंघले पत्रकार तथा सञ्चारकर्मीलाई सुरक्षित वातावरणमा पेशागत दायित्व निर्वाह गर्न आग्रह गरेको छ। साथै प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चारमाध्यमलाई निर्वाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सबै पक्षसँग आग्रह गरिएको छ ।

महासंघले घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा नागरिकको जीवन, सम्पत्ति र अभिव्यक्ति स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । साथै धार्मिक तथा सामुदायिक सद्भाव कायम राख्न संवाद, समन्वय र विश्वास निर्माणका पहलहरू तत्काल अघि बढाउन पनि आग्रह गरिएको छ ।

संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्थापन गर्दा मानवअधिकारको सम्मान, कानुनी शासनको पालना तथा न्यूनतम बल प्रयोगको सिद्धान्त अवलम्बन गर्नुपर्नेमा समेत महासंघले जोड दिएको छ ।

चितवन । हालै देशका विभिन्न जिल्लाहरू, विशेष गरी तराई–मधेस क्षेत्रमा देखिएको तनावपूर्ण अवस्था, हिंसात्मक घटना तथा साम्प्रदायिक सद्भावमा असर पुग्ने गतिविधिप्रति चितवन उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस क्रममा ज्यान गुमाएका सम्पूर्णप्रति संघ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

संघले विज्ञप्तिमा भनेको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न राष्ट्र हो । यही विविधताबीचको आपसी सम्मान, सहिष्णुता, सद्भाव र एकता नै हाम्रो सामाजिक तथा आर्थिक समृद्धिको आधार हो । कुनै पनि प्रकारका हिंसा, द्वेष, उत्तेजना, अफवाह तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिले मुलुकको शान्ति, सामाजिक एकता, उद्योग, व्यापार, पर्यटन, लगानी र समग्र आर्थिक गतिविधिमा प्रतिकूल प्रभाव पार्ने भएकाले यस्ता गतिविधि तत्काल रोकिन आवश्यक रहेको संघको ठहर छ ।’

चितवन उद्योग वाणिज्य संघले सबै प्रकारका समस्याको समाधान संविधान, कानुन र लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप शान्तिपूर्ण संवाद, सहकार्य र आपसी समझदारीबाट मात्र सम्भव हुने विश्वास व्यक्त गरेको छ । साथै, नेपाल सरकार र सम्बन्धित निकायलाई नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भाव कायम राख्न तथा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावकारी कदम चाल्न आग्रहसमेत गरेको छ ।

संघले सम्पूर्ण उद्योगी, व्यवसायी, नागरिक समाज, राजनीतिक दल, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा आम नागरिकलाई संयमित रहन, कुनै पनि किसिमका अफवाह वा भ्रामक सूचनाको पछि नलाग्न तथा सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्ति कायम राख्न सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अपिल गरेको छ ।

कार्यवाहक अध्यक्ष राजेन्द्र ओलीले विज्ञप्ति जारी गर्दै धैर्य र संयमित भई व्यापार–व्यवसाय सहजरूपमा सञ्चालन गर्न र आपसी समझदारी कायम गर्न समस्त उद्योगी–व्यवसायीलाई समेत संघ हार्दिक अनुरोध गरेको छ ।

भरतपुर । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका अभाव भएपछि क्यान्सरका कोषिका मार्ने महत्त्वपूर्ण औषधि किमो लगाउन बिरामीलाई पाँचदिनसम्म पालो पर्खनुपर्ने अवस्था आएको छ ।

अस्पतालमा दैनिक करिव ३०० बिरामी किमोका लागि सेवा लिन आउने भए पनि करिव २०० लाई मात्र केमो दिन सकिएको छ । एक सय ५० शय्या किमोका लागि छुट्याइएको छ । केही बिरामीलाई किमो दिएपछि छोटो समयमा घर पठाउन सकिने भएकाले त्यही शय्यामा अर्काे बिरामीलाई किमोदिने गरिएको छ ।

अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहका अनुसार तोकिएका समयमा नै किमो दिँदा प्रभावकारी हुन्छ । उनले भने, ‘बिरामीको उच्च चापका कारण समयमा किमो दिन सकिएको छैन, यसले उपचारमा प्रभावकारिता घट्छ ।’

बिरामीले पाँच दिनसम्म पालो कुर्नुपरेको उनी बताउँछन् । उनले भने, ‘प्रादेशिक अस्पतालहरूमा किमो दिने व्यवस्था गर्नुपर्छ, नभए यहाँको अस्पतालमा शय्या र जनशक्ति थप्नुपर्छ ।’ बिरामीको चाप बढ्दै जाने र अस्पतालले शय्या र जनशक्ति नथप्दा चाहेर पनि आएका सबै बिरामीलाई किमो दिन नसकिएको उनले बताए । अस्पतालले केमो चढाएको एक पटकको रु ५०० शुल्क लिने गरेको छ । केमो खरिद अस्पतालको फार्मेसीमा छुट्टै गर्नुपर्छ । बिरामीको रोगको प्रकृति र औषधि उत्पादक कम्पनीअनुसार केमोको मूल्य रु १०० देखि लाखौँसम्म पर्ने उनको भनाइ छ ।

अस्पतालमा बिरामीलाई सामान्यतया दुई हप्ताको फरकमा १२ पटक र तीन हप्ताको फरकमा छपटकसम्म किमो दिने गरिन्छ । कतिपय बिरामीको तीन वर्षसम्म पनि किमो लगाउनुपर्ने हुन्छ । केमो लगाउनका लागि नेपालभर र भारतीय सीमा क्षेत्रबाट पनि यहाँ बिरामी आउने गर्दछन् । लामो समय पालो कुर्नु परेपछि यहाँ आएका बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेका छन् ।

चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी क्यान्सर अस्पतालकै शुल्कमा किमोलगायतका क्यान्सर उपचार सेवा दिने गरेको छ । बाहिरी जिल्ला जानुभन्दा भरतपुर आएका बिरामी यस इन्स्टिच्युटमा जाने गरेका छन् । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अन्य अस्पतालमा लामो पालो कुर्नुपरेका बिरामीसमेत यस इन्स्टिच्युटमा आउने गरेको बताए । उनले भने, ‘हामीले सरकारी अस्पतालको शुल्कमा सेवा प्रवाह गर्ने कुरा धेरैलाई थाहा नभएकाले थाहा पाउनेहरू आउनुभएको छ ।’

इन्स्टिच्युटले पछिल्लो समय बिरामीको सङ्ख्या बढ्दै गएको जनाएको छ । जिल्लाका केही निजी अस्पतालहरूले मापदण्ड पूरा नगरी किमो दिने गरेको गुनासो छ । केही बिरामी यहाँ सरकारीमा पालो नपाएपछि भारत, काठमाडौँलगायतका ठाउँमा समेत जाने गरेका बताइएको छ ।

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि सडक विभागबाट विषयविज्ञ बोलाइएको छ । गएको मंगलबार पटकपटक गरी पहिरो झरेपछि करिब आठ घण्टा सडक आवागमनमा अवरोध पुगेको थियो ।

सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नयाँ ठाउँमा पहिरो झरेपछि सडक विभागका भू–प्राविधिकलाई स्थलगत अध्ययनका लागि बोलाइएको छ । विज्ञ टोलीले अध्ययन गरिसकेकोपछि के गर्ने भन्ने टुङ्गो लाग्ने उनको भनाइ छ । ‘केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएको सो ठाउँमा पहिलोपटक पहिरो झरेको हो । यो स्थान मुग्लिन बजारबाट करिब ७०० मिटर नारायणगढतर्फ पर्दछ’, उनले भने ।

यस ठाउँमा ४० मिटर अग्लो पहाड रहेको जनाउँदै इन्जिनियर घिमिरेले त्यसको ३० मिटरमाथिसम्म चट्टान र त्योभन्दा माथि माटो रहेको जानकारी दिए । करिब २० मिटरबाट खसेको पहिरो ३० मिटरमाथिसम्म पुगेको थियो । पहिरोले करिब २० मिटर लामो भाग पुरेको थियो ।

घिमिरेका अनुसार सो ठाउँमा पुनःपहिरो खस्ने जोखिम छ । उनले त्यसको भूबनोटलगायत वरिपरिको संरचनाको अध्ययन गरी रोकथामको काम अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । गत वर्ष नगन्य रूपमा पहिरो झरेकामा यस वर्ष १० दिनअघिदेखि सामान्य हुँदै मंगलबार एकाएक ठूलो पहिरो झरेको थियो ।

‘यस ठाउँलाई पहिरोको जोखिम रहेका ठाउँमा सडक कार्यालयले राखेको थिएन । वर्षात भएसँगै पहिरो खस्न सुरू गरेपछि दुःख दिन सक्ने भएकाले रोकथामका लागि तत्काल विषय विज्ञलाई बोलाइएको छ’, इन्जिनियर घिमिरेले भने । यसै सडकका अन्य सात ठाउँमा उच्च जोखिम रहेको जनाउँदै करिब ४३ ठाउँमा जोखिम रहेको उनले बताए ।

पहिरो खस्नासाथ पन्छाउनका लागि कार्यालयले मुग्लिन र सेती दोभानमा उपकरण राखेको छ । तुइन खोलाको पहिरो नियन्त्रणका लागि बोलपत्र स्वीकारेको निर्माण कम्पनीले उपकरण राखेकाले अन्य ठाउँमा खसेका पहिरो तत्काल पन्छाउनुपर्दा सहयोग लिन सकिने इन्जिनियर घिमिरेले बताए ।

घिमिरेका अनुसार मंगलबार खहरे खोलाको पहिरो पन्छाउन तुईन खोलाबाट समेत उपकरण लगिएको थियो । यो सडक हुँदै काठमाडौँ, पोखरालगायत क्षेत्रमा आवतजावत गरिन्छ । थोरै समय सडक बन्द हुँदासमेत धेरै यात्रुले दुःख पाउने भएकाले पहिरो रोकथामको कामलाई कार्यालयले प्राथमिकता दिँदै आएको जनाएको छ ।

भरतपुर । नेपाली महिलाहरुको महान् पर्व तीजको आगमनसँगै नेपाली साङ्गीतिक बजारमा नयाँ तीज गीत सार्वजनिक हुनेक्रम जारी छ । यसैबीच, मौलिक तीज संस्कृतिलाई आधुनिक प्रस्तुतिसँग जोड्ने प्रयासस्वरुप वरिष्ठ गायिका देविका वन्दनाले ‘रातो सारी झल्कियो बरिलै’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी छन् ।

गीतमा गायिकाहरु देविका वन्दनाका साथमा लोकदोहोरी गायिका शान्तिश्री परियार र एलिना चौहानको स्वर रहेको छ । तीजको मौलिक लय, नेपाली महिलाको उत्साह र पर्वको सांस्कृतिक पक्षलाई समेट्ने गरी गीतकार उषा शेरचनले गीतको शब्दरचना गरेकी हुन् भने नरहरि प्रेमी उपाध्यायले सङ्गीत भरेका छन् । राकेश सोनीको सङ्गीत संयोजन रहेको उक्त गीत अकुस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रले गरेका हुन् ।

प्रस्तुत गीतको भिडियोमा वरिष्ठ कलाकार एवम् चलचित्र कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसाल, प्रथम नेपाली रङ्गीन चलचित्र कुमारीकी नायिका चैत्य देवी, लोकप्रिय ट्याटु आर्टिस्ट तथा कलाकार सुनिता कुँवरको अभिनय रहेको छ भने गायिका मञ्जु पौडेल, अनिता यादवलगायतका कलाकारहरुको अभिनय तथा नृत्यले भिडियोलाई थप आकर्षक बनाएको छ । भिडियोले तीज पर्वमा नेपाली महिलाबीच देखिने आत्मीयता, सांस्कृतिक पहिचान र उत्सवको रौनकलाई जीवन्तरुपमा प्रस्तुत गरेको छ ।

उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी सृष्टि घिमिरेले गरेकी हुन् भने भिडियोको छायाङ्कन देवराज आचार्यले गरेका हुन् । सम्पादन, कलर ग्रेडिङ तथा ग्राफिक्स मनोज कार्कीले गरेका छन् भने मेकअप टेकराज पाण्डेको रहेको छ । तीज पर्वलाई लक्षित गरी तयार पारिएको यस गीतमा शब्द, संगीत, गायन र दृश्य प्रस्तुतिबीच सन्तुलन कायम गर्ने प्रयास देखिन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।