
भरतपुर । चितवन जिल्लामा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत १२ करोड २२ लाख ८४ हजार ३३८ रुपैयाँ ठगी भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये दुई करोड २९ लाख ९८ हजार ६४३ रुपैयाँ फिर्तासमेत गरिएको छ । पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिङ्क पठाएर ठगी गर्ने गरिएको उनले बताए । यस्तै, उपहार परेको बहानामा ठगी गरिएको उनले जानकारी दिए । उनका अनुसार अहिले दैनिक ठगीका निवेदन आउने गरेको छ । सामान्यरुपमा २०० रुपैयाँदेखि लाखौँसम्मको ठगीको उजुरी आएको उनले जानकारी दिए ।
अनलाइन ठगीका निवेदन आउनेक्रम दैनिकजसो भएकाले यसबाट सजग रहन उनले आग्रह गरे । अपरिचित व्यक्तिले पठाएको रिक्वेस्ट एसेस्ट गर्ने, अनावश्यक लिङ्क नखोल्नेजस्ता कार्यहरु गर्न उनले सुझाव दिए । उनले भने, ‘अनलाइनको माध्यमबाट ठगिएको महसुस भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।’
यस्तै, गत आवमा साइबर क्राइमसम्बन्धी ३९० निवेदन दर्ता भएका छन् । यसमध्ये ३७५ निवेदनको फर्छर्योछ भएका छन् । १५ निवेदन फर्छ्र्योट हुन बाँकी छन् । यहाँ परेका निवेदनलाई नेपाल प्रहरी प्रदेश कार्यालयसँगको समन्वय गरेर काम गरिएको उनले जानकारी दिए । उनका अनुसार अघिल्लो आव २०८१–०८२ मा यो सङ्ख्या ४११ थियो । तीमध्ये ३९८ निवेदन फर्छ्र्योट गरिएको छ । यसमध्ये १३ मुद्दा फर्छ्र्योट हुन बाँकी थियो ।
भरतपुर । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत केवल तथा ओभरहेड प्रसारण ‘लाइन चार्ज’ सुरुआत गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले परीक्षण तथा सञ्चालनका लागि पहिलो पटकआज बिहानदेखि चार्ज विद्युत् प्रवाह गरेको हो ।
आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनदेखि सुरु भई आँपटारी चोक, पोखरा बसपार्क, लिला चोक, पुलचोक, न्युरोड हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा निर्माण सम्पन्न भएका ११ केभी भूमिगत तथा ओभरहेड प्रसारण चार्ज गरिने जानकारी दिए।
विद्युत् लाइन पहिलोपटक चार्ज गर्दा सुरक्षा जोखिम हुनसक्ने भएकाले उपभोक्तालाई विशेष सावधानी अपनाउन उनले आग्रह गरे । उक्त क्षेत्रमा रहेका विद्युतीय पोल, ट्रान्सफर्मर, फिडर पिल्लर बक्स तथा अन्य विद्युतीय उपकरण वा संरचनालाई नछुन र टाढै रहन उनले आग्रह गरे।
त्यसैगरी, भूमिगत केवल बिछ्याइएको मार्गमा पैदल यात्रा वा सवारीसाधन आवतजावत गर्दा उच्च सतर्कता अपनाउन, बालबालिकालाई विद्युतीय संरचनाको नजिक जान वा खेल्न नदिन अभिभावकहाई आयोजनाले अनुरोध गरेको छ ।
प्रमुख सुवेदीले भने, “चार्ज लर्न लागिएको क्षेत्रमा अनुमतिबिना कुनै पनि प्रकारको उत्खनन गर्ने, खाल्डो खन्ने वा तार काट्नेजस्ता कार्यहरू गर्नुहुँदैन ।” भूमिगत तार बिच्छ्याउने काम सकिएसँगै विद्युत् प्रवाहका लागि ‘चार्ज’ गर्न थालिएको हो ।





