२०८३ श्रावण २४ आईतवार
२०८३ श्रावण २४ आईतवार

कालिका । चितवनको कालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ग्रीन सोसाइटी नेपाल रत्ननगर–७, सौराहाको आयोजना तथा शान्ति सेवा गृह तिलगंगा काठमाडौँको प्राविधिक सहयोगमा श्री राष्ट्रिय माध्यमिक विद्यालय मझवाङ सिद्धिमा विशेषज्ञ चिकित्सकद्वारा मिनि अस्पताल सञ्चालन गरी निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

उक्त शिविरमा सुगर तथा प्रेसर, टिटानस भ्याक्सिन, जनरल हेल्थ, दन्त सेवा, फिजियो थेरापी, बालरोग विशेषयज्ञ, स्त्रीरोग, रक्त परिक्षण, सामान्य जाँच, आँखा जाँच गरिएको थियो । शिविरमा ५२८ जनाको स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्करूपमा औषधि, ब्रस, मञ्जन, लिटो, सेनेटरी प्याड वितरण गरिएको ग्रीन सोसाइटी नेपालका महासचिव सिरलाल परियारले जानकारी दिए ।

कालिकाका १० र ११ वडावासीको स्वास्थ्य परीक्षण र विभिन्न रोग लागेर अन्यत्र गएर चेकजाँच गर्न नपाएकाहरुको उपचार गर्ने उद्देश्यले बृहत निःशुल्क स्वास्थ्य शिशिर राखिएको हो । घर छेउमै विभिन्न रोगको परीक्षण गर्न पाउँदा बिरामीहरुलाई सहज भएको उनको भनाइ छ । शिविरमा काठमाडौँबाट आएका ३० जना चिकित्सकको टोलीले परीक्षण गरेको थियो ।

कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले दुर्गम गाउँबस्तीका स्थानीयले रोग पालेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी विशेषरुपमा यो शिविरको आयोजना गरिदिने ग्रीन सोसाइटी नेपाल र शान्ति सेवा गृह तिलगंगा काठमाडौँलगायत सम्पूर्ण टिमलाई धन्यवाद दिए ।

दुर्गम गाउँबस्तीमा रोग पाल्दै बस्न बाध्य भएका स्थानीयहरुको सहजताका लागि शान्ति सेवा गृह तिलगंगा काठमाडौँले मझवाङ विद्यालयमा विशेषज्ञ चिकित्सकद्वारा सो शिविर सञ्चालन गरेको शान्ति सेवा गृह तिलगंगा काठमाडौँका व्यवस्थापक बिजेन्द्र कुँवरले बताए ।

स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी भएको कुवरको भनाइ छ । ‘यहाँ स्वास्थ्य जाँच गराउन आउनुभएकामध्ये धेरै जसो महिला, बालबालिका ज्येष्ठ नागरिक हुनुहुन्छ’, उनले भने, ‘यो पालिका कालिकाको दुर्गम पालिकाअन्तर्गत पर्ने यहाँका विपन्न नागरिकको अस्पतालमा प्रत्यक्ष पहुँच नहुने हुँदा हामीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ ।’

कार्यक्रममा सामाजिक अभियन्ता केशव आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्राधानाध्यापकलगायतको सहभागिता रहेको थियो ।

भरतपुर । चितवनको भरतपुरस्थित नारायणी नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा टेकबहादुर थापा सातौँपटक सर्वसम्मत चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिको हालै सम्पन्न बैठकले ८१ वर्षीय थापालाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

लामो समयदेखि सोही विद्यालयको नेतृत्व सम्हाल्दै आएका थापा सातौँपटक अध्यक्ष बनेसँगै नेपालकै शिक्षा क्षेत्रमा सम्भवतः सबैभन्दा धेरैपटक विद्यालय व्यवस्थापन समिति अध्यक्ष बन्ने कीर्तिमानसमेत कायम गरेका छन् । ८१ वर्षको पाको उमेरमा पनि उनी बिहान ६ः३० बजेदेखि बेलुका ६ः३० बजेसम्म विद्यालयकै व्यवस्थापन र सुधारका काममा निरन्तर खट्दै आएका छन् ।

थापाकै सबल र गतिशील नेतृत्वका कारण नारायणी नमुना माविले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । हालै सार्वजनिक एसइईको नतिजाअनुसार यस विद्यालयका ३७ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । विद्यालयलाई देशकै उत्कृष्ट नतिजा ल्याउने सार्वजनिक विद्यालयको रूपमा स्थापित गराउन उनको ठूलो योगदान रहेको छ । सरकारले ल्याएको शिक्षासम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै पुरानै शिक्षा ऐनबमोजिम प्रक्रिया पु¥याएर थापालाई पुनः अध्यक्ष चयन गरिएको भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिए ।

व्यवस्थापन समितिको ज्येष्ठ सदस्य ईश्वरप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले नौ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा अम्बिका सापकोटा पौडेललगायत चयन भएका छन् । विद्यालयका प्राचार्य रामशरण दुवाडीलगायतका जनप्रतिनिधि तथा शिक्षाप्रेमीहरूको उपस्थितिमा नयाँ समिति गठन गरिएको हो ।

चितवन । आरम्भ कलेज, भरतपुरले विद्यार्थीहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘आरम्भ स्टुडेन्ट्स एक्सलेन्स समिट’ कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार मौलाकालिकास्थित इला रिसोर्टमा सम्पन्न कार्यक्रममा वित्तीय साक्षरता, व्यवस्थापन तथा योजना, स्टार्टअप र उद्यमशीलता मनोविज्ञान, रणनीतिक व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि तथा सार्वजनिक कार्यक्रममा बोल्ने कलालगायतका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो ।

कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार कार्यक्रममा विद्यार्थीहरूले विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै नेतृत्व, नवप्रवर्तन र व्यावसायिक विकाससम्बन्धी ज्ञान तथा अनुभव हासिल गरेका छन् ।

समिटमा नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) चितवन च्याप्टरकी उपाध्यक्ष सन्ध्या कँडेल, एफसिए निसान पौडेल र मनोज पन्तले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमले विद्यार्थीमा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, नवप्रवर्तनशील सोच जगाउने विश्वास आरम्भ कलेजले लिएको प्रिन्सिपल शिवाकोटीले बताए । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई सहभागिता प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।