२०८३ आश्विन ९ शुक्रबार
२०८३ आश्विन ९ शुक्रबार

चितवन । चितवन प्रहरीले अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक चिकित्सकलाई पक्राउ गरेको छ । भरतपुरस्थित एक अस्पतालमा कार्यरत २९ वर्षीय डा. पप्पु कुमार यादवलाई प्रहरीले जेठ १५ गते चित्रसेन टोलस्थित डेराबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार यादवले बाइनान्स र बाई बिटजस्ता प्रतिबन्धित एप प्रयोग गरी अभौतिक मुद्रा कारोबार गर्दै आएको प्रमाण फेला परेको छ । उनको मोबाइल, ल्यापटप, २० थान मोबाइल सेट, सिम कार्ड, मेमोरी कार्डसहित बरामद गरिएको छ । साथै, उनको साथबाट ३० हजार अमेरिकी डलर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनुसन्धानमा यादवले करिब दुई वर्षदेखि क्रिप्टो कारोबार गर्दै आएको स्वीकार गरेका छन् । उनले डाक्टरी पेसाबाट हुने मासिक आम्दानीसहित परिवार र साथीभाइबाट संकलित रकम लगानी गरेको बयान दिएका छन् । सो कारोबारबाट दुई करोडभन्दा बढी रकम संलग्न भएको प्रहरीको दाबी छ ।

चितवन जिल्ला अदालतले गत साउन १९ गते यादवलाई ५ लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । हाल उनी तारेखमा छुटेका छन् ।

प्रहरीले यादवविरुद्ध मुद्रासम्बन्धी कसुर (क्रिप्टोकरेन्सी कारोबार) र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो । अनुसन्धान प्रतिवेदनअनुसार, उनको नाममा रहेको स्थायी लेखा नम्बरमार्फत कुनै कर तिरेको प्रमाण भेटिएको छैन । साथै, बैंक खाता तथा डिजिटल वालेट (आइएमई पे, खल्ती, ई–सेवा) मा अस्वाभाविकरूपमा स्रोत नखुलेको रकम कारोबार भएको देखिएको छ ।

नेपालमा क्रिप्टोकरेन्सी कारोबार कानुनी मान्यता प्राप्त छैन । पछिल्लो समय प्रहरीले यस किसिमका अवैध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा दायर गर्ने कार्यलाई तीव्रता दिएको छ ।

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढेको हो ।

करिब रु १७ करोड ८६ लाखको लागतमा २५ मेघावाट विद्युत् प्रवाह हुने गरी शारदा एण्ड सुम्नीमा भिसान जेभीले काम अघि बढाएको हो । अहिले भएको भूमिगत विद्युतीकरणमा पटकपटक समस्या आएपछि पुनः नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ ।

पहिलाको भूमिगत विद्युतीकरणमा राखिएको तार आठ मेघावाटको हुँदा समयसमयमा समस्या आउने गरेको कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले बताए । उनका अनुसार पुरानो ठाउँबाट नभई नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको हो ।

समयसमयमा विद्युत् प्रवाहमा समस्या आउने र समस्या पहिचान गर्न लामो समय लाग्ने हुँदा नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको उनले जानकारी दिए । ठेक्का सम्झौतासँगै ठेकेदार कम्पनीले भूमिगत विद्युतीकरणका लागि नक्साङ्कनको काम सम्पन्न गरेर २५ मेघावाटको विद्युत् प्रवाह गर्न सक्ने तारको खरिद प्रक्रियामा रहेको कार्यालयका प्रमुख झाले उल्लेख गरे । वर्षात सकिएसँगै कामले तीव्रता पाउने उनले बताए ।

माडीमा नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले विद्युत् प्रवाह गर्दै आएको छ । जहाँ ११ हजार ७०० ग्राहक रहेको वितरण केन्द्रका प्रमुख रुद्रराज विष्टले जानकारी दिए । उनका अनुसार घरायासी एवं सिँचाइको प्रयोजनका लागि ती ग्राहक रहेका छन् ।

जिल्लाका माडी नगरपालिलाई चारैतिर जङ्गलले घेरेको छ । धेरैजसो भागमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछ । माडीवासी सदरमुकाम भरतपुर आउजाउ गर्न निकुञ्जकै बाटो प्रयोग गर्नुपर्दछ । गत वैशाख ७ गते नौ महिनाभित्र काम सम्पन्न गर्ते गरी ठेक्का सम्झौता पछि काम अघि बढेको हो ।

चितवन । चितवन प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी र भरतपुरका छुट्टाछुट्टै घटनामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा खैरहनी नगरपालिका–९ सुतर्नीबाट साउन १५ गते ३० वर्षीय सुरज चौधरी पक्राउ परेका छन् । उनको साथबाट ट्रामाडोल २५० पिस बरामद भएको प्रहरीले जनाएको छ । यस्तै, सोही ठाउँका २८ वर्षीय विशाल चौधरी र २६ वर्षीय सुभाष चौधरीलाई प्रहरीले साउन २२ गते पक्राउ गरेको हो । उनीहरूको साथबाट ट्रामाडोल ३४५ पिस र २५० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको छ ।

यस्तै, भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कबाट पनि साउन २२ गते उदयपुरको मगरखोला घर बताउने ३२ वर्षीय दिनेश परियार पक्राउ परेका छन् । उनको साथबाट डाइजोपाम ३२ पिस, नुफिन ३२ पिस र फेनारगन ३२ पिस गरी ९६ पिस लागूऔषध, ना ६५ प १३३७ नम्बरको स्कुटर र ६५ हजार ७ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

सोही दिन भरतपुर महानगरपालिका–१५ बाट खैरहनी नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–२५ शुक्रनगर बस्ने २२ वर्षीय दिनेश लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनको साथबाट ट्रामाडोल ६० पिस बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत चितवनबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

नारायणगढ । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा एक करोड नौ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले हुलाक टिकट बिक्री, काउन्टर अटोमेसन, पार्सल तथा रोयल्टीलगायतका विभिन्न सेवा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो ।

कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार समीक्षा अवधिमा सङ्कलित कुल राजस्वमध्ये हुलाक टिकट बिक्रीबाट ५८ लाख ७२ हजार रुपैयाँ तथा काउन्टर अटोमेसन, पार्सल र रोयल्टीलगायतका अन्य सेवा शुल्कबाट ५० लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको हो । गत आवमा कार्यालयले ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

विनियोजित कुल छ करोड ३३ लाख ६१ हजार रुपैयाँ वार्षिक बजेटमध्ये पाँच करोड ७७ लाख ३२ हजार रुपैयाँ खर्च भएको कार्यालय प्रमुख बस्यालले जानकारी दिए ।

नेपाल सरकारको निर्णयअनुसार गत वर्षदेखि चितवनमा ‘एक स्थानीय तह, एक हुलाक’को नयाँ सङ्गठनात्मक संरचना कार्यान्वयनमा ल्याइएको छ । हाल जिल्लाका छवटा स्थानीय तह राप्ती, खैरहनी, रत्ननगर, कालिका र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा पालिका हुलाक कार्यालय सञ्चालनमा रहेका छन् । यसबाहेक भरतपुर महानगरपालिकाभित्र चनौली, जगतपुर र नारायणगढमा तीनवटा हुलाक काउन्टर तथा १२ अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा प्रवाह भइरहेको छ ।

जिल्लामा स्वीकृत ५३ दरबन्दीमध्ये गत वर्ष स्थायी २६ र करारमा २३ गरी ४९ कर्मचारी कार्यरत रहेका थिए । चार पद रिक्त रहेको कार्यालयले जनाएको छ । यसबाहेक २२ जना अतिरिक्त हुलाक जनशक्ति कार्यरत छन् ।

सञ्चार क्षेत्रतर्फ कार्यालयले जिल्लाका ३५ वटा सञ्चारमाध्यमलाई ६० लाख २४ हजार रुपैयाँ लोककल्याणकारी विज्ञापनबापत भुक्तानी गरेको छ । यस्तै, १७ एफएम रेडियो नवीकरण, २२ पत्रकारलाई परिचयपत्र वितरण तथा १९ अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण गरिएको कार्यालय प्रमुख बस्यालले जानकारी दिए ।

चितवन । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जितेका छन् । भण्डारी मेल र श्रेष्ठ फिमेलतर्फको शीर्ष विजेता घोषित भएका हुन् ।

दुवै विजेताले नगद ५ लाख बराबरको पुरस्कारको अलवा आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । शिर्ष विजेता भण्डारीले बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगर सहित तीन र श्रेष्ठले कमर्सियल मोडलको उपाधि समेत हात पारेका थिए ।

शनिबार दरबारमार्गस्थित होट याक एण्ड यतिमा अबेर साँझ एक भब्य समारोहका बिच आयोजित कार्यक्रममा मेल तर्फ प्रथम रनर अप अनुस्कृत न्यौपाने, सेकेन्ड रहन अप सुशान्त प्रजापति चुनिदा फिमेल तर्फ फष्ट रनर अप प्रियंका ओली र सेकेन्ड रनर अप खुसी बोहरा घोषित भए ।

२६ फिमेल र १६ मेल गरेर ४२ प्रतियोगी रहेको फाइनलमा मस्ट पपुलर मनिष ओली र काया थापा, मस्ट स्टाइलिस सुशील थापा मगर र काया थापा, बेस्ट पर्सनालिटी अनुष सक्सेना र उगेश्ना तिमल्सिना, बेस्ट वाक अस्निका ठकुरी, पब्लिक च्वाइस सुशान्त प्रजापति र प्रियंका ओली, मस्ट फोटो जेनिक सुशान्त प्रजापति र कृशला संगत, बेस्ट फिजिक्स र बेस्ट फिगर सिम्रन कार्की , कमर्सियल मोडल अनुस्कृत न्यौपाने, बेस्ट कन्टेन्ट क्रिएटर सृष्टि न्यौपाने बन्न सफल भए ।

नेपालकै बृहत् र स्तरीय मानिएको यो मोडलिङ प्रतियोगितामा निर्णायकहरू माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, राजभाई सुवाल, हिमाञ्चल राज केसी, विनय जोशी, रमिला नेम्कुल, मनिष राई रहेका थिए । प्रतियोगीताको यो १० औं सिजन हो । यो सिजनको मुख्य प्रयोगक नोथिङ स्मार्ट फोन रहेकोले प्रतियोगीता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना भएको थियो ।

प्रतियोगीहरु व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षाको प्रशिक्षण सहित फाइनलमा उत्रिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

मोडलिङका लागि आवश्यक अन्तराष्ट्रिय स्तरको ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत १० वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको छ । प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गरेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

कोरियोग्राफर सबिता कार्की, मोन्टर अजय गुरुङ रहेको प्रतियोगिताको फेसन डिजाइनर मनिष राई, कासा, मस्र्याङ्दी, सरिता अटायर, विमिन्स प्लानेट रहेका थिए । प्रतियोगिता ¥यम्प शो, विभिन्न सांगीतिक कार्यक्रमसहित आयोजना भएको थियो ।

चितवन । लोकप्रिय हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले गाईजात्रे कमेडी ‘बालेन सरकार’ ल्याएका छन् । यस बर्षको (२०८३)को हास्य र व्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै उनले देशको समसामाहिक बिषयदेखि राजनीति र नेतासम्मलाई ब्यङ्ग्य गर्दै यो कोसेली ल्याएका हुन् ।

‘बालेन सरकार’मा उनले सरकारलाई सल्लाह र सुझावको रुपमा खवरदारी गर्दै गत फागुन २१ को निर्वाचलाई कटाक्ष समेत गरेका । समग्र नेपालीहरुको बानी ब्यहोरालाई समेत प्रहार गरेका उनको यो कोसेली ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

विगत २३ वर्षदेखि नियमित व्यङ्ग्यका कोसेली ल्याउदै आएका उनको ‘बालेन सरकार’ दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र चेतना प्रवाह गर्ने उद्देश्यले ल्याएको कलाकार जोगिन्दरले बताए ।

‘गाइजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव हो । अहिले यस्ता कोसेलीको ब्यवसायिकता त छैन’, रिजालले भने ‘बर्सेनि दर्शक श्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ । दर्शकको मायाले गर्दा पनि आम्दानी नभए पनि यस्तलाई निरन्तरता दिँदै आएको छु ।’

लेखन, निर्देशन, प्रस्तुति समेत ‘जोगिन्दर’कै रहेको ‘बालेन सरकार’ मा झलकमान गन्र्धवको चर्चित गीत ‘आमाले सोध्लिन् नि’ माथि प्यारोडी पनि बनाएका छन् । जसमा लोकप्रिय लोकदोहोरी गायक राजु परियारले स्वर दिएका छन् ।

लोकराज अधिकारीको शब्द, अष्ट लामाको संगीत संयोज रहेको प्यारोडीमा एमाले, कांग्रेस, माओवादीदेखि देशका सम्पुर्ण पार्टीमाथि ब्याङ्ग्य गरिएको छ । यो कोसेलीमा समन अधिकारीको कोरियोग्राफी, प्रेम शर्माको सम्पादन र हरि ढकालको छायांकन छ । यसको पोष्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो ।

रिजालको ‘बालेन सरकार’ २३ औँ कोसेली हो । गत वर्ष उनले ‘मिस चौरासी’ ल्याएका थिए । जसको चर्चा राम्रो भएको थियो । विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यव्यङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै मान्दछन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।