
भरतपुर । नेपाल सिएमए संघ जिल्ला कार्यसमिति चितवनको अध्यक्षमा दिनेश पाण्डे चयन भएका छन् । भरतपुरमा सम्पन्न पाँचौँ जिल्ला अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा गोविन्दप्रसाद नेपाल र सचिवमा नवराज कँडेल चयन भएका छन् । अधिवेशनले चार केन्द्रीय प्रतिनिधिको चयन गरेको छ ।
नवनिर्वाचित जिल्ला अध्यक्ष पाण्डेले चितवनका सम्पूर्ण पारामेडिक्स स्वास्थ्यकर्मीलाई एकताबद्ध गर्दै पेसागत हकहित र अधिकारको रक्षाका लागि सङ्गठनलाई थप मजबुत र प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला अध्यक्ष रामजी घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संघका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक कपिल खनाल प्रमुखअतिथि रहेका थिए ।
केन्द्रीय उपाध्यक्षद्वय गोपाल उपाध्याय र काशिराम अर्याल विशिष्ट अतिथि, नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य तथा नेपाल सिएमए संघका सल्लाहकार संयोजक बद्रि खनाल र औषधि व्यवसायी संघ चितवनका अध्यक्ष इन्द्रराज गैरे अधिवेशनमा सहभागी थिए ।
कार्यक्रममा सहभागीहरुले पारामेडिक्स स्वास्थ्यकर्मीका साझा पेसागत मुद्दा र चुनौतीको समाधानका लागि आपसी एकता, सहकार्य र सङ्गठनात्मक सक्रियता आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल सिएमए संघका केन्द्रीय उपमहासचिव ईश्वर चापागाईं (नवीन)ले संघका साङ्गठनिक गतिविधि, पारामेडिक्स स्वास्थ्यकर्मीको पेसागत हकहित तथा अधिकार संरक्षणका लागि संघले गरेका पहल, राज्यसँग भएका सहमति तथा कार्यान्वयनको अवस्था, पेसागत चुनौती र भावी कार्ययोजनाबारे जानकारी गराए ।
उनले पारामेडिक्स स्वास्थ्यकर्मीको पेसागत सुरक्षा र अधिकार संरक्षणका लागि सङ्गठनलाई थप सङ्गठित, एकताबद्ध, मजबुत र सङ्घर्षशील बनाउनु अपरिहार्य रहेको बताउँदै चितवनका सम्पूर्ण सिएमए र अहेव स्वास्थ्यकर्मीलाई साझा पेसागत मुद्दामा एकताबद्ध भएर अघि बढ्न आह्वान गरे ।
सोही अवसरमा पारामेडिक्स स्वास्थ्यकर्मीका विभिन्न पेसागत माग सम्बोधन गराउन आफ्नो जिउज्यानको समेत प्रवाह नगरी लगातार पाँच दिन सत्याग्रह (आमरण अनसन) बसेर तत्कालीन राज्यसत्तालाई माग सम्बोधन गर्न बाध्य पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायलाई सम्मान गरिएको थियो ।
सौराहा । चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र कसरामा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निःशुल्क प्रवेश सुविधा प्रदान गरिने भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सङ्कलन गर्दै आएको शुल्क साउन ४ गतेदेखि लागू हुनेगरी हटाएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि अवलोकन शुल्क हटाइएको हो । यहाँ अवलोकनमा आउने विदेशीलाई रु १००, स्वदेशी पर्यटकलाई रु ५० र विद्यार्थीका लागि रु ३० प्रवेश शुल्क तोकिएको थियो ।
सौराहा आउने पर्यटक प्रजनन केन्द्र अवलोकन गर्न रुचाउने गर्दछन् । सौराहाको हात्ती प्रजनन केन्द्रबाट रु करिब रु ७० लाख र गोही प्रजनन केन्द्रबाट करिब रु ४० लाख प्रवेश शुल्क असुली हुने गरेको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले निकुञ्जले शुल्क लिन नियमावलीले नदिएको र ट्रष्टमार्फत शुल्क असुल गर्दा अफ्ठ्यारो हुन सक्ने भएकाले हालका लागि शुल्क हटाइएको जानकारी दिए । हात्ती प्रजनन केन्द्रमा पर्यटकले हात्तीको रहनसहन, स्याहारसुसारका बारेमा ज्ञान लिनाका साथै माउ र बच्चा खेलेको दृश्यमा रमाउने गर्छन् ।
प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीले यहाँ दैनिक झन्डै ४०० पर्यटक अवलोकनका लागि आउने गरेको बताउँछन् । विसं २०४४ मा स्थापना भएको उक्त केन्द्रमा अहिलेसम्म ६९ वटा छावा जन्मिएका छन् । भारतबाट चारवटा र थाइल्यान्डबाट एउटा गरी पाँचवटा हात्तीबाट हात्ती प्रजनन केन्द्र स्थापना गरिएको थियो ।
प्रजनन केन्द्रमा नौ वटा माउ र सात वटा छावा छन् । गोही प्रजनन केन्द्रमा करिब ५०० गोही रहेका छन् । नदीबाट अण्डा जम्मा गरेर बच्चा हुर्काउने गरिन्छ । यहाँ हुर्किएका गोहीका बच्चा नदीमा छोड्ने गरिएको छ । माउसँग खेल्दै गरेका हात्तीका छावा र पानीमा तैरिरहेका गोही हेर्न पर्यटक रुचाउने गर्छन् ।
चितवन । धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रुपान्तरित नाटक ‘द एज अफ डार्कनेस’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । राजेन्द्र सलभले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप खतिवडाले गरेका छन् ।
नाटक महाभारत युद्धपछि उत्पन्न सामाजिक, राजनीतिक र मानवीय संकट र शून्यतामा आधारित रहेको र नाटकमा महाभारतको पुरानो कथामार्फत आजको समाजमा देखिने हिंसा, सत्ता संघर्ष, प्रतिशोध र नैतिक संकट प्रस्तुत गरिएको निर्देशक खतिवडाले बताए ।
करिब ११ वर्षअघि यही नाटकमार्फत निर्देशक सुदीप खतिवडा अभिनयमा प्रवेश गरेका थिए । त्यतिबेला कलाकारका रूपमा प्रस्तुत भएको नाटक अहिले उनले निर्देशकका रूपमा मञ्चमा ल्याएका हुन् । उनले पुरानो नाटकलाई अहिलेको समय र दर्शकसँग जोड्दै नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको बताए ।
मण्डला थिएटरको प्रस्तुतिमा रहेको नाटकले युद्धपछि बाँकी रहेको हिंसा, प्रतिशोध, सत्ता, नैतिक द्वन्द्व र मानवीय जिम्मेवारीका विषयलाई उठाएको छ । युद्धले विजेता र पराजित दुवै पक्षमा पारेको प्रभाव प्रस्तुत गरिएको छ ।
नाटकमा सबिना चौधरी, कमल रेग्मी, राजाराम गौतम, जिनलव दोर्जे वम्जन, आभुषण घिमिरे, मिलन पन्त, इन्द्र कुमार लिम्बु, जोहेब शाह, सुजित मल्ल ठकुरी, सामना राई, विजय दोङ, सौगन श्रेष्ठ, राजु श्रेष्ठ, नित्य पौडेल,, विश्वजित ढकाल, मनुमित लेप्चा, घमन शाही, आरती बरुवाल, सुनिता राई, कुमार लामा, सुरेन्द्र बिश्वकर्मा, सुजाता राई, अविशेक खतिवडा, सम्पदा लकान्द्रि, सुजल कोइरालाले अभिनय गरेका छन् ।
नाटकको संगीतमा सौरभ चालिसे, सलिना बिक, जीवन राई र कुमार लामा छन् । नाटक आगामी भदौ १४ गतेसम्म मञ्चन हुनेछ ।
चितवन । एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज चितवनले २३औं वार्षिकोत्सव मनाएको छ । शनिबार भरतपुर–१०, स्थित बेस क्याम्पमा एक विशेष कार्यक्रम गर्दै एक्सपर्टले वार्षिकोत्सव मनाएको हो । एक्सपर्ट हेटौँडा, कावासोती र चितवनमा रहेका ३ वटा शाखा गरी चितवन रिजनका सबै परिवार एक ठाउँमा भेला भएर विभिन्न कार्यक्रम, सम्मान र आत्मीयताका साथ वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा चितवनको विकट क्षेत्र शक्तिखोरमा रहेको चेपाङ छात्रावासमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरिएको थियो । शिक्षा र विद्यार्थीको हितमा आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा एक्सपर्टले काउन्सलरहरूबीच अन्तरशाखा हाजिरीजवाफ प्रतियोगिता समेत सम्पन्न भएको छ । उक्त प्रतियोगितामा रत्ननगरबाट सहभागी समूह ‘बी’ले प्रथम स्थान हासिल गर्न सफल भयो भने समूह ‘ए’ले द्वितीय स्थान हासिल गर्न सफल भयो । हेटौँडा शाखा निकै प्रतिस्पर्धात्मक प्रतियोगितामा कावासोतीलाई पराजित गर्दै तृतीय स्थान हासिल गर्न सफल भयो । तेस्रो स्थानको लागि हेटौंडा र कावासोतीका समान १५० अंक पुगेपछि यी दुई टिमलाई पुनः दुई चरणमा प्रतिस्पर्धा गराउनुपरेको थियो । पहिलो चरणको पुनः अंक बराबर भएपछि दोस्रो चरणमा हेटौंडाले बाजी मारेको थियो ।
रमाइलोका साथै ज्ञान, टिम स्प्रिट र आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस प्रतिस्पर्धामा सबै टिमले उत्साहपूर्वक सहभागिता जनाएको थियो । उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः २० हजार रुपैयाँ ,१० हजार रुपैयाँ रु. ५,००० नगद पुरस्कार प्राप्त गर्न सफल रह्यो ।





