
भरतपुर । चितवनको हुलाकी राजमार्गअन्तर्गत भरतपुर–माडी जोड्ने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको बाटो स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को कार्य अगाडि बढेको छ । इआइएका लागि निकुञ्जभित्र रुखको छपान तथा गणना कार्य सम्पन्न भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालयको मातहत र निकुञ्ज कार्यालयको समन्वय तथा प्राविधिक सहयोगमा निकुञ्जभित्र काटिने रुखहरुको पहिचान र गणना गरिएको हो । बाटोको बीचबाट दायाँबायाँ १५–१५ मिटर क्षेत्रमा पर्ने रुखहरुको गणना कार्य सकिएको हो ।
सो क्षेत्रमा एक हजार ९९६ वटा रुख गणना भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनी भन्छन्, ‘अहिले नम्बरिङमात्रै गर्ने काम भएको छ । इआइए बनेर ती रुखहरु काट्नुपर्ने भएमा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नुपर्छ ।’
भरतपुर–माडी जोड्ने यो बाटोका कारण माडीवासीले वर्षौंदेखि सास्ती बेहोर्दै आएका छन् । बाटो स्तरोन्नतिको काम अघि बढेपछि माडीवासीमा आशाको सञ्चार भएको छ । चितवन क्षेत्र नंं ३ बाट निर्वाचित भई कानुनमन्त्री बनेपछि सोविता गौतमले भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र वनमन्त्री गीताकुमारी चौधरीलाई स्थलगत अवलोकन गराएकी थिइन् । मन्त्री गौतमले बजेट र कानुनका कारण काम रोक्न नहुने धारणा व्यक्त गरेकी थिइन् भने मन्त्री लम्साल र चौधरीले पनि इआइएको काम तत्काल अगाडि बढाउन निर्देशन दिएका थिए ।
निकुञ्ज क्षेत्रभित्र केही समयअघि ध्रुवे हात्तीको आतङ्क र मानवीय क्षति भएपछि सुरक्षाका कारण करिब १५–२० दिन रुख गणनाको काम ठप्प भएको थियो । त्यसपछि असारको क्लोजिङ र वर्षायाम सुरू भएकाले काम केही समय रोकिएको थियो ।
रुख गणनाको काम सकिएसँगै परामर्शदाता कम्पनीले वातावरण व्यवस्थापन योजनासहितको मस्यौदा प्रतिवेदन तयार पार्नेछ । प्रतिवेदन अन्तिम रुपमा बुझाउनुअघि भदौको पहिलो वा दोस्रो साताभित्र निकुञ्ज प्रतिनिधि, स्थानीय तह तथा सरोकारवालाहरुको उपस्थितिमा सार्वजनिक सुनुवाइ हुनेछ ।
सार्वजनिक सुनुवाइमा आउने सुझाव र वातावरणमा पर्ने प्रभाव न्यूनीकरणका उपायहरुलाई प्रतिवेदनमा समावेश गरिने छ । आगामी दसैँअघि नै इआइए प्रतिवेदन बुझाउने लक्ष्यका साथ काम भइरहेको परामर्शदाता पक्षले जनाएको छ । वन नियमावलीअनुसार निकुञ्ज तथा वन कार्यालयबाट प्रमाणित भएर आएको रुख क्षतिको विवरणलाई नै अन्तिम इआइए प्रतिवेदनमा समावेश गरिने बताइएको छ ।
भरतपुर । जिल्ला प्रशासन कार्यालय, चितवनको परिसरबाटै मोटरसाइकल चोरी भएको छ । राष्ट्रिय परिचयपत्र बुझ्न जिल्ला प्रशासन कार्यालय पुगेका वीरबहादुर तामाङको मोटरसाइकल कार्यालय परिसरबाटै चोरी भएको हो ।
तामाङको नाममा तथा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाममा रहेको बागमती प्रदेश ०६–००८ प २७१७ नम्बरको पल्सर १५० सिसी मोटरसाइकल यही साउन २२ गते दिउँसो चोरी भएको बताइएको छ ।
तामाङका अनुसार राष्ट्रिय परिचयपत्र बुझ्नका लागि कार्यालयको माथिल्लो तल्लामा पुगेका उनी करिब दुई घन्टापछि फर्किंदा मोटरसाइकल पार्किङ स्थलमा नभेटिएपछि तत्कालै मोटरसाइकल हराएको जानकारीसहित जिल्ला प्रहरी कार्यालय, चितवनमा लिखित निवेदन दिएको उनले बताए ।
घटनापछि जिल्ला प्रशासन कार्यालय परिसरमा जडान गरिएको सिसिटिभी फुटेजसमेत हेर्दा दुई जना व्यक्तिहरु पारस बसपार्कतर्फबाट मोटरसाइकलमा आएको र दिउँसो २ः२१ मा पार्किङ स्थलबाट उक्त मोटरसाइकल लिएर गएको देखिएको तामाङले जानकारी दिए ।
कार्यालय परिसरमै मोटरसाइकल चोरी भएपछि प्रशासनिक कार्यालयको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको र चोरी भएको मोटरसाइकल तथा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले मङ्गलबारदेखि लागू हुनेगरी अण्डाको समर्थन मूल्य बढाएको हो ।
सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग निकै बढेको छ । माग बढेसँगै अण्डाको मूल्य बढेको हो । फार्महरुले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उनले बताए । मूल्य बढ्दै गर्दा पनि किसानले लागत मूल्य पाउन नसकेको उनले बताए । अण्डाको लागत मूल्य प्रतिगोटा रु १९.१२ पर्न आउँछ । यसलाई हिसाब गर्दा प्रतिक्रेट रु ५७३.६० हुन आउँछ ।
बर्डफ्लुका कारण किसानले ठूलो क्षति व्यहोर्नुपरेको छ । लागत मूल्य पाउन नसकेपछि विगत केही वर्षदेखि किसान यस पेसाबाट पलायन हुन थालेका छन् । पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लग्नुलगायत कारणले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायी बताउँछन् ।
पछिल्लो समय बर्डफ्लुका कारण केही किसानको कुखुरा मरेका थिए भने कुखुरा हुनेहरुले अण्डाको मूल्य नपाउँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको पोखरेलले बताए ।
रत्ननगर । देशका विभिन्न स्थानीय तह र वडामा विनियोजित बजेट तथा कार्यक्रम समयमै कार्यान्वयन हुन नसक्दा बजेट फ्रिज हुने गरेका थुप्रै दृष्टान्त छन् । कतिपय योजनामा उपभोक्ता समिति गठन नहुँदा कार्यान्वयनमै नजाने र कतिपय योजना आर्थिक वर्ष सकिन लाग्दा पनि सम्झौता हुन नसक्ने समस्या देखिँदै आएको छ ।
यही समस्यालाई मध्यनजर गर्दै चितवनको रत्ननगर–१५ वडा कार्यालयले भने चालू आर्थिक वर्ष २०८३–०८४ को सुरूवातमै योजना कार्यान्वयनलाई प्राथमिकता दिएको छ । वडा कार्यालयले नगरपालिकाभित्रै पहिलोपटक उपभोक्ता समिति गठन गर्दै योजना कार्यान्वयनको प्रक्रिया अघि बढाएको हो ।
वडामा विनियोजित दुई लाख रुपैयाँ बजेटबाट रत्ननगर–१५ हरियाली टोलस्थित हरियाली पार्कमा खुला व्यायामशाला निर्माण गर्न उपभोक्ता समिति गठन गरिएको हो । चालु आर्थिक वर्षका लागि नगरपालिकाबाट विनियोजित बजेटलाई समयमै कार्यान्वयन गर्ने उद्देश्यले वडा कार्यालयले उपभोक्ता समिति गठन गरी योजना सम्झौताको प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।
वडाले गत आर्थिक वर्षमा पनि नगरपालिकाका अन्य वडाको तुलनामा योजना कार्यान्वयन र सम्पन्न गर्ने कार्यमा अग्रता लिएको थियो । आर्थिक वर्षको अन्त्यतिर मात्र योजना सम्झौता तथा कार्यान्वयन गर्ने प्रवृत्तिभन्दा फरक ढङ्गले वडा कार्यालयले सुरूदेखि नै योजनालाई प्राथमिकतामा राख्दै आएको छ ।
वडाध्यक्ष आसिक तामाङले योजना कार्यान्वयनमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष असर नागरिकले पाउने भएकाले बजेट विनियोजन भएलगत्तै आवश्यक प्रक्रिया पूरा गरी काम अघि बढाउने नीति लिएको बताए ।
योजना कार्यान्वयनमा देखिएको यो सक्रियता वडाध्यक्ष आसिक तामाङको कामप्रतिको लगाव र योजनालाई समयमै सम्पन्न गर्ने प्राथमिकता महत्त्वपूर्ण रहेको वडा कार्यालयका गतिविधिले देखाउँछन् । जनताका लागि विनियोजन भएको बजेट लामो समयसम्म अलपत्र नराखी समयमै काममा लगाउने र विकास निर्माणका कामलाई आर्थिक वर्षको अन्तिममा थुपार्ने प्रवृत्तिको अन्त्य गर्ने उद्देश्यका साथ वडा कार्यालय अघि बढेको हो ।
स्थानीय तहमा बजेट विनियोजन भए पनि समयमै कार्यान्वयन हुन नसक्दा विकास निर्माण प्रभावित हुने र बजेटसमेत फ्रिज हुने अवस्थाबीच रत्ननगर–१५ को यो अग्रसरतालाई बजेट कार्यान्वयनमा देखिएको व्यावहारिक सक्रियताको उदाहरणका रूपमा लिइएको छ ।
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिन्डर पुर्याउन सहजीकरण गरेको छ । असहाय, अशक्त, अपाङ्ता भएका, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक र विद्यार्थीलाई सो सङ्ख्यामा ग्यास घरमा पुर्याइएको हो ।
गत एक सातामा प्रशासनको टोल फ्री नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भरतपुर, पूर्वी चितवन तथा पश्चिम चितवन क्षेत्रमा ती ग्यास सिलिन्डर वितरण गरिएको हो । ग्यासको अभाव भएका आश्रमहरुमा समेत ग्यास पुर्याइएको छ ।
उद्योगबाट ग्यास आउने, डिपोमा पुग्ने र डिपोबाट आम उपभोक्ताकोमा सहजरुपमा नपुग्ने गरेको गुनासो आएसँगै स्थानीय प्रशासनले ग्यास उद्योगदेखि खुद्रा व्यापारी सम्म अनुगमन गर्न सुरू गरेको प्रजिअ अर्यालले जानकारी दिए । उद्योगीले ग्यास पर्याप्त मात्रामा ल्याइएको बताए पनि उपभोक्ता लाइनमा बस्नुपर्ने बाध्यता देखिएका कारण उद्योगदेखि वितरणसम्मको अनुगमन गर्न लागिएको हो ।
प्रशासन कार्यालयका सहायक प्रजिअ चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोलीले बजार अनुगमन गरिरहेको छ । चितवनमा मासिक एक लाख २० हजार सिलिन्डर आवश्यक पर्ने भए पनि अहिले दैनिक ६ हजारदेखि सात हजारको हाराहारीमा वितरण हुँदा असहज भएकाले बजार अनुगमन सुरू गरिएको प्रजिअ अर्यालले बताए ।
अहिले जिल्लामा साइबाबा, बाबा र नेपाल ग्यास उद्योग रहेका छन् । ती उद्योगबाट यहाँका डिलरमा नियमित ग्यास पठाउँदै आइएको छ ।
बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार यहाँका उद्योगहरुले चितवनसहित विभिन्न जिल्लाहरुमा ग्यास पठाउँदै आएका छन् । भरिएकामध्ये आधा चितवनमा र आधा बाहिर पठाइएको उनले बताए । बुलेटले ग्यास भर्दै आएको भारतको दुर्गापुरको रिफाइनरीमा समस्या आएपछि पारादीपबाट ग्यास भर्ने गरिएको छ । कालाखेतीका अनुसार दुर्गापुर दुई दिनमा पुगिन्छ भने पारादीप पुग्न चार दिन लाग्छ ।
यस्तै, ग्यास दिइरहेको बरौजी रिफाइनरीले समेत कम ग्यास दिएको र माग बढेकाले समस्या भएको हो । उनले भने, ‘केही समयलाई आधा सिलिन्डर भर्ने वा बरौजीबाट दिइने कोटा केही दिनलाई बढाउन सके समस्याको समाधान हुन्छ ।’ आवश्यकताअनुसार मात्रै सिलिन्डर साट्न र अतिरिक्त भण्डारण नगरे छिट्टै समाधान हुने उनको भनाइ छ ।
चितवन । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले यो वर्ष पनि तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर चितवनकै माडीमा तीज गीत प्रतियोगिता गर्न लागिएको हो ।
विगत १३ वर्षदेखि सुरक्षित आप्रवास तथा सामाजिक एवम् मानवीय परोपकारी कार्यमा सक्रिय रहँदै आएको चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको यो तेस्रो तीज गीत प्रतियोगिता हो ।
समितिले आगामी भदौ २० गते शनिबार माडीको बसन्तपुरस्थित होटल प्याराडाइजको सभाहलमा ‘तेस्रो बृहत् खुल्ला तीज गीत प्रतियोगिता–२०८३’ आयोजना गरिएको कार्यक्रमकी संयोजक लीला पौडेलले जानकारी दिइन् ।
प्रतियोगितात्मक कार्यक्रममा प्रथम हुने समूहलाई नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार तथा सान्त्वना हुने समूहलाई ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने सचिव अर्जुन अधिकारीले बताए ।
कार्यक्रममा सहभागी महिला तथा दिदीबहिनीका लागि निःशुल्क तीजको दर खाने व्यवस्था गरिएको समाजका अध्यक्ष लालबहादुर भट्टले बताए । समाजले प्रतियोगितामार्फत नेपाली कला–संस्कृति, रीति–रिवाज तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै माडीका सम्पूर्ण महिला तथा दिदीबहिनीलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ ।
समितिले माडीका विभिन्न वडा कार्यालयदेखि महिला समूह, टोल सुधार समितिलगायत माडी नगरपालिकादेखि इलाका प्रहरी कार्यालयसम्म समन्वय एवम् छलफल गर्नुका साथै माडीस्थित विभिन्न व्यवसायीहरूसँग भेटघाट तथा छलफल गरेको संस्थाका सचिव अर्जुन अधिकारीले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको सेक्टरस्तरीय अन्तर्क्रिया तथा सुझाव संकलन कार्यक्रममा पनि संस्थाले आफनो कार्यक्रमको प्रचारप्रसारलाई तीव्रता दिँदै जिल्लास्तरीय तीज गीत प्रतियोगितामा भाग लिई नेपाली कला–संस्कृति, रीतिरिवाज एवम् परम्पराको जर्गेना गर्दै कार्यक्रमलाई सफल परिदिन आयोजकले अनुरोध गरेको छ ।





