२०८३ श्रावण २७ बुधबार
२०८३ श्रावण २७ बुधबार

भरतपुर । चितवनको पर्यटकीय क्षेत्र सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । १५औँ विश्व हात्ती दिवसको अवसरमा बुधबार वनभोज खुवाइएको हो ।
हात्तीको संरक्षण, उचित व्यवस्थापन र मानव–हात्ती सहअस्तित्वको सन्देश दिने उद्देश्यले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा विशेष कार्यक्रम आयोजना गरेको हो ।

बाघमारा, चित्रसेन, जनकौली र कुमरोज मध्यवर्ती सामुदायिक वनको सहकार्यमा आयोजित कार्यक्रममा हात्तीलाई लामबद्ध गराएर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन फ्रुट, स्याउ, केरा, भुईंकटहर, फर्सीलगायत फलफूल–तरकारी दिइएको थियो । वनभोजमा सरकारी र निजी गरी करिब ५६ वटा हात्ती सहभागी थिए । सौराहाको पर्यटन इतिहास हात्ती सफारीसँग जोडिएको छ । यही हात्ती सफारीले चितवनमा पर्यटनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

हाल चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत ५८ वटा हात्ती छन् । यीमध्ये सौराहामा मात्रै ४५ वटा हात्ती रहेको तथ्याङ्क छ । नेपालभर सरकारी तथा निजी गरी अन्दाजी १८५ वटा हात्ती छन् । हात्ती पर्यटनको आकर्षण मात्र नभई वन संरक्षण, गस्ती, विपद् व्यवस्थापन र चोरी–तस्करी नियन्त्रणमा समेत प्रयोग हुँदै आएका छन् ।

निजी हात्तीका लागि निकुञ्जभित्रको घाँस उपयोग गर्न नपाउने अवस्थाले आहार व्यवस्थापनमा समस्या भएको व्यवसायीहरूको गुनासो छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले निजी हात्तीलाई निकुञ्जबाट घाँस उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरे । साथै, उमेर पुगेका हात्तीको दीर्घकालीन व्यवस्थापनका लागि ‘एलिफेन्ट सेन्चुरी’ निर्माण आवश्यक रहेको उनले बताए ।

सरकारले हात्तीको किनबेच तथा ओसारपसारमा प्रतिबन्ध लगाएपछि बूढा तथा काम गर्न नसक्ने हात्तीको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको व्यवसायीहरूको भनाइ छ । सेन्चुरी निर्माणका लागि आवश्यक स्थान उपलब्ध गराउन सरकारसँग माग गरिएको खतिवडाले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले हात्तीबिनाको चितवन निकुञ्ज संरक्षण कल्पना गर्न नसकिने बताए । उनका अनुसार अहिलेको मुख्य चुनौती हात्तीको संख्या बढाउनु मात्र नभई बासस्थानको क्षमताअनुसार दिगो संरक्षण र मानव–हात्ती सहअस्तित्व कायम गर्नु हो ।

 
भरतपुर । डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्मल ड्रोन’को सहायता लिएको छ । कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीलले विगत दुई दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा रहेको झाडीमा चितुवा हुनसक्ने आकलन गर्दै ड्रोनको सहायता लिएको हो ।
 
विगत दुई महिनादेखि भरतपुर महानगरपालिका–१५ र कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा रहेको झाडीमा चितुवा देखिएपछि नियन्त्रणको काम सुरू गरिएको हो । दिनको समयमा नदेखिने रातको समयमा देखिने गर्दा नियन्त्रणमा लिन कठिन भएको कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले जानकारी दिए । अहिले चितुवा नियन्त्रणका लागि दिउँसोमा थर्मल ड्रोन (वन्यजन्तुको तापक्रम पहिचान गर्न सक्ने), पाँच स्थानमा सिसीक्यामेरा जडान, तीन स्थानमा खोर ट्रयापिङ, तीन स्थानमा खुट्टा ट्रयापिङ (खुट्टा अल्झाउन) का लागि काम गरिएको उनले जानकारी दिए ।
 
चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय चितवन र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली खटिएको उनले बताए । ती खोर ट्यापिङको काम चितुवालाई सहज हुनेगरी राखिएको छ । अहिले सो क्षेत्रमा एउटा माउ र एउटा बच्चा चितुवा रहेको उनले जानकारी दिए । उनका अनुसार एउटा बच्चा चितुवा भरतपुर–१५ बाट नियन्त्रणमा लिइसकिएको छ । सो बच्चालाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगरे राखिएको छ । चितुवाको पाइलाका आधारमा खोरहरू स्थानान्तरण गरेर राख्ने गरिएको छ ।
 
सो कार्यमा लागेका डिभिजन वन कार्यालयका वन अधिकृत सुदीप हमालका अनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर परिसरको गाई अनुसन्धान कार्यक्रमको आवास क्षेत्रमा दुईपटक चितुवा देखिएको छ । सिसीक्यामेरामा एक साताअघि एउटा र आइतबार राति दुईवटा चितुवा देखापरेको उनले जानकारी दिए । सोपश्चात् सो क्षेत्रमा थर्मल ड्रोनको प्रयोग गरिएको भए पनि चितुवा भेट्न सकिएको छैन ।
 
उनका अनुसार सो ठाउँमा खोर र खुट्टा ट्रयापिङ पनि राखिएको छ । यस्तै वन क्याम्पस नजिक एउटा र भरतपुर महानगरपालिका–१५ को अविनास पोल्ट्री परिसरमा एउटा खोर राखिएको छ । विभिन्न ठाउँमा क्यामेरासमेत राखिएको उनले बताए । चितुवाको आवतजावत भएको क्षेत्रमा क्यामेरा राखिएको छ ।
 
यस्तै भरतपुर–११ स्थित आँपटारीमा रहेको विद्युत् स्टेसन क्षेत्रमा बाघ देखिएको जनाउँदै कर्मचारीले गुनासो गरेपछि दुईवटा क्यामेरा जडान गरिएको छ । बाघले स्थानीयको बाख्रा खाएको जनाइएको छ । सो क्यामेरामार्फत अनुगमन भइरहेको अधिकृत हमालले जानकारी दिए । 

चितवन । रगोन स्टुडियो प्रा।लि।को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी कार्यक्रम ‘लोक दोहोरी च्याम्पियन’को पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा “लोक दोहोरी च्याम्पियन” को उद्देश्य, निर्माण टोली, निर्णायक मण्डल तथा प्रसारणसम्बन्धी जानकारी सार्वजनिक गरिएको हो ।

नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवद्र्धन गर्दै नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले कार्यक्रम निर्माण गरिएको कार्यक्रम प्रमुख अनुपम गौतमले जानकारी दिए ।

कार्यक्रमको निर्देशन चलचित्र निर्देशक माधव राज खरेलले गर्नेछन भने निर्णायक मण्डलमा बरिष्ठ गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन् । त्यस्तै कार्यक्रमको सञ्चालन कमेडिन तथा कलाकार दिनेश काफ्ले र गायिका इप्सल सञ्ज्यालले गर्नेछन् ।

त्यस्तैगरी कार्यक्रम व्यवस्थापन गायक रामप्रसाद अवस्थीले सम्हाल्नेछन् भने, प्रतियोगी सम्योजकमा गायक तथा सर्जक दिपक खड्का, सङ्गीत निर्देशकमा राजु ढकाल, मेन्टर÷ कोचमा शिव हमाल, प्रोडक्सनमा गिरिराज ढकालले हेर्नेछन् ।

उक्त “लोक दोहोरी च्याम्पियन” छायांकन निर्देशनमा हेमन्त कटुवालले सम्हाल्ने छन भने ब्राण्ड एम्बेस्डरमा गायक तथा सर्जक शिरिश देवकोटा र कार्यक्रम परामर्श दाताको रुपमा सुवास केसीलाई अनुबन्धित गरिएको छ ।

“लोक दोहोरी च्याम्पियन” को स्याटेलाईट पार्टनर इमेज टेलिभिजन एच्डि, डिजिटल तथा युट्युव पार्टनर म्युजिक नेपाल ,भोटिङ पार्टनर खल्ती एप आइएमई, हस्पिटालिटी पार्टनर प्यासिफिक हस्पिटालिटी र ओपल ग्लोबल रहेको छ भने,फुड पार्टनरमा साप फाल्चा जोडिएको छ ।

आयोजकका अनुसार कार्यक्रमलाई आगामी असोज ३ गतेदेखि दर्शकमाझ ल्याउने तयारी भइरहेको छ। रगोन स्टुडियोको ब्यानरमा निर्माण भइरहेको यस कार्यक्रमले नेपाली लोकदोहोरी क्षेत्रमा रहेका प्रतिभालाई खोजी गर्दै उनीहरूलाई ठूलो मञ्च प्रदान गर्ने लक्ष्य लिएको छ ।

चितवन । नेपाली महिलाहरुको महानपर्व तीजको आगमनसँगै नेपाली सांगीतिक बजारमा नयाँ तीज गीत सार्वजनिक हुने क्रम जारी छ । यसैबीच मौलिक तीज संस्कृतिलाई आधुनिक प्रस्तुतीसँग जोड्ने प्रयासस्वरूप वरिष्ठ गायिका देविका बन्दनाले ‘रातो सारी झल्कियो बरिलै’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी छन् ।

गीतमा गायिकाहरू देविका बन्दनाका साथमा लोकदोहोरी गायिका शान्तिश्री परियार र एलिना चौहानको स्वर रहेको छ । तीजको मौलिक लय, नेपाली महिलाको उत्साह र पर्वको सांस्कृतिक पक्षलाई समेट्ने गरी गीतकार उषा शेरचनले गीतको शब्द रचना गरेकी हुन् भने नरहरि प्रेमी उपाध्यायले संगीत गरेका छन् । राकेश सोनीको संगीत संयोजन रहेको उक्त गीत अकुस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रले गरेका हुन् ।

प्रस्तुत गीतको भिडियोमा वरिष्ठ कलाकार एवम् चलचित्र कल्याणकारी कोषको अध्यक्ष बसुन्धरा भुसाल, प्रथम नेपाली रंगीन चलचित्र कुमारीको नायिका चैत्य देवी, लोकप्रिय ट्याटु आर्टिस्ट तथा कलाकार सुनिता कुँवरको अभिनय रहेको छ भने गायिका मञ्जु पौडेल, अनिता यादव लगायतका कलाकारहरुको अभिनय तथा नृत्यले भिडियोलाई थप आर्षक बनाएको छ । भिडियोले तीज पर्वमा नेपाली महिलाबीच देखिने आत्मीयता, सांस्कृतिक पहिचान र उत्सवको रौनकलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।

उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी सृष्टि घिमिरेले गरेकी हुन् भने भिडियोको छायांकन देवराज आचार्यले गरेका हुन् भने सम्पादन, कलर ग्रेडिङ तथा ग्राफिक्स मनोज कार्कीले गरेका छन् । मेकअप टेकराज पाण्डेको रहेको छ ।

तीज पर्वलाई लक्षित गरी तयार पारिएको यस गीतमा शब्द, संगीत, गायन र दृश्य प्रस्तुतिबीच सन्तुलन कायम गर्ने प्रयास देखिन्छ । लोकलयमा आधारित प्रस्तुतिका कारण गीतले तीजका अवसरमा दर्शक–श्रोतामाझ राम्रो स्थान बनाउन सक्ने अपेक्षा गरिएको छ ।

पछिल्ला वर्षहरूमा तीज गीतमा मौलिकताको बहस भइरहेका बेला ‘रातो सारी झल्कियो बरिलै’ ले नेपाली संस्कृति, परम्परा र उत्सवको भावलाई केन्द्रमा राख्दै तीजको मौलिक स्वादलाई पुनः स्मरण गराउने प्रयास गरेको निर्माण पक्षको विश्वास छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।