
चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट रु एक करोड ५५ लाख तीन हजार ६८५ बक्यौता रकम असुली गरेको छ । पाँच हजार रुपैयाँभन्दा माथि बक्यौता भएका र छ महिनाभन्दा माथिको पानीको महसुल नबुझाएका ती ग्राहकबाट सो रकम बक्यौता असुली गरिएको हो ।
कार्यालयका प्रमुख सञ्जय बरालका अनुसार गत फागुनदेखि बक्यौता असुलीको काम सुरू गरिएको हो । फागुनदेखि असार मसान्तसम्ममा सो बक्यौता असुली भएको उनले जानकारी दिए । कार्यालयले अझै ५०० ग्राहकबाट २० लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ । ती लामो समयदेखि महसुल नबुझाएका ग्राहकहरु हुन् ।
बक्यौता नबुझाउने ग्राहकलाई पत्राचार गर्ने, घरदैलो गर्ने, पानीको लाइन काट्ने, एसएमएस गर्ने, ताकेता लगाउनेजस्ता काम भइरहेको उनले बताए । कार्यालयले बक्यौता असुलीका लागि टोलीनै गठन गरेर काम गरीरहेको छ । गत वर्ष १६ करोड ५९ लाख ४२ हजार १०० रुपैयाँ महसुल बिलिङ गरेकोमा १६ करोड ९९ लाख ७२ हजार ४४० रुपैयाँ सङ्कलन भएको थियो । यो लक्ष्यको दुई दशमलव ५७ प्रतिशतले बढी हो ।
यस्तै, भरतपुर महानगरपालिकाले दिँदै आएको सात युनिट पानीमा अनुदानसमेत भुक्तानी गरेको छैन । मङ्सिर महिनादेखिको भुक्तानी नपाएको कार्यालयले जनाएको छ । आठ महिनाको बक्यौता एक करोड रुपैयाँभन्दा बढी रहेको उनले जानकारी दिए । महानगरवासीलाई बोर्ड र विभिन्न उपभोक्ता समितिबाट सञ्चालित खानेपानी आयोजनाको रकमसमेत भुक्तानी हुन नसक्दा ती आयोजनामा समस्या भएको छ ।
चितवन । नेपाल लेयर्स कुखुरापालक संघले पोल्ट्री क्षेत्रका समस्या समाधानका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको ध्यानाकर्षण गराएको छ ।
संघको टोलीले बिहीबार मन्त्रालयमा मन्त्री चौधरीलाई भेटेर पोल्ट्री क्षेत्रको वर्तमान अवस्था र व्यवसायीले भोग्दै आएका समस्याबारे जानकारी गराएको हो । भेटमा पोल्ट्री व्यवसाय आत्मनिर्भर क्षेत्रका रूपमा विकास भएको, स्वदेशी पुँजी पलायन रोक्न तथा रोजगारी सिर्जना गर्न योगदान पुर्याएको संघले जनाएको छ । पोल्ट्रीजन्य उत्पादनले सर्वसाधारणको पोषणमा समेत महत्त्वपूर्ण योगदान दिएको संघको भनाइ छ ।
संघले पोल्ट्री व्यवसायमा प्रयोग हुने प्रमुख कच्चापदार्थ आयातमा लाग्ने कृषि सुधार शुल्क तथा भन्सार, विद्युत् महसुलमा लाग्ने मूल्य अभिवृद्धि कर र खुला सीमा नाकाबाट हुने अवैध आयातलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेको थियो ।
विशेषगरी अण्डा, चल्ला, जिउँदो कुखुरा तथा तयारी मासुको अवैध आयातले स्वदेशी पोल्ट्री व्यवसाय प्रभावित भएको भन्दै त्यसलाई नियन्त्रण गर्न संघले आग्रह गरेको छ ।
भेटमा मन्त्री चौधरीले व्यवसायीले उठाएका विषयमा सकारात्मक धारणा राख्दै मूल्य अभिवृद्धि कर खारेजी र अवैध आयात नियन्त्रणका लागि तत्काल पहल गर्ने आश्वासन दिएको संघले जनाएको छ । मन्त्रीसँगको छलफल प्रभावकारी भएको र समस्या समाधानका लागि तत्कालै कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता आएको संघको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको समन्वयमा भएको भेटघाटमा संघका अध्यक्ष विनोद पोखरेल, उपाध्यक्ष ज्योतेन्द्र श्रेष्ठ, अमोद खनाल, महासचिव भेषराज अर्याल, सल्लाहकार सुनिलकुमार शाक्य र व्यवसायी राजन पियाको सहभागिता थियो ।
चितवन । चितवन जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामीहरू बढ्न थालेका छन् । जनस्वास्थ्य कार्यालय, चितवनले साउन १ गतेदेखि साउन २८ गते सम्मको दैनिक अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै जिल्लाभित्र र बाहिरका गरी हालसम्म ३४ जनामा स्क्रब टाइफस र चार जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
कार्यालयका अनुसार सङ्क्रमण परीक्षण गरिएका कुल २११ जनामध्ये ३४ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको छ भने १७८ जनाको परीक्षण गर्दा चार जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाका स्थानीय तहहरूको विवरण हेर्दा भरतपुर महानगरपालिकामा स्क्रब टाइफसको जोखिम बढी देखिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । भरतपुरमा एक पुरुष र चार महिला गरी कुल पाँच जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । यस्तै, रत्ननगर नगरपालिकामा एक जना पुरुषमा स्क्रब टाइफस भेटिएको छ ।
डेंगु सङ्क्रमणतर्फ भने कालिका नगरपालिकामा एक जना महिला र इच्छाकामना गाउँपालिकामा एक जना पुरुष गरी जिल्लाभित्रका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । खैरहनी, माडी र राप्ती नगरपालिकामा भने हालसम्म डेंगु र स्क्रब टाइफस दुवैको सङ्क्रमण शून्य रहेको छ ।
चितवनका स्वास्थ्य संस्थाहरूमा उपचारका लागि अन्य जिल्लाबाट आएका बिरामीहरूमा सङ्क्रमणको दर उच्च देखिएको छ । अन्य जिल्लाका ११ पुरुष र १७ महिला गरी कुल २८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ भने दुई जना पुरुषमा डेंगु भेटिएको छ ।
पछिल्लो २४ घन्टामा जिल्लामा डेंगुका दुई जना (कालिका एक) र अन्य जिल्लाका १० तथा स्क्रब टाइफसका दुई जना (अन्य जिल्लाका) नयाँ बिरामी थपिएका छन् ।
सूचना अधिकारी केसीका अनुसार अहिलेको मौसम डेंगु र स्क्रब टाइफसको संक्रमण फैलिने सिजन हो । वर्षायाम सुरू भएसँगै कीटजन्य रोगहरूको जोखिम बढ्ने भएकाले आफ्नो वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र लामखुट्टे तथा माइटको टोकाइबाट बच्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ ।
चितवन । भरतपुरको विकास मोडलको चर्चा भइरहँदा केन्द्रीय बस टर्मिनल चोकदेखि विशाल चोकसम्मको ४ किलोमिटर लामो बाइपास सडक भने १० वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
भरतपुरको विकासलाई नै गिज्याइरहेको यो सडकको निर्माणमा चरम लापरबाही र ढिलासुस्ती भएपछि अन्ततः ठेक्का रद्द गरी निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।
उक्त सडक विस्तारका लागि २०७३ साल पुस १९ गते गौरी पार्वती निर्माण सेवा काठमाडौँसँग १३ करोड ४५ लाख ८२ हजार ७९१ रूपैयाँमा सम्झौता भएको थियो । तर, पटक–पटक म्याद थप्दा र ताकेता गर्दासमेत निर्माण कार्य पूरा भएन । काम सन्तोषजनक नभएपछि सडक डिभिजन कार्यालय भरतपुरले निर्माण कम्पनीलाई दैनिक ०.०५ प्रतिशत हर्जनासमेत लगाएको थियो ।
लगातारको ढिलासुस्तीपछि सडक डिभिजन कार्यालयले २०८२ साल कात्तिक ११ गते ‘ठेक्का अन्त्य किन नगर्ने ?’ भन्दै सात दिने स्पष्टीकरण सोधेको थियो । सो अवधिभित्र प्राप्त जवाफ चित्तबुझ्दो नभएपछि २०८३ साल साउन ४ गते सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (७) बमोजिम ठेक्का तोड्ने निर्णय गरिएको हो ।
तोकिएको समयभित्र काम पूरा नभएकाले ठेक्का रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।
लामो समयसम्म सडक निर्माण सम्पन्न नहुँदा अहिले उक्त खण्डमा ठूला(ठूला खाल्डाखुल्डी परेका छन् भने नालामा ढकनीसमेत राखिएको छैन । यसले गर्दा सवारी साधन तथा पैदलयात्री दुर्घटनाको उच्च जोखिममा परेका छन् । सडकको बिजोगका कारण स्थानीय बासिन्दा र यात्रुहरूले लामो समयदेखि सास्ती खेप्दै आएका छन् ।





