
चितवन । चितवनको सदरमुकाम भरतपुरमा खाना पकाउने ग्यासको अभाव चर्किँदा सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ । ग्यासको खोजीमा उपभोक्ता दिनहुँ एक ठाउँबाट अर्को ठाउँ धाउन बाध्य भएका छन् ।
ग्यास अभावले उपभोक्ताहरु प्रभावित बनेपछि जिल्ला प्रशासन कार्यालय चितवनले भूगोल(क्लस्टर)का आधारमा एलपी ग्यास वितरणको व्यवस्था गर्ने जनाएको थियो । तर, सयौँ उपभोक्ता ग्यास नपाएर भौँतारिनुपरेको छ ।
भरतपुरका विजय कमली तीन दिनदेखि खाली सिलिन्डर बोकेर ग्यास खोजिरहेका छन् । ग्यास पाउन नागरिकताको प्रतिलिपि आवश्यक पर्ने जानकारी पाएपछि उनी नागरिकताको फोटोकपीसमेत साथमा लिएर हिँडिरहेका छन् । घरमा साना बच्चा भएकाले खाना पकाउन ग्यास नपाउँदा समस्या झन् बढेको उनले बताए ।
यस्तै, तनहुँबाट भरतपुरमा अध्ययन गर्न आएकी स्मृति बस्याल ग्यास खोज्न कलेज नै छाडेर लाइनमा बस्नुपरेको बताउँछिन् । ग्यास नहुँदा केही दिन बाहिरको खाना र जङकफुडको भर पर्नुपरेको उनको भनाइ छ ।
भरतपुर–१० की ७० वर्षीया सीता पौडेल पनि सात दिनदेखि ग्यासको खोजीमा विभिन्न स्थानमा लाइन बस्दै आएकी छन् । घरमा नातिनी छाडेर ग्यास लिन आउनुपर्दा आफू निकै समस्यामा परेको उनले बताइन् ।
ग्यासको अभावका कारण उपभोक्ता समस्यामा परिरहेका बेला सरकारको आपूर्ति व्यवस्थापनप्रति पनि प्रश्न उठेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न स्थानमा ग्यासको मौज्दातबारे अनुगमन र छापा अभियान चलाए पनि उपभोक्ताले भने सहजरूपमा ग्यास पाउन सकेका छैनन् ।
यसैबीच, ग्यास वितरण गर्दा तत्काल आवश्यकता पर्ने ज्येष्ठ नागरिक, अशक्त एवम् अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा जिल्लाभित्र सञ्चालित आश्रमहरुका लागि विशेष व्यवस्था गरिएको छ । उनीहरुले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी नाम दर्ता गराउनुपर्ने छ । वडा कार्यालयहरुले पहिचान प्रमाणित गरी जिल्ला प्रशासन कार्यालयको टोल–फ्री नम्बर १६६०५६५२००१ मार्फत सिफारिस गरेपछि ग्यास उपलब्ध गराइने छ ।
ग्यास बिक्री तथा वितरणका क्रममा देखिने समस्या र गुनासो व्यवस्थापनका लागि सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको संयोजकत्वमा ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको छ ।
ग्याससम्बन्धी सूचना, सुझाव वा गुनासो भएमा सहायक प्रजिअ चूडामणि शर्मा गौतम (९८५५०८१७६८), प्रशासकीय अधिकृत मदन लामा थिङ (९८५५९२२००) वा प्रहरी नायब निरीक्षक यामप्रसाद सापकोटा (९८४४०२९०४३) को मोबाइलमा सम्पर्क गर्न सकिने छ ।
प्रशासनले उपभोक्ताहरुलाई आफ्नो नजिकको बिक्रेतासँग सम्पर्क गर्न र तोकिएको क्लस्टरबाहेक अन्यत्र ग्यासका लागि नधाउनसमेत अनुरोध गरेको छ ।
भरतपुर । चितवन उद्योग वाणिज्य संघले भरतपुर–१०, चौबिसकोठीमा रहेको मेदान्त डेन्टल जोन प्रालिसँग दन्त स्वास्थ्य सेवामा विशेष छूट तथा सहुलियत प्रदान गर्नेसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
व्यावसायिक सामाजिक उत्तरदायित्व र सदस्य लक्षित कल्याणकारी कार्यक्रमअन्तर्गत सम्झौता भएको हो । यस सम्झौताअनुसार चितवन उद्योग वाणिज्य संघमा आबद्ध सदस्य एवम् कर्मचारीहरू तथा उनीहरूका परिवारका सदस्यहरूलाई समेत मेदान्त डेन्टल जोनले दन्त उपचार सेवामा छूट सेवा उपलब्ध गराउनेछ ।
चितवन उद्योग वाणिज्य संघको सदस्य एवम् कर्मचारीका परिवारका सदस्यहरुलाई मेदान्त डेन्टल जोन प्रालिले आफ्नो क्लिनिक/अस्पतालमा उपलब्ध गराउने सम्पूर्ण प्रकारका साना तथा ठूला दन्त उपचार सेवाहरूमा २० प्रतिशतदेखि २५ प्रतिशतसम्म छूट प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।
छूट सेवा लिनका लागि चितवन उद्योेग वाणिज्य संघका सदस्य एवम् कर्मचारीले मेदान्त डेन्टल जोन प्रालिमा उपचारका लागि दर्ता वा बिलिङ गराउने समयमा चितवन उद्योग वाणिज्य संघबाट जारी गरिएको आधिकारिक परिचय पत्र पेश गर्नुपर्ने संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराए ।
उक्त समझदारी पत्रमा चितवन उद्योग वाणिज्य संघको तर्फबाट कार्यकारी निर्देशक निलबहादुर के.सी तथा कार्यसमिति सदस्य एवम् स्वास्थ्य समिति संयोजक प्रविन आचार्यले हस्ताक्षर गरेका छन् । मेदान्त डेन्टल जोन प्रालिको तर्फबाट प्रबन्ध निर्देशक आरती आचार्य र म्यानेजर गंगाराम गौतमले हस्ताक्षर गरेका थिए ।
हस्ताक्षर गर्ने कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, कार्यकारी निर्देशक निलबहादुर केसी, कार्यसमिति सदस्य एवम् स्वास्थ्य समिति संयोजक प्रविन आचार्य र मेदान्त डेन्टल जोनबाट प्रबन्ध निर्देशक आरती आचार्य, म्यानेजर गङ्गाराम गौतमको सहभागिता रहेको थियो ।
चितवन । महिलाहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीजका नयाँ–नयाँ गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा ‘यो रातो सारी’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
चितवनको पहिलो रेडियो सिनर्जी एफएमका प्रबन्ध निर्देशक तथा संगितकार सहनलाल प्रधानको सङ्गीतमा रहेको उक्त गीत रेबल क्रियसनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । सदीक्षा कट्टेलको आवाजमा रहेको गीतको शब्द पुष्प आचार्यले लेखेका हुन् भने बिशाल गुरूङ कान्छाले सङ्गीत संयोजन गरेका हुन् ।
गीतको भिडियोमा जुना सुन्दास र कुशल गजमेर फिचर्ड छन् । राजुजंग बस्नेतको निर्देशन र सम्पादन तथा सुमित राजवंशीको नृत्य निर्देशन रहेको भिडियो उत्तम हुमागाईंले खिचेका हुन् । सङ्गीतकार प्रधानले पहिलोपटक तीज गीतमा सङ्गीत भरेको बताएका छन् ।
उनले गीत हेरेर प्रतिक्रिया दिन आग्रह पनि गरेका छन् । प्रधानले यस अघि दर्जनौँ गीतमा सङ्गीत भरिसकेका छन् । उनले तीज गीतमा सङ्गीत भरेको भने यो नै पहिलोपटक हो । 
चितवन । अस्ट्रेलियामा बस्दै आएकी गीतकार यशोदा सापकोटा कार्कीले लेखेको पहिलो तीज गीत ‘ए मैना सुनन’ सार्वजनिक भएको छ । नेपाली संस्कृति, परम्परा र आमा–छोरीबीचको आत्मीय सम्बन्धलाई केन्द्रमा राखिएको गीत तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको हो ।
सिड्नीमा विगत १२ वर्षदेखि बस्दै आएकी कार्की पब्लिक हस्पिटलमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत छन् । तीन सन्तानकी आमा उनी व्यवसायमा समेत सक्रिय छिन् । नेपालबाट टाढा रहे पनि नेपाली संस्कृति र परम्पराप्रतिको आफ्नो सम्बन्धलाई सण्ज्ञठण््गीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले उनले पहिलोपटक तीज गीत लेखेकी हुन् ।
‘ए मैना सुनन’मा निशा कँडेलको स्वर, यशोदा सापकोटा कार्कीको शब्द र टीका दहालको सण्ज्ञठण््गीत रहेको छ । गीतको एरेन्जमेन्ट अल्मोडा राना उप्रेती र मिक्सिङ तथा मास्टरिङ रंगीत बल्लभ उप्रेतीले गरेका हुन् ।
गीतको भिडियोमा बिना राउतको अभिनय रहेको छ । गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा पुनम श्रेष्ठको कोरियोग्राफी, देव दोर्जे लामाको छायाङ्कन, मणिक पाख्रिनको आर्ट डाइरेक्सन तथा प्रबिन भट्टको सम्पादन र कलर रहेको छ ।
भिडियोमा तीजको सांस्कृतिक पक्षसँगै आमा र छोरीबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ । नेपाली महिलाले तीजमा माइती, परिवार र आफ्ना प्रियजनसँग जोडिने भावनालाई गीतले समेटेको निर्माण पक्षको भनाइ छ ।
गीतको भिडियो नियरबाइ क्याटरिङ र निका टेक्नोलोजीको सयुक्त लगानीमा निर्माण गरिएको हो । विदेशमा रहेर पनि नेपाली भाषा, संस्कृति र परम्परासँग जोडिइरहने नेपाली समुदायको भावनालाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको कार्कीले बताएकी छन् ।
निर्माण पक्षका अनुसार ‘ए मैना सुनन’ नेपाली तीजको मौलिकता, पारिवारिक सम्बन्ध र प्रवासमा रहेर पनि मातृभूमिसँग जोडिइरहने नेपाली मनको भावनालाई समेट्ने प्रयास हो । भिडियो नेपाल क्युब नामक युट्युव च्यानलमार्फ सार्वजनिक गरिएको हो ।





