
चितवन । सुविन भट्टराईको सर्वाधिक चर्चित उपन्यासमा आधारित नाटक ‘समर लभ’ ले कान्तिपुर थियटरमा उत्साहजनक सुरूवात गरेको छ । सम्राट भुजेलको निर्देशनमा तयार भएको नाटक साउन २९ गतेदेखि मञ्चन सुरू भएको हो ।
नाटकका पहिलो दुई दिनका चारै शो तीन दिनअघि नै हाउसफुल भएका थिए भने आइतबारका दुवै शोका टिकट पनि अग्रिम बुकिङ भइसकेका छन् । यसअघि कान्तिपुर थियटरले मञ्चन गरेको ‘सेतो धरती’ ले १०१ कीर्तिमानी शो सम्पन्न गर्दै नेपाली रङ्गमञ्चमा नयाँ इतिहास रचेको थियो ।
‘समर लभ’ को अर्को विशेष आकर्षण अभिनेता अर्पण थापा हुन् । नेपाली चलचित्रका चर्चित अभिनेता थापाले यस नाटकमार्फत पहिलोपटक रङ्गमञ्चमा अभिनय गरेका छन् । मुख्य भूमिकामा सागर खनाल, वास्ना तिमिल्सिना, विनिता गिरि, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ र जानकी बजगाईं रहेका छन् ।
कान्तिपुर थियटर नेपाली चलचित्र, साहित्य र रङ्गमञ्चबीचको सेतुका रूपमा स्थापित हुँदै गएको देखिन्छ । अर्पण थापासँगै रेखा थापा, जीवन लुइँटेल, बेनिशा हमाल, सनिशा भट्टराई, मनोज गजुरेललगायत कलाकारहरूले पनि यही थियटरबाट पहिलोपटक रङ्गमञ्चमा अभिनय गरेका थिए । यसले चलचित्रका चर्चित कलाकारहरूलाई रङ्गमञ्चतर्फ आकर्षित गर्दै आएको छ ।
कान्तिपुर फिल्म एकेडेमीको थियटर प्रोडक्सन ‘समर लभ’ बुधबार बाहेक हरेक दिन दिउँसो १ः१५ बजे र साँझ ५ः१५ बजे मञ्चन हुँदैछ । करिब १ घन्टा ५० मिनेट लामो नाटकको टिकट कान्तिपुर थियटरको वेबसाइटमार्फत अनलाइन बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ ।
यसैबीच, कान्तिपुर थियटरको चर्चित नाटक ‘सेतो धरती’ अब विराटनगर, पोखरा र चितवनमा पनि मञ्चन हुने तयारी भइरहेको छ । काठमाडौँमा ‘समर लभ’ र मोफसलमा ‘सेतो धरती’ को मञ्चनले नेपाली रङ्गमञ्चको आयतन अझ फराकिलो बनाउने विश्वास कान्तिपुर थियटरले लिएको छ ।
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–३, लायन्स चोकस्थित फायर क्लबमा दुई समूहबीच झै–झगडा तथा कुटपिट हुँदा चार युवक घाइते भएका छन् ।
घाइतेहरु नवलपुर बौदिकाली गाउँपालिका–१ बस्ने १७ वर्षीय मदन क्षेत्री, भरतपुर–१७ बस्ने २६ वर्षीय रोहन तामाङ, कालिका–९ बस्ने २३ वर्षीय विशाल मगर र कपिलवस्तुको तौलिहवा नगरपालिका–१ बस्ने ३५ वर्षीय सरप राजको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
झै–झगडा गर्नेमध्ये कुटपिट गर्ने भरतपुर–४ बस्ने ३२ वर्षीय हिमाल रसाइली र आवश्यक सोधपुछको लागि क्लबका सञ्चालक भरतपुर–१७ बस्ने ३६ वर्षीय राकेश तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कुटपिट गर्ने समूहका अन्य नामथर वतन नखुलेका व्यक्तिहरु फरार रहेकाले खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।





