
चितवन । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड–२०२६) भव्य रूपमा सम्पन्न भएको छ । समारोहमा निर शाह र विपिन कार्कीलाई उत्कृष्ट अभिनेता र बन्दा मिरुना मगरलाई उत्कृष्ट अभिनेत्री घोषित गरियो ।
त्यस्तै, नविन चौहान उत्कृष्ट निर्देशक तथा ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । पल शाह लोकप्रिय अभिनेता र जसिता गुरुङ लोकप्रिय अभिनेत्री घोषित भए ।
इन्फा इभेन्ट्स नेपाल र इन्फा इभेन्ट्स यूकेको संयुक्त आयोजनामा भएको यस वर्षको अवार्डका लागि २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी चलचित्रमध्ये विभिन्न विधामा उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको थियो । ती मनोनयनबाट निर्णायक मण्डलले उत्कृष्ट विजेता चयन गरेको आयोजकले जनाएको छ ।
अवार्डको निर्णायक मण्डलमा हरिहर शर्मा जुरी संयोजक तथा गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापा जुरी सदस्य रहेका थिए ।
समारोहमा वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठलाई नेपाली कला तथा मनोरञ्जन क्षेत्रमा पुर्याएको दीर्घकालीन योगदानको सम्मानस्वरूप ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो ।
अवार्ड समारोहमा पल शाह, उषा उप्रेती, कविता नेपाली, तेरिया मगर, एलिशा शर्मा, बाबुल गिरी, रिह्यान गिरी, समर्पण लामा तथा मिङ्मा डी लेप्चालगायतका कलाकारले साङ्गीतिक तथा नृत्य प्रस्तुति दिएका थिए । इन्फा अवार्डका बोर्ड अफ डाइरेक्टर तथा अवार्ड कोर्डिनेटर मनिष कार्कीले समारोहले अन्तर्राष्ट्रिय स्तरको अवार्ड समारोह आयोजना गर्न सफल भएको बताए ।





