२०८३ भाद्र ५ शुक्रबार
२०८३ भाद्र ५ शुक्रबार

चितवन । चितवनको भरतपुर–१५, रामपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका १५ स्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जमिनमा रङ्गशाला निर्माण भइरहेको हो ।

भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार चारवटा प्यारापिट संरचनामध्ये तीनवटाको ढलान भइसकेको छ भने एउटाको डन्डी बाँधेर ढलानको तयारी गरिएको छ । यी प्यारापिट दर्शकका लागि बनाइएको हो ।

खेलाडी र विशिष्ट पाहुनाका लागि निर्माण गरिएका दुईवटा टावरमध्ये एउटालाई फिनिसिङ गर्ने काम भइरहेको छ भने अर्कोको अन्तिम ढलान सकिएको छ । दोस्रो टावरको फिनिसिङको काम अब गर्ने तयारी गरिएको छ ।

“मैदानको कामका लागि पाइप आइसकेको छ । भुइँमा पाइप बिछ्याएर माटोले पुरेपछि त्यसमाथि दुबो लगाइने छ । सडकबाट रङ्गशालासम्म जाने बाटोको सबग्रेडको काम सकिएको छ”, इन्जिनियर पोखरेलले भने, “ढलमाथिको ढकन राखिएको छ । कम्पाउन्डको काम सकिएको छ । अहिले दैनिक १०० हाराहारी मजदुरले काम गरिरहेका छन् ।”

महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यका अनुसार महँगी, बजेट निकासामा केही समय लागेको र जेनजी आन्दोलनको समयमा कामले गति लिन नसक्दा लक्ष्यअनुसार प्रगति हुन नसकेको हो । उनका अनुसार हिमालयन–कालिन्चोक–बिबिआर ज्वाइन्टभेन्चरले आगामी पुस मसान्तभित्र सम्पन्न गर्नेगरी २०८१ साल असार २३ गते रु ७८ करोड ५० लाख ९१ हजारमा निर्माण सम्झौता गरेको थियो ।

पछिल्लो समय कामलाई तीव्रता दिइएको बताउँदै इन्जिनियर आचार्यले परियोजनाको वित्तीय साझेदारीअनुसार बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत खर्च व्यहोर्ने सहमति भएको उल्लेख गरे । उनका अनुसार महानगरले व्यहोर्ने खर्चमा भने सङ्घीय सरकारले सहयोग गरेको छ ।

रङ्गशालामा १५ हजार दर्शक क्षमताको प्यारापिट बनिरहेको हो । दुईवटा तीनतले भिआइपी टावर तथा खेलमैदान हुनेछन् । विसं २०७५ माघ १६ गते राजधानीको राष्ट्रियसभा गृहमा चितवनको रामपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको घोषणा गरिएको थियो ।

सुरूमा धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा रङ्गशाला निर्माण गर्ने सहमति गरे पनि काम गर्न नसकेपछि महानगरलाई हस्तान्तरण गरिएको थियो ।

चितवन । जेन्जी चितवन र सिस्टरहुड नेपालको आयोजनामा तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि आज साँझ ५ः३० बजे चितवन जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन हुने भएको छ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा आयोजना गरिएको प्रदर्शनमा घटनाका दोषीलाई कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन माग गरिनेछ।

घटनाको विरोधमा देशभर आवाज उठिरहेका बेला चितवनमा पनि न्यायको माग गर्दै प्रदर्शन गर्न लागिएको हो।

 
 

चितवन । नेपाली समाजमा तीज केवल चाडपर्व र मनोरञ्जनको अवसर मात्र होइन, महिलाले आफ्ना पीडा, भोगाइ र सामाजिक यथार्थलाई गीतमार्फत अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम पनि हो। यही सामाजिक यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको तीज गीत ‘नौ गेडी–२’ सार्वजनिक भएको छ।

उच्च अदालतका पूर्व न्यायाधीश तथा गीतकार भीमकुमार ओझाको शब्दरचना, गायक–संगीतकार सन्तोष बीसीको लय, गायिका टीका सानुको स्वर तथा पूर्ण संयोगको संगीत संयोजनमा तयार भएको गीतले नेपाली बुहारीले भोग्नुपर्ने पारिवारिक पीडा, सामाजिक विभेद र त्यसबीच पनि कायम रहने मायाको सम्बन्धलाई प्रस्तुत गरेको छ। गीत तथा भिडियो ओझाकै च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यसअघि सार्वजनिक भएको ‘नौ गेडी–१’ मा सासु, नन्द, जेठानी र श्रीमान्बाट निरन्तर मानसिक यातना भोगेकी बुहारी आत्महत्याको प्रयाससम्म पुगेर आफ्नी सानी छोरीको मायाका कारण जीवनमा फर्किएको कथा प्रस्तुत गरिएको थियो। त्यसै कथाको निरन्तरताका रूपमा आएको ‘नौ गेडी–२’ मा पनि बुहारीमाथिको पारिवारिक पीडा र हेपाइलाई निरन्तरता दिइएको छ। तर यसपटक उनको जीवनलाई अघि बढाउने सबैभन्दा ठूलो शक्ति बनेको छ, छोरीप्रतिको निर्मल माया ।

गीतले बुहारीलाई परिवारको सदस्यका रूपमा स्वीकार नगर्ने सामाजिक मानसिकतामाथि प्रश्न उठाएको छ। विवाह गरेर आएको महिलालाई केवल ‘बुहारी’का रूपमा हेर्ने, उसमाथि हुने मानसिक तथा पारिवारिक हिंसालाई परम्परा र संस्कारका नाममा सामान्य मान्ने प्रवृत्तिलाई गीतले कथामार्फत उजागर गरेको छ । भिडियोमा टीका सानुले बुहारीको भूमिका निर्वाह गरेकी छन्। उनको अभिनयमा पीडा, मौन विद्रोह र सन्तानप्रतिको आमाको असीम माया देखिन्छ। विशेषगरी संवादभन्दा अनुहार र आँखाको भावमार्फत पीडा व्यक्त गर्ने उनको अभिनय भिडियोको महत्वपूर्ण पक्ष बनेको छ। सानी छोरीको भूमिकामा बालकलाकार रूबिका बास्कोटा देखिएकी छन् । श्रीमान्को भूमिकामा सन्तोष बीसी स्वयं देखिएका छन्। जँड्याहा तथा गैरजिम्मेवार श्रीमान्को चरित्रमार्फत उनले श्रीमतीको पीडा नबुझ्ने पुरुषप्रधान मानसिकतालाई प्रस्तुत गरेका छन् ।

त्यस्तै, सासुको भूमिकामा गीतकार भीमकुमार ओझाकी जीवनसंगिनी देवी ओझा देखिएकी छन्। कठोर र बुहारीलाई निरन्तर दुःख दिने सासुको भूमिकामा उनको अभिनय प्रभावशाली देखिन्छ। आयुष्मा खत्रीले नन्द र लीला थापाले जेठानीको भूमिका निर्वाह गरेका छन्। यी पात्रमार्फत बुहारीले आफ्नै घरभित्रबाट भोग्ने मानसिक दबाब र पारिवारिक यातनालाई चित्रण गरिएको छ।

यसको विपरीत, गीतकार भीमकुमार ओझा स्वयं समझदार र सहानुभूतिशील ससुराको भूमिकामा देखिएका छन्। परिवारका सबै सदस्य एउटै सोचका हुँदैनन् भन्ने सन्देश उनको चरित्रले दिन्छ। कठोर पारिवारिक वातावरणमा पनि मानवता र सहानुभूति बाँकी रहन सक्छ भन्ने आशा उनको भूमिकामार्फत प्रस्तुत गरिएको छ।

भिडियोमा विवाहपछिको सामाजिक अन्धविश्वासलाई समेत कथाको एउटा महत्वपूर्ण पाटो बनाइएको छ। बुहारीलाई घर भित्र्याउने क्रममा जेठाजु ढलेपछि त्यसको दोषसमेत नयाँ बुहारीमाथि थोपरेर उनलाई ‘अलक्षिनी’ ठान्ने मानसिकता प्रस्तुत गरिएको छ। सामान्य घटनालाई समेत महिलामाथि दोष लगाउने आधार बनाउने पुरानो सामाजिक सोचलाई भिडियोले प्रश्न गरेको छ।

समग्रमा ‘नौ गेडी–२’ तीजको मनोरञ्जनमा मात्र सीमित गीत होइन, नेपाली समाजमा बुहारीले भोग्दै आएका पारिवारिक तथा सामाजिक पीडाको चित्रण गर्ने सिर्जना बनेको छ। गीतका शब्दमा पीडा, लयमा संवेदना, टीका सानुको स्वरमा करुणा र दृश्यमा सामाजिक यथार्थ प्रस्तुत गरिएको छ । विशेषगरी सासु, नन्द, जेठानी तथा श्रीमान्बाट बुहारीले भोग्ने यातनालाई कथामार्फत प्रस्तुत गर्दै गीतले एउटा महत्वपूर्ण प्रश्न उठाएको छ, बुहारी पनि कसैकी छोरी हो भन्ने कुरा बुझ्न हामीलाई अझै कति समय लाग्ने हो?

गीतको सबैभन्दा मार्मिक पक्ष भनेको पीडाले थिचिएकी एउटी आमालाई जीवनबाट हार्न नदिने शक्ति अन्ततः आफ्नै सानी छोरीको माया बन्नु हो। यही मायाले उनलाई पीडाबीच पनि बाँच्ने साहस दिन्छ । शब्द, संगीत, स्वर र अभिनयको समन्वयमा तयार भएको ‘नौ गेडी–२’ ले तीज गीतको परम्परागत मनोरञ्जनभन्दा माथि उठेर महिलाको पीडा, मातृत्वको शक्ति र पारिवारिक संवेदनशीलताको सन्देश दिन खोजेको छ। गीत तथा भिडियोले दर्शकलाई मनोरञ्जनसँगै आफ्नै परिवारभित्रको व्यवहारबारे सोच्नसमेत प्रेरित गर्ने देखिन्छ ।

चितवन । ‘कबड्डी’ सिरिजका तीनवटै फिल्मसँगै ‘पुरानो डुङ्गा’, ‘झुम्की’, ‘घामपानी’, ‘मिस्टर झोले’, ‘आप्पा’ र ‘दिमाग खराब’ लगायतका चर्चित तथा सुपरहिट फिल्म निर्माण गरिसकेको प्रतिष्ठित ब्यानर सिनेमा आर्टले नयाँ फिल्म निर्माणको तयारी थालेको छ।

सिनेमा आर्टले नयाँ फिल्मको निर्देशनका लागि निर्देशक सुयोग गुरुङलाई अनुबन्ध गरेको छ। फिल्मका निर्माता रौनक विक्रम कडेलका अनुसार गुरुङसँग फिल्म निर्देशनका लागि सम्झौता भइसकेको हो।

फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ पनि अनुबन्ध भएका छन्। सिनेमा आर्टले बिहीबार निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङसँग औपचारिक रूपमा सम्झौता गरेको हो। पछिल्लो समय निकै रुचाइएको जोडी अनमोल केसी र जसिता गुरुङ पुनः एकसाथ पर्दामा देखिन लागेका हुन्।

यद्यपि, फिल्मको शीर्षक भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। निर्माता कडेलका अनुसार फिल्मको नाम र अन्य विवरण उपयुक्त समयमा सार्वजनिक गरिनेछ। फिल्मको छायांकन आगामी मंसिरदेखि सुरु गर्ने तयारी रहेको उनले बताए।

फिल्मका लागि अन्य कलाकारको छनोट तथा प्रि–प्रोडक्सनको काम पनि अहिले तीव्र रूपमा अघि बढिरहेको निर्माता कडेलले जानकारी दिए। फिल्मको कथा, विषयवस्तु तथा अन्य प्राविधिक पक्षबारे भने निर्माण पक्षले हाल गोप्य राखेको छ।

निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङले पनि सिनेमा आर्टको नयाँ फिल्ममा आफूहरू अनुबन्ध भएको पुष्टि गरेका छन्।

‘ए मेरो हजुर ५’ पछि अनमोल केसी सिनेमा आर्टको नयाँ फिल्ममा व्यस्त हुनेछन्। लामो समयदेखि नेपाली फिल्ममा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको सिनेमा आर्टको नयाँ प्रोजेक्टमा अनमोल र जसिताको जोडी तथा सुयोग गुरुङको निर्देशन रहने भएपछि फिल्मलाई लिएर चासो बढ्न थालेको छ।

चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित दुईदिने बृहत् दन्त शिविर शुक्रबार सम्पन्न भएको छ । विद्यालयको स्वास्थ्य तथा कल्याण विभागको आयोजना तथा चितवन मेडिकल कलेज (सिएमसी) को प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा एक हजार २४३ जना विद्यार्थी तथा शिक्षक–कर्मचारीको दन्त परीक्षण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा अध्ययनरत बालबालिका तथा कार्यरत शिक्षक–कर्मचारीको मुख तथा दन्त स्वास्थ्यको अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श प्रदान गर्ने र समयमै थप उपचारका लागि सचेत गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । मुख स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध समग्र शारीरिक स्वास्थ्य, आत्मविश्वास तथा दैनिक जीवनको गुणस्तरसँग जोडिएको तथ्यलाई मध्यनजर गर्दै विद्यालयले दन्त शिविरलाई आफ्नो वार्षिक स्वास्थ्य कार्यक्रमअन्तर्गत समावेश गर्दै आएको स्वास्थ्य तथा कल्याण विभागकी प्रमुख निर्देशक सरला पौडेलले जानकारी दिइन् ।

उनका अनुसार विशेषगरी बालबालिकालाई सानै उमेरदेखि मुख तथा दाँतको उचित हेरचाह गर्ने बानीको विकास गराउनु आवश्यक छ । नियमितरूपमा दाँत माझ्ने, स्वस्थकर खानपान अपनाउने तथा समय–समयमा दन्त परीक्षण गराउने बानीले भविष्यमा देखा पर्नसक्ने विभिन्न दन्त समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने उनले बताइन् । शिविरमार्फत विद्यार्थीलाई दन्त स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी तथा सचेतना पनि प्रदान गरिएको थियो ।

चितवन मेडिकल कलेजको डेन्टल विभागका प्रमुख डा. उपासना देवको नेतृत्वमा रहेको सात सदस्यीय चिकित्सक टोलीले दुई दिनसम्म विद्यार्थी तथा शिक्षक–कर्मचारीको दाँत र मुखको परीक्षण गरेको थियो । परीक्षणका क्रममा अधिकांश साना विद्यार्थीमा दाँत किराले खाने समस्या देखिएको छ । त्यस्तै ठूला विद्यार्थीहरूमा दाँत बाङ्गोटिङ्गो हुने तथा दाँतको उचित व्यवस्थापन आवश्यक पर्ने समस्या बढी देखिएको थियो ।

चिकित्सकका अनुसार चकलेट, बिस्कुट, मिठाइँ तथा अन्य बढी गुलिया र दाँतमा टाँसिने खानेकुराको अत्यधिक सेवन, मुख तथा दाँतको कमजोर सरसफाइ, फ्लोराइडको कमी र मुख सुख्खा हुनेलगायत कारणले दाँत किराले खाने समस्या देखा पर्न सक्छ । त्यसैले खानेकुरा खाएपछि मुख सफा गर्ने, दिनमा कम्तीमा दुई पटक सही तरिकाले दाँत माझ्ने तथा नियमित दन्त परीक्षण गराउने बानी अपनाउन चिकित्सक टोलीले सुझाव दिएको छ ।

दन्त परीक्षणपछि गम्भीर प्रकृतिका समस्या देखिएका आठ जना विद्यार्थी तथा थप परीक्षण वा उपचार आवश्यक रहेका करिब ५० जना विद्यार्थीलाई विशेषज्ञ उपचारका लागि रिफर गरिएको विद्यालयले जनाएको छ । विद्यालयले भविष्यमा पनि विद्यार्थीको शारीरिक, मानसिक तथा समग्र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

चितवन । पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको छ । यहाँ विगत तीन आर्थिक वर्षमा बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको छ ।

गत आवमा यस अस्पतालको बहिरङ्ग सेवामा मात्र तीन लाख १७ हजार २६६ बिरामीले सेवा लिएका थिए । अस्पतालको तथ्यांकअनुसार आव २०८१-८२ मा दुई लाख ९६ हजार ५३८ तथा आव २०८०-८१ मा दुई लाख ४५ हजार ६९४ बिरामीले बहिरङ्ग सेवाबाट उपचार लिएका थिए । यहाँ दैनिक एक हजार २०० ले बहिरङ्ग सेवाबाट उपचार लिने गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक पुष्पराज आचार्यले जानकारी दिए। अस्पतालले अहिले बहिरङ्ग सेवाबाट २० प्रकारका उपचार सेवा दिँदै आएको छ ।

अस्पतालमा आउने बिरामीमध्ये ८५ प्रतिशत बिरामी स्वास्थ्य बिमाका रहेका छन् । उनका अनुसार गत आवमा दुई लाख ९५ हजार ४९ जनाले स्वास्थ्य बिमाबाट सेवा लिएका थिए । अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउने बिरामीको चाप पनि बढ्दै गएको छ । आकस्मिक कक्षमा आव २०८०-८१ मा १८ हजार १०७ जनाले सेवा लिएकामा आव २०८१-८२ मा २३ हजार ४६० र गत आवमा २७ हजार ६६ जनाले सेवा लिएका जनस्वास्थ्य निरीक्षक आचार्यले बताए।

आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीमध्ये आव २०८०-८१ मा तीन हजार ९८० जना, आव २०८१-८२ मा चार हजार ५२० र गत आवमा चार हजार ६८५ जनाले भर्ना भएर सेवा लिएका थिए ।

यस अस्पतालमा प्रसूति सेवा लिने बिरामीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ । अस्पतालका अनुसार आव २०८०-८१ मा ७५५ जना, आव २०८१-८२ मा ७५२ जना र गत आवमा ९२५ जनाले प्रसूति सेवा लिएका थिए । अस्पतालमा प्रसूति सेवा सुरु भएपछि यस क्षेत्रका महिलालाई भरतपुर अस्पतालसम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यस अस्पतालमा आएका बिरामीको गत आवमा एक हजार २७१ जनाको गम्भीर शल्यक्रिया गरिएको छ । आव २०८१-८२ मा एक हजार ३४ जनाको र आव २०८०-८१ मा एक हजार १८० जनाको गम्भीर शल्यक्रिया गरिएको थियो ।

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–६ स्थित बछौली चोकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

सौराहाबाट टाँडीतर्फ जाँदै गरेको ना १९ प ५९५२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक रत्ननगर–१ बस्ने २३ वर्षीया सम्झना चौधरी रस्कुटरपछाडि सवार रत्ननगर–१ बस्ने २९ वर्षीय अनिल पासवान घाइते भएका हुन् । चालक चौधरीको अवस्था गम्भीर रहेको छ ।

दुवै घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । स्कुटर प्रहरी चौकी बछौलीको नियन्त्रणमा रहेको र उपचारमा स्कुटर चालकका भाइ सञ्जीव महतो संलग्न रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।