
रत्ननगर । रत्ननगर–१, निपनीमा रहेको जिएसटी कलेजले बिबिए दोस्रो सेमेस्टरका विद्यार्थीहरूका लागि कक्षाकोठा भन्दा बाहिरको सिकाइअन्तर्गत सौराहामा ‘कम्युनिटी कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरुलाई व्यावहारिक अनुभव, प्रकृति, समाज, भ्रमण, खेलकुद, प्रयोग र दैनिक जीवनबाट सिक्ने अवसर प्रदान गर्न सो कार्यक्रम आयोजना गरिएको बिबिए कार्यक्रम प्रमुख सौगात गुरूङले जानकारी दिए ।
जिएसटी कलेजका प्राध्यापक प्रज्वल दाहालको संयोजकत्वमा सम्पन्न कार्यक्रमको स्रोत व्यक्ति प्राध्यापक गोपीलाल श्रेष्ठ रहेका थिए । कार्यक्रममा बिबिए दोस्रो सेमेस्टरकी प्रतिष्का बर्तौलाले सामाजीकरणका निकायहरु (परिवार, विद्यालय, राज्य र आमसञ्चार) र प्राकृतिक तथा पर्यावरणीय प्रभावका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । बिबिए दोस्रो सेमेस्टरका विद्यार्थीहरुले विभिन्न रचनात्मक प्रस्तुतिहरु दिएका थिए ।
कार्यक्रममा कलेजका प्राचार्य राजकुमार दाहाल, प्रबन्ध निर्देशक ई. दिवस मैनालीलगायत अध्यापकहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


भरतपुर । भरतपुरका विभिन्न निजी कलेजमा १०ं२ तहमा अध्यापनरत आंशिक शिक्षकहरू श्रम शोषण भएको भन्दै आन्दोलनमा उत्रिने भएका छन् । शनिबार भरतपुरस्थित फोर सिजन पार्टी प्यालेसमा भेला भएका ५४ जना आंशिक शिक्षकले ‘निजी प्लस टु आंशिक प्राध्यापक हकहित सङ्घर्ष समिति, भरतपुर (चितवन)’ गठन गर्दै चरणबद्ध आन्दोलन अघि बढाउने निर्णय गरेका हुन् ।
भूमिश्वर गैरेको अध्यक्षतामा गठित सङ्घर्ष समितिको उपाध्यक्षमा भरत भट्ट, सचिवमा कृष्णप्रसाद रेग्मी, सहसचिवमा अस्मिता पङ्गेनी र कोषाध्यक्षमा मोहन श्रेष्ठ चयन भएका छन् । समितिको सल्लाहकार संयोजकमा मार्तण्ड पौडेल, सल्लाहकारहरूमा रीना गिरी, श्रीकृष्ण अधिकारी, श्रीकृष्ण पौडेल र राजु वि.क.लगायत ३० जना पदाधिकारी, सदस्य तथा सल्लाहकार रहेका छन् ।
शिक्षकहरूले सरकारले सातामा दुई दिन बिदा दिने व्यवस्था गरेपछि निजी कलेजहरूले आंशिक शिक्षकको छ पिरियडबराबरको एक फ्ल्याटलाई पाँच पिरियडमा समायोजन नगरी श्रम शोषण गरेको आरोप लगाएका छन् । उनीहरूले पाँच पिरियडलाई एक फ्ल्याट मानेर पारिश्रमिक दिनुपर्ने माग गरेका छन् ।
कार्यक्रममा बोल्दै शिक्षक भरत भट्टले पाँच पिरियडको एक फ्ल्याट कायम गर्नुपर्ने माग नै अहिलेको मुख्य मुद्दा भएको बताए । उनका अनुसार यो अभियान सञ्चालकविरुद्ध नभई श्रमजीवी शिक्षकको न्यायका लागि गरिएको आन्दोलन हो ।
शिक्षक रवि पौडेलले सञ्चालकहरूले आंशिक शिक्षकलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्नेमा हेप्ने प्रवृत्ति देखिएको बताए । उनले भने– ‘हामीलाई सञ्चालकहरूले कसरी ‘हेर्छन्’ भन्ने भन्दा पनि कसरी ‘हेप्छन्’ भन्ने जल्दोबल्दो समस्या हो ।’
अस्मिता पंगेनीले विद्यालय तहमा नियमानुसार तलब प्राप्त भए पनि १०ं२ मा आइतबारको बिदाको रकम कटाएर तलब दिइँदा शिक्षकहरूमाथि अन्याय हुने बताइन् । कलेजले अभिभावकबाट लिने शिक्षण शुल्कमा कमी नगरे पनि शिक्षकको पारिश्रमिक कटौती गर्नु अन्यायपूर्ण भएको उनको भनाइ छ । उनले यस्तो प्रवृत्तिले देशमै बसेर काम गर्ने सोच भएका युवालाई निरुत्साहित गर्दै बौद्धिक पलायन बढाउन सक्ने चिन्ता व्यक्त गरिन् ।
शिक्षक सरोज लामाले धेरै निजी कलेजमा मानव संशाधन (एचआर) विभागसमेत नभएको र जागिर छाड्दा अनुभवपत्र लिन पनि समस्या हुने गरेको बताए । उनले शिक्षक–कर्मचारीलाई प्रत्येक महिना नियमित तलब दिनुपर्ने माग गरे । अर्का शिक्षक शम्भु बर्तौलाले आफूहरूले अरूलाई अन्याय नगर्न सिकाउने भए पनि शिक्षक स्वयम् नै ठगिनुपरेको गुनासो गरे । शिक्षक कृष्ण पौडेलले विगतका शिक्षक आन्दोलन र अभियानबाट पाठ सिक्दै यसपटक एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
शिक्षकहरूले माग सम्बोधनका लागि महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायमा जाने तथा आवश्यक परे कक्षा बहिष्कार र ‘पेन डाउन’सम्मका कार्यक्रम सञ्चालन गर्ने बताए ।
सङ्घर्ष समितिले आगामी सोमबार हिसानमा मागपत्र बुझाउने र बिहीबार कालोपट्टी बाँधेर अध्यापन गर्ने कार्यक्रम तय गरेको छ । माग सम्बोधन नभए अर्को सातादेखि सम्पूर्ण आंशिक शिक्षकले ‘पेन डाउन’ गर्ने चेतावनी समितिले दिएको छ । सङ्घर्ष समितिका अनुसार भरतपुरस्थित अरोमा स्कुल, अर्किड स्कुल र नारायणी पब्लिक स्कुलले छ पिरियडबराबर एक फ्लाट मानेर तलब भुक्तानी गरेका छन् । यी स्कुलको मनोमानी आफूहरूलाई मान्य नहुने सङ्घर्ष समितिका एक सदस्यले बताए ।
चितवन । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको आयोजनामा ‘फिडब्याक डिजिटाइजेसन’ कार्यशाला गरिएको छ । ब्रिटिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीे मानवीय मूल्य तथा सञ्चार विभागसँगको समन्वयमा तालिमको आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटीले लामो समयदेखि विभिन्न माध्यमहरूबाट सेवा, कार्यक्रम तथा गतिविधिहरूका बारेमा पृष्ठपोषण तथा गुनासा सङ्कलन गरी प्राप्त पृष्ठपोषण तथा गुनासाको उचित सम्बोधन र समुदायको आवश्यकताको आधारमा कार्यक्रममा सुधार गर्दै आइरहेको छ । यसै सन्दर्भमा पृष्ठपोषण तथा गुनासा व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले स्वयम्सेवक तथा कर्मचारीहरुको लागि कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालाको प्रथम सत्रमा कार्यक्रमको उद्देश्यहरूबारे जानकारी तथा रेडक्रस अभियानको इतिहास, सिद्धान्त तथा मानवीय सेवामा नेरेसोको योगदानबारे प्रस्तुति र छलफल गरिएको थियो ।
कार्यक्रममा सामुदायिक संलग्नता र जवाफदेहितासम्बन्धी परिचयात्मक सत्र सञ्चालन गरिएको थियो । साथै, नेरेसोलाई समुदायबाट प्राप्त हुने प्रश्न, जिज्ञासा, गुनासो तथा सुझाव व्यवस्थापनलाई प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘फिडब्याक डिजिटाइजेसन’सम्बन्धी परिचयात्मक तथा व्यावहारिक सत्र सञ्चालन गरिएको थियो ।
सहभागीहरूले डिजिटल माध्यमबाट प्रश्न, जिज्ञासा, गुनासो तथा सुझाव र प्रतिक्रिया सङ्कलन, अभिलेखीकरण तथा व्यवस्थापनका विविध पक्षबारे प्रत्यक्ष अभ्यास गरेका थिए । कार्यक्रममा चितवन जिल्ला शाखा, उपशाखाका स्वयमसेवक तथा कर्मचारीहरुलाई दुई चरणमा गरिएको अभिमुखीकरणमा ५० जनाको सहभागिता रहेको थियो ।
चितवन । गायिका जुनु प्रसाईंको नयाँ गीत ‘झगडा पर्यो पोइसित’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा गायिका प्रसाईसँगै चर्चित कलाकार प्रकाश सपुतको अभिनय रहेको छ।
पूर्वेली लोकलयमा आधारित गीतले आधुनिक प्रस्तुतिसँग लोकसंस्कृतिको स्वादलाई जोडेको छ। मनोरञ्जनसँगै आफ्नो माटो, जन्मभूमि र सांस्कृतिक पहिचानलाई प्रस्तुत गर्ने प्रयास गीत तथा भिडियोमा गरिएको छ।
गीतका शब्द विदुर तिमल्सिना ‘देवदूत’ का हुन् भने संगीत राज सागरले दिएका छन्। गीतको एरेन्जमेन्ट राजन ईशानले गरेका हुन्। गीतको रेकर्डिङ ‘भ्वाइस अफ नेपाल रेकर्डिङ स्टुडियो’मा गरिएको हो।
आफ्नो सांस्कृतिक जरा र जन्मभूमिप्रतिको सम्बन्धबारे जुनु प्रसाई भन्छिन्, “हामी जहाँ गए पनि, जहाँ बसे पनि हाम्रो जरा लोकसंस्कृतिमै जोडिएको हुन्छ। हामी जन्मिएको गाउँ, हुर्किएको ठाउँ र त्यहाँको माटोसँग हाम्रो पहिचान जोडिएको हुन्छ। त्यसैले हामीले आफ्नो जन्मभूमि र संस्कृतिलाई सधैं सम्मान गर्नुपर्छ र त्यसप्रतिको माया कहिल्यै गुमाउनु हुँदैन।”
यही सोचलाई आफ्नो सांगीतिक यात्रामार्फत अघि बढाउँदै आएकी प्रसाईले पूर्वी नेपालको लोकसंस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरिरहेकी छन्। उनका लागि लोकसंगीत एउटा विधा मात्र नभई माटो, संस्कृति र पहिचानसँग जोडिएको माध्यम हो।
भिडियोको निर्देशन तथा निर्माण हरि हुमागाईंले गरेका हुन्। भिडियोमा जुनु प्रसाई र प्रकाश सपुतसँगै अन्य कलाकारको समेत अभिनय रहेको छ। रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् भने मेकअप आर्टिस्ट माही सिंहको योगदान रहेको छ।
भिडियोको छायांकन काठमाडौंको सुन्दर पर्यटकीय क्षेत्र फर्पिङमा गरिएको हो। प्राकृतिक सौन्दर्य र सांस्कृतिक परिवेशलाई भिडियोमा समेटिएकाले यसको दृश्यात्मक पक्ष थप आकर्षक देखिएको छ।
शास्त्रीय, सेमी–क्लासिकल, रोमान्टिक, आधुनिक तथा पपलगायत विभिन्न शैलीका गीतमा आफ्नो गायन क्षमता प्रस्तुत गरिसकेकी जुनु पछिल्लो समय पूर्वेली लोक तथा आधुनिक लोकसंगीततर्फ बढी केन्द्रित हुँदै गएकी छन्। विशेषगरी पूर्वी नेपालको लोकजीवन र सांस्कृतिक सुगन्धलाई नयाँ पुस्तासम्म पुर्याउने उनको प्रयासले सांगीतिक यात्रालाई थप फराकिलो बनाएको छ।
‘झगडा पर्यो पोइसित’मार्फत जुनुले एउटा गीत मात्र प्रस्तुत गरेकी छैनन्, आफ्नो माटो, जन्मभूमि र लोकसंस्कृतिप्रतिको प्रेमलाई समेत नयाँ पुस्तासामु पुर्याउने प्रयास गरेकी छन्। पूर्वेली लोकभाकालाई आधुनिक पुस्तासँग जोड्ने उनको निरन्तर प्रयासले उनलाई यस क्षेत्रमा थप स्थापित गराउने अपेक्षा गर्न सकिन्छ।





