२०८३ भाद्र १२ शुक्रबार
२०८३ भाद्र १२ शुक्रबार

चितवन । तिब्बतबाट आएको बाढी तथा पहिरोका कारण भोटेकोशी नदीमा बगेको मृतकको शवबाट कानको सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

भाइरल भिडियोमाथि अनुसन्धान गर्ने क्रममा भिडियोमा देखिएका व्यक्तिहरूको पहिचान गरी प्रहरीले २०८३ भदौ ११ गते चितवनको भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर–१ लीलाचोकमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर–२, पोखरा बसपार्क सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

 
 

भरतपुर । नेपाल लेयर्स कुखुरा पालक संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा बाढी प्रभावितको राहतका लागि संघले कोषमा सहयोग गरेको हो ।

संघका अध्यक्ष विनोद पोखरेलले रसुवा बाढीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान् गरेपछि संघले १० लाख रुपैयाँ सहयोग गरेको बताए ।

बुधबार चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायतका जिल्लामा भएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति अध्यक्ष पोखरेलले दुःख व्यक्त गरे । उनले भने, ‘हामी नेपालको इतिहासमै त्रासदीपूर्ण घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

संघले भूकम्पलगायतका प्राकृतिक विपत्तिहरुमा सहयोग गर्दै आएको स्मरण गर्दै अध्यक्ष पोखरेलले व्यवसायसँग राष्ट्रका लागि परेको विपत्तिमा थोरै भए पनि संघले सहयोग गरेको बताए ।

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकास्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा प्रगति विवरणबारे बिहीबार छलफल तथा अन्तर्क्रिया गरिएको छ ।

कार्यक्रममा २०८२–०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिकास्तरीय समीक्षा एवम् कार्यप्रगतिबारे स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले प्रस्तुत गरेका थिए । उनले स्वास्थ्यका सूचकहरु अघिल्लो वर्षभन्दा राम्रो रहेको बताए । उनले स्वास्थ्य संस्थाको भौतिक संरचना र कोठाहरुको व्यवस्थापन गर्न सकिए अझै अङ्क बढ्ने बताए ।

कार्यक्रममा स्वास्थ्यचौकी, नगर स्वास्थ्यकेन्द्र र आधारभूत स्वास्थ्यकेन्द्रका प्रमुखहरुले आआफ्नो वडामा आर्थिक वर्ष २०८२–०८३ मा भए–गरेका स्वास्थ्यसेवासम्बन्धी कार्यक्रमहको अद्यावधिक विवरण प्रस्तुत गरेका थिए । उनीहरुले पालिकाका १५ वटा स्वास्थ्य संस्थाको वडास्तरीय समीक्षा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले स्वास्थ्यसम्बन्धी प्रगति विवरण समयमै अद्यावधिक गर्न र नगरवासीलाई उत्कृष्ट सेवा प्रवाह गर्नका लागि सचेतनासहित समुदायमा केन्द्रित हुन स्वास्थ्यकर्मीहरुलाई सुझाव दिए । उनले स्वास्थ्यकर्मी साथीहरुको लगाव, क्षमता र अनुभवका कारण स्वास्थ्य क्षेत्रमा रत्ननगरको नतिजा राम्रो रहेको र आगामी दिनमा पनि आपसी सहयोग र राय लिई स्वास्थ्य सेवाका सूचकहरुको अद्यावधिक गर्न अनुरोध गरे ।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले सेवाग्राहीलाई विश्वासमा लिएर काम गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिँदै सेवा प्रवाहका क्रममा कर्मचारीको व्यवहार शिष्ट र मर्यादित हुनुपर्नेमा जोड दिए । रत्ननगरको स्वास्थ्यसेवामा ७५ प्रतिशत सेवाग्राही सन्तुष्ट रहेको आफ्नो अनुसन्धानमा पत्ता लागेको भन्दै उनले त्रुटिरहित नतिजा प्रवाह गर्न आग्रह गरे । उनले भने, ‘कार्यतालिका बनाएर समयमै काम गर्नुहोस्, जनप्रतिनिधि र सरोकारवालाको सहभागितामा स्वास्थ्यका सूचकहरु बढाउने गरी काम गर्नुहोस् । गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्नुहोस् ।’

स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाको संयोजकत्वमा भएको कार्यक्रम स्वास्थ्य शाखाकी नर्सिङ इन्चार्ज अम्बिका पौडेलले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा सहजकर्ताका रुपमा जनस्वास्थ्य कार्यालय चितवनका तथ्याङ्क अधिकृत इन्द्रमणि भण्डारीले स्वास्थ्यकर्मीहरुलाई योजना बनाएर स्वास्थ्य कार्यक्रमको विवरण अद्यावधिक गर्न सुझाव दिए । स्वास्थ्यका सूचक निकाल्ने विषयमा ढिलासुस्ती गर्न नहुने् बताउँदै उनले वडाका जनप्रतिनिधिहरुसँग बसेर छलफल गरी कार्यक्रम गर्न र आपसी सहयोग र समन्वय गरी रजिस्टरमा विवरण अद्यावधिक गर्न जोड दिए ।

रत्ननगर । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण विपत्तिमा परेका नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माणका लागि रत्ननगर नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ३२ लाख रुपैयाँभन्दा बढी रकम सहयोग गर्ने घोषणा गरेको छ । नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले राहत सहयोग जुटाउने निर्णय गरेको हो ।

विपद्को वर्तमान घडीमा अग्रसरता देखाउँदै नगरका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूले आफ्नो सेवा–सुविधा र पारिश्रमिकबापत तीन दिनबराबरको अंश कट्टा गरी योगदान गर्ने भएका हुन् ।

सहयोग सङ्कलनका क्रममा नगरप्रमुख प्रलाद सापकोटाले आफ्नो तीन महिनाको सेवासुविधाबापतको ९९ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्दै भनेका छन्, ‘भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिले अत्यन्तै दुःखी र मर्माहत बनाएको छ । यस दुःखद् घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र उपचार तथा स्वास्थ्यलाभको कामना गर्दछु ।’

‘यस विषम परिस्थितिमा म रत्ननगरको नगरप्रमुखको हैसियतले आफ्नो जिम्मेवारी र मानवीय कर्तव्य सम्झँदै मेरो तीन महिनाको सेवा–सुविधाबापत प्राप्त हुने रकम नगद ९९ हजार रुपैयाँ राज्यकोषमा जम्मा गरेको छु’, उनले फोनपेमार्फत रकम हस्तान्तरण गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उपप्रमुख यादवप्रसाद पाठकले पनि सेवासुविधाबापत १० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएका छन् । यस्तै, जनप्रतिनिधितर्फबाट वडा नं–३ का अध्यक्ष एवम् सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले एक महिनाको सुविधाबापतको २७ हजार रुपैयाँ, अन्य १५ जना वडाध्यक्षले जनही ५ हजार रुपैयाँ र कार्यपालिका तथा वडा सदस्यहरूले जनही दुई हजार ५०० रुपैयाँका दरले रकम जुटाउने भएका छन् ।

नगरपालिकाका स्थायी तथा करार कर्मचारी र शिक्षकहरूले सामूहिकरूपमा २५ लाख रुपैयाँभन्दा बढी राहत सङ्कलन गर्नेछन् भने नगरपालिकाको नगर तथा वडा विपद् कोषबाट थप ५ लाख रुपैयाँ विनियोजन गरिने प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूबाट सङ्कलित रकम एकमुष्टरूपमा प्रधानमन्त्री राहत कोषमा पठाइने छ । उनले विपद् प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउन सम्पूर्ण नगर परिवार एकजुट भएर लागेको उनले बताए ।

नगरपालिकाले नगरभित्रका सम्पूर्ण संघसंस्था, समाजसेवी, उद्योगी, व्यवसायीलगायतलाई विपद्को पीडामा मलम लगाउन यथाशक्य सहयोग गर्न आह्वान् गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।