
खैरहनी । खैरहनीमा रहेको ग्लो साइन एकाडेमीले भोटेकोशी बाढीप्रभावितको सहयोगार्थ राहत सङ्कलन गरेको छ । बाढीपहिरोका कारण प्रभावित भएका परिवारलाई राहत पुर्याउने उद्देश्यले विद्यार्थीहरू स्वयम् अग्रसर भई ७४ हजार ८८० रुपैयाँ सङ्कलन गरेका थिए । सो रकम बिहीबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका जम्मा गरिएको छ ।
यसैगरी, ग्लो साइनका विद्यालय प्रशासन र शिक्षकहरुबाट एक लाख ८ हजार ६२५ रुपैयाँ सङ्कलन भएको छ । विद्यार्थीहरुबाट सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको र शिक्षक तथा विद्यालय प्रशासनबाट सङ्कलित रकम प्याब्सन चितवनमार्फत् प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने विद्यालयका प्रधानाध्यापक टेकराज अधिकारीले जानकारी दिए ।
विपद्को बेला विद्यार्थीहरू स्वयम् सक्रिय हुँदै आफनो खाजा खर्च र आफ्नो बचतबाट मानवीय संवेदनाअनुसार सहयोग गर्ने कार्य उदाहरणीय भएको प्रधानाध्यापक अधिकारीले बताए ।
चितवन । दुग्ध किसानको बक्यौता भुक्तानी र उत्पादनको ठूलो मात्रा मौज्दातसहित वित्तीय सङ्कटबीच लामो समयदेखि गुज्रिरहेको दुग्ध विकास संस्थान (डिडिसी) ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
संस्थालने दूध लिएबापतको रकम किसानलाई नियमित रुपमा भुक्तानी दिने व्यवस्था सुनिश्चित गरी दुग्ध सङ्कलन तथा दुग्धजन्य पदार्थको बिक्री केन्द्र विस्तार गरेर दैनिक एक लाख ५० हजार लिटर सङ्कलन गर्ने मह¤वाकाङ्क्षी लक्ष्य लिएको हो । किसानबाट दैनिक ६५ हजार लिटर दूध खरिद गर्दै आएको संस्थानले अब थप ८५ हजार लिटर वृद्धि गर्ने लक्ष्य लिएको बताएको छ ।
संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले नियमित भुक्तानी व्यवस्थासहित दुग्ध किसानलाई विश्वासमा लिएर उत्पादन तथा बिक्रीवितरणका दृष्टिले उपयुक्त स्थानको पहिचान गरी देशव्यापीरूपमा सञ्जाल विस्तार गरी लक्ष्य हासिल गर्ने योजना रहेको बताए ।
देशका प्रधानमन्त्रीसहित नेपाल सरकारबाट डिडिसीको बजार प्रवद्र्धनमा अमूल्य योगदान भएकामा गर्व गर्दै महाप्रबन्धक डा. पाण्डेले भने, ‘सम्माननीय प्रधानमन्त्रीले खुलेरै डिडिसीको महत्त्वसहित प्रचार गर्नुभएको छ । यसबाट हामी थप उत्साहित भएका छौँ । अहिले परिस्थिति अनुकूल भएकाले स्पष्ट लक्ष्य–योजनासहित परिणाम देखिनेगरी काम गर्नुपर्ने दायित्व थपिएको छ । सरकार र आमउपभोक्ताको अपेक्षाअनुसार गुणस्तरीय उत्पादनसहित डिडिसीलाई आर्थिकरूपले सबल बनाउने छौँ ।’
सहकारी संयन्त्रमार्फत सीमित स्थानमा मात्र दूध सङ्कलन हुँदै आएको र किसानले समयमै दूधको मूल्य नपाएको अवस्थालाई सम्बोधन गर्ने पक्षमा संस्थान रहेको स्पष्ट गर्दै पाण्डेले भने, ‘दूध उत्पादनका हिसाबले सम्भावना भएका स्थानमा आवश्यक पूर्वाधारको व्यवस्था गरी सङ्कलन केन्द्र विस्तार गर्नेछौँ । यसअघिको बक्यौता छिट्टै फरफारक गरी नियमित रुपमा भुक्तानीको व्यवस्था सुनिश्चित गरी किसानको विश्वास जित्नेछौँ । मात्रात्मक एवं गुणात्मक दृष्टिले दूधको सङ्कलन, उत्पादन तथा बिक्रीवितरणमा जोड दिई लक्ष्य पूरा गर्नेछौँ ।’
संस्थाले किसानको बक्यौता घटाउनुका साथै दूध सङ्कलन तथा बिक्रीदर बढेको भन्दै पछिल्ला दिनमा दुग्धजन्य वस्तुको मौज्दात घटाएको र नयाँ बजारसहित निर्यातका सम्भावना खोज्न थालेको उहाँले बताउनुभयो । आफूले गत वैशाख १८ गते जिम्मेवारी सम्हाल्दा संस्थानसँग करिब ६०० टन धुलो दूध (मिल्क पाउडर), ५०० टन बटर र १० टन पनिर मौज्दात रहेको जानकारी दिँदै त्यसलाई बजारीकरण गरेर मौज्दात घटाइएको उनले बताए । महाप्रबन्धक डा पाण्डेले भने, ‘चार महिनाअघि किसानलाई करिब रु ७२ करोड भुक्तानी दिन बाँकी थियो, डिडिसीका कुनै पनि उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने अवस्था थिएन । तर, अहिले बक्यौता रु २० करोडमा झरेको छ र उत्पादित वस्तु विदेशमा बिक्रीवितरण भइरहेको छ, यसबाट अपेक्षा गरिएअनुसारको परिणाम दिन सकिन्छ भन्ने विश्वास लिएको छु ।’
यसैगरी, करिब ६०० धुलो दूधको मौज्दात घटेर करिब १२० टनमा झरेको, ५०० टन हाराहारीमा रहेको बटरको मौज्दात १२५ टन बाँकी रहेको र पछिल्लो तीन महिना १५ दिनभित्र संस्थानले करिब रु ७० करोड भुक्तानी गरिसकेको डा. पाण्डेले जानकारी दिए ।
डिडिसीले नियमित रूपमा दूध खरिद गरिरहेकाले भुक्तानी बाँकी रहने रकमलाई क्रमशः व्यवस्थापन गर्दै लैजाने उनको भनाइ छ । आफू महाप्रबन्धक हुँदा आठ महिनाको भुक्तानी बाँकी रहेकामा अहिले दुई महिनाको मात्र बाँकी रहेको उनले जानकारी दिए । उनले भने, ‘अब मासिक र त्यसपछि १५ दिनमा किसानलाई भुक्तानी दिने गरी काम गर्दैछौँ ।’
संस्थानले बजार विस्तारलाई पनि प्राथमिकतामा राखेर काम गर्दै आएको छ । काठमाडौँमा यसअघि ‘डेडिकेटेड’ बिक्री काउन्टर नभएको भन्दै उनले अहिले डिडिसीका मात्रै १५ वटा डेडिकेटेड काउन्टर सञ्चालनमा ल्याइएको बताए । यसअघि दैनिक रु ५० देखि ६० लाख हाराहारीको कारोबार हुने गरेकामा अहिले करिब रु एक करोडको कारोबार हुन थालेको छ । दूध बिक्रीमा वृद्धि भएको उनले बताए ।
काठमाडौँमा दैनिक दूध बिक्री करिब ६० हजार लिटरबाट बढेर अहिले ७२ हजार लिटर पुगेको छ । त्यस्तै, दैनिक दूध सङ्कलन ५० हजार लिटर हाराहारीबाट बढेर ६५ हजार लिटर पुगेको छ ।
हाल दूध उत्पादनको तुलनामा औपचारिक बजारमा खपत कम हुने अवस्था रहेको छ । चाडपर्व तथा गर्मी मौसममा घरमै दूध, दही, खीरलगायतका परिकारमा बढी प्रयोग हुने भएकाले औपचारिक बजारमा दूधको खपत घट्ने गरेको उनको भनाइ छ ।
संस्थानले आन्तरिक बजारसँगै अन्तर्रारष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति विस्तार गर्न थालेको भन्दै उनले खाडी मुलुकमा घ्यू निर्यात सुरू भइसकेको बताए । हालै ५०० किलो घ्यु दुबईमा निर्यात गरिएको र वार्षिक ५० हजार किलो घ्यु निर्यात गर्ने सम्झौता भएको महाप्रबन्धक पाण्डेले जानकारी दिए ।
उनका अनुसार चिज र पेडाको समेत माग विदेशबाट आउन थालेको छ । दक्षिण कोरिया, मलेसिया र जापानमा डिडीसीका उत्पादन निर्यातका लागि छलफल भइरहेको पाण्डेले जानकारी दिए ।
उनले भने, ‘बजारको मागअनुसार नयाँ उत्पादन थप गर्ने तयारीमा हामी लागेका छौँ ।’ हाल संस्थाले करिब २० प्रकारका उत्पादन गर्दै आएकामा ‘स्लाइस चिज’ लगायतका उत्पादन बजारमा ल्याउने तयारी भइरहेको छ ।
बजारमा यस्ता चिजको माग उच्च भए पनि हाल निजी क्षेत्र वा विदेशबाट आयात हुँदै आएको पाण्डेले बताए । मोफसलमा उत्पादन र बजार विस्तार गर्ने रणनीतिअन्तर्गत पोखरामा उत्पादन गर्ने गरी सम्झौताको प्रक्रिया अघि बढाइएको छ । संस्थाको मुख्य समस्या कर्मचारी सङ्ख्या बढी हुनु र दूध सङ्कलन तथा बजारबीच उचित तालमेल नहुनु रहेकाले यसलाई व्यवस्थापन गर्दै अघि बढेको उनले बताए । डिडिसीमा करिब ८०० कर्मचारीहरु छन् ।
डिडिसीमा हाल करिब एक अर्ब २६ करोड रुपैयाँ ऋण रहेको भन्दै उनले आगामी एक वर्ष छ महिनाभित्र ऋण तिर्ने लक्ष्यसहित काम अघि बढाएको बताए । डा. पाण्डेका अनुसार पछिल्लो अवधिमा मात्रै डिडिसीले करिब रु तीन करोड ऋण तिरेको छ । खर्च नियन्त्रण र वित्तीय अनुशासनमा सुधार ल्याउँदै संस्थालाई क्रमशःआत्मनिर्भर बनाउने योजना रहेको उनको भनाइ छ ।
चितवन । चिकित्सकहरुले बाढीपहिरोपछि आँखामा समस्या हुनसक्ने जनाउँदै सावधानीका लागि अनुरोध गरेका छन् ।
नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालकी मेडिकल निर्देशक डा. पुष्पा गिरी श्रेष्ठ दूषित पानीले आँखा रातो हुने, सुन्निने, पिप जम्ने, चिलाउने, चोटपटक लाग्ने, दृष्टि धमिलो हुनेजस्ता सङ्क्रमणको जोखिम उच्च हुने बताउँछिन् । अहिले भोटेकोशीको बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका बासिन्दा प्रभावित भएको जनाउँदै आँखाको सुरक्षामा ख्याल गर्न उनको सुझाव छ ।
उनी भन्छिन्, ‘आँखामा कुनै समस्या देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्छ ।’ सकेसम्म आँखालाई दूषित पानी र वातावरणबाट जोगाउनुपर्ने जनाउँदै उनले सम्भव नभए तत्काल सफा गरेर समस्या देखिएमा परीक्षण गर्नुपर्ने बताइन् ।
यसैबीच, भरतपुर आँखा अस्पतालले बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा दिएको छ । अस्पतालका अध्यक्ष एवम् संघका सभापति जयराम श्रेष्ठले संघद्वारा सञ्चालित आँखा अस्पतालमा प्रभावितलाई निःशुल्क सेवा दिइएको बताए ।
अस्पतालको धादिङको सल्यानटार, बेनीघाट, चितवनको कुरिनटार, तनहुँको आँबुखैरहनीमा उपचार केन्द्र रहेको छ । भरतपुर आँखा अस्पतालमा आएर सेवा लिनसक्ने उनले बताए ।
सभापति श्रेष्ठले प्रभावित क्षेत्रमा शिविरको आवश्यकता भएमा एकल वा अन्य संघसंस्थासँग साझेदारीमा शिविरमार्फत निःशुल्क सेवा दिइने बताए ।
चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डिएनए परीक्षणमार्फत भए पनि शव पहिचान हुने आशामा छन् ।
भरतपुर–१० स्थित चितवन उद्योग संघको परिसरमा बाढीमा हराइरहेका व्यक्तिका आफन्तहरूको डिएनए नमुना (रगत) सङ्कलन कार्य जारी छ । जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर (सेवा इकाइ चितवन) र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा हराएका आफन्तबाट रगतको नमुना सङ्कलन भइरहेको छ ।
बारा कलैयाका भगवान् शर्मा भोटेकोशीको बाढीपछि छोरा हराएपछि सम्भावित स्थानमा खोजी गर्दै भौँतारिरहेका छन् । छोराको कुनै पत्तो नपाएपछि डिएनए परीक्षण गराएमा पहिचान हुनसक्छ कि भन्ने थाहा पाएर उनी नागरिकताको फोटोकपी र आफ्नो फोटोसहित चितवन आइपुगेका छन् ।
डिएनए नमुना दिए पनि उनको मन अझै ढुक्क हुन सकेको छैन । यदि शव नै रहेछ भने पनि पहिचान त होला भनेर उनले डिएनए नमुना त दिए, तर उनको मनमा अझै पनि छोरा जीवितै भेटिने आशा भने बाँकी नै छ ।
यस्तै, बर्दियाका रामबहादुर थारू पनि हराइरहेका छोराको खोजीमा एक सातादेखि चितवनमा छन् । आफ्ना छोरासहित १६ जना साथीहरू बाढीमा हराएको बताउने थारूले धेरै शव हेरे पनि छोरालाई भेट्टाउन सकेनन् । ‘सासको आश मरे पनि लास भए पनि भेटिन्छ कि भनेर डिएनएमिल्छ कि भनेर रगत दिएको हुँ’, उनी आफ्नो पीडा पोख्छन् ।
थारूलाई अझै पनि छोराहरू हराएकै स्थानमा पुगेर खोज्ने इच्छा छ । छोराले काम गर्ने कम्पनी काठमाडौँमा रहेको र कम्पनीसँग सल्लाह गरेर त्यहाँ जाने तयारीमा रहेको उनले बताए । कम्पनीले पनि खोजीमा सहयोग गरिरहेको जनाउँदै उनले कम्पनीले घटनास्थलसम्म जाने व्यवस्था मिलाइदिए हुन्थ्यो भन्ने चाहना व्यक्त गरे ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका पहिचान नभएका शवबाट डिएनए नमुना निकालिएको छ । उनले यहाँ आफन्तबाट सङ्कलन गरिएको नमुना र शवको डिएनए मिलान गराउनका लागि रगत सङ्कलन भइरहेको जानकारी दिए । यहाँ सङ्कलित नमुना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइने उनले बताए ।
नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलले हराइरहेका व्यक्तिको पहिचानका लागि शवबाट मुख्य रूपमा दाँत र हड्डीका नमुना सङ्कलन गरिएको र त्यसको नमुनाबाट डिएनए प्रोफाइल तयार गरी आफन्तको डिएनएसँग सफ्टवेयरमार्फत म्याचिङ गराइने बताए ।
उनले भने, ‘पहिलो प्राथमिकतामा बुबाआमा वा छोराछोरी (पहिलो तहका आफन्त)को डिएनए नमुना आवश्यक पर्छ । यदि पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमुना प्रयोग गरेर पनि परीक्षण गर्न सकिन्छ ।’
नेपाल प्रहरीले पहिचान नभएका र बेवारिसे अवस्थामा रहेका शवलाई आफन्तजनको जिम्मा लगाउन स्वदेश तथा विदेशमा रहेका मृतकका परिवारलाई डिएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ । स्वदेशमा रहेका परिवारका लागिस् चितवन बाहिर रहेका आफन्तले आफ्नो पायकपर्ने जिल्ला प्रहरी कार्यालय वा नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्याथोलोजी ल्याबमा दुईप्रति पासपोर्ट साइजको फोटोसहित सम्पर्क गरी ताजा रगतको नमुना दिन सक्नेछन् ।
विदेशमा रहेका आफन्तका लागि विदेशमा रहेका पहिलो तहका नातेदारले सम्बन्धित देशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग वा बसोबास गरिरहेकै देशमा डिएनए प्रोफाइल तयार गरी सोको ‘सफ्ट कपी’ नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन सकिने छ ।





