२०८३ आश्विन ३ शनिबार
२०८३ आश्विन ३ शनिबार

चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा तेस्रो संस्करणको त्रिदिवसीय ‘अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ आयोजना हुने भएको छ ।

संयुक्त राष्ट्रसंघमा उठ्ने विभिन्न विषयवस्तुबारे विद्यार्थीलाई अध्ययन तथा अनुसन्धान गर्न उत्प्रेरित गर्ने उद्देश्यले असोज ३ गते शनिबारदेखि असोज ५ गतेसम्म कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमबारे एकेडेमीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

कार्यक्रममा चितवन र नवलपुरका १२ विद्यालयका २०० विद्यार्थी सहभागी हुने कार्यक्रम रहेको विद्यालयका प्रिन्सिपल मुन एड्भाइजर सुमन पौडेलले जानकारी दिए । उनका अनुसार संयुक्त राष्ट्रसंघमा उठ्ने विभिन्न छवटा कमिटीको प्रतिनिधित्व गर्दै विद्यार्थीहरुले अध्ययन, अनुसन्धान तथा बहस गर्नेछन् । यस्ता नयाँ प्रकृतिका कार्यक्रमले विद्यार्थीको रचनात्मक क्षमता विकास गर्नुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने अपेक्षा गरिएको एड्भाइजर पौडेलले बताए ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्अन्तर्गत ‘उदीयमान रणनीतिक क्षेत्रमा महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा : अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथिका खतराको सम्बोधन’ विषयमा छलफल हुनेछ । त्यस्तै, मानवअधिकार परिषद्अन्तर्गत ‘अफगानिस्तानमा विद्यमान प्रणालीगत हिंसा तथा मानवअधिकार उल्लङ्घनको सम्बोधन’ विषयमा विद्यार्थीले बहस गर्नेछन् ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी) अन्तर्गत ‘एल निनो र ला निनासँग सम्बन्धित चरम मौसमी घटनाविरुद्ध विश्वव्यापी जलवायु लचिलोपनको सुदृढीकरण’को विषयमा पनि छलफल हुनेछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) अन्तर्गत ‘उदीयमान प्रविधिमार्फत द्वन्द्व र सङ्कटको अवस्थामा शिक्षाको अधिकारको संरक्षण’ विषय कार्यक्रममा समेटिएको छ । यसैगरी, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)अन्तर्गत ‘चिकित्सा क्षेत्रमा भएका नवीन आविष्कारमा असमान पहुँचका कारण सिर्जित विश्वव्यापी स्वास्थ्य असमानताको रोकथाम’को सवालमा विद्यार्थीहरुले आआफ्ना धारणा प्रस्तुत गर्नेछन् ।

यसैगरी संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)अन्तर्गत ‘कृत्रिम बुद्धिमत्ताको युगमा अनलाइन शोषणविरुद्ध बालबालिकाको सुरक्षा संयन्त्रको सुदृढीकरण’ विषयमा पनि बहस हुनेछ । छवटै विषयमा कमिटीका सभापति, उपसभापति तथा प्रतिनिधिले अध्ययन, अनुसन्धान र छलफल गर्ने कार्यक्रम रहेको महासचिव रिताकुमारी उपाध्यायले जानकारी दिइन् ।

नवलपुर–१ का प्रतिनिधिसभा सदस्य राजन गौतमको प्रमुख आतिथ्यतामा हुने उद्घाटन कार्यक्रममा आदर्श गृहकी संस्थापक एवम् नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मीनाकुमारी खरेल, चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ प्रा.डा.अनिल आचार्य, सेवा निवृत्त मेजर शैलजा श्रेष्ठ केसी, डेजी इङ्ग्लिस स्कुलका प्रिन्सिपल प्रेम रिमाल, बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्कीलगायतको विशिष्ट आतिथ्यता रहने बताइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।