२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति र विचारका लागि खुलामञ्च आवश्यक रहेको बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार खुलामञ्चमा सम्बोधन गर्दै सभापति थापाले जनताका जिज्ञासा र प्रश्नको छलफलका लागि मुलुकलाई खुलामञ्च आवश्यक रहेको बताएका हुन् ।

“दस वर्षपछि खुलामञ्च खुलेको छ, यो काठमाडौँको एउटा चौर मात्रै होइन, नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अगाडि बढाएका छन्”, सभापति थापाले भने ।

सभापति थापाले जननायक बिपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालेसमेत यही खुलामञ्चबाट ऐतिहासिक राजनीतिक घटनासम्बन्धी भाषण गरेको स्मरण गर्दै खुलामञ्चले फरक विचार तथा मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको उल्लेख गर ।

“खुलामञ्चले मतभेदलाई एकैठाउँमा राख्न सहयोग गर्छ”, सभापति थापाले भने । उनले फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बताए । फरक प्रसङ्गमा सभापति थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताए । उक्त प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको तथा त्यसकै परिणाम गत भदौ २३ र २४ गतेको घटना घटेको उनको धारणा थियो ।

सभापति थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति फेरि नेतृत्वमा दोहोरिरहने र मन्त्री बनेका व्यक्ति पनि पटकपटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको उल्लेख गरे ।

‘विगतका कमजोरीको समीक्षा गर्दै अगाडि बढ्छौँ’

सभापति थापाले विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा गएको तर परिणाम आफ्नो पक्षमा आउन नसकेको बताए । कांग्रेसले यसअघि पनि विभिन्न निर्वाचनमा हार र जीत व्यहोर्दै आएको उल्लेख गर्दै उनले अहिले पार्टी नयाँ महाधिवेशनको चरणमा प्रवेश गरेको बताए ।

“विशेष महाधिवेशनपछि चुनावमा गयौँ, तर हाम्रो पक्षमा परिणाम आएन, कांग्रेसले धेरै चुनावमा हार्ने र जित्ने गरेको छ, अब नयाँ महाधिवेशनमा होमिएका छौँ”, सभापति थापाले भने ।

सभापति थापाले १५औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने बताए । जनतामा बढेको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास चिर्न कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र राजनीतिक कार्यशैलीमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

सभापति थापाले लोकतन्त्र र जनतालाई प्रत्यक्ष सेवा तथा परिणामसँग जोड्ने पुलको काम कांग्रेसले गर्नुपर्ने बताए । मुलुकमा लामो राजनीतिक सङ्घर्ष र परिवर्तन भए पनि रोजगारी सिर्जना, युवा पलायन रोक्ने र जनताको जीवनस्तर सुधार्ने विषयमा अब सबै राजनीतिक दल मिलेर गम्भीर समीक्षा गर्नुपर्ने उहाँको भनाइ थियो ।

सभापति थापाले मुलुकले लामो समय राजनीतिक सङ्घर्ष र सङ्क्रमण व्यहोरे पनि त्यसको प्रतिफल जनताको दैनिक जीवनमा पर्याप्त रूपमा पुग्न नसकेको उल्लेख गर्दै यसका कारण सबै राजनीतिक दलले मिलेर खोज्नुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक रूपान्तरणलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

“यो विषय हामी सबै मिलेर खोज्नुपर्छ, हामी महाधिवेशनमा यही कुरा ‘डेलिभरी’ दिनका लागि के गर्ने, कांग्रेस कस्तो बनाउने भनेर मन्थन गर्नेछौँ”, सभापति थापाले भने ,

कांग्रेसले अब लोकतन्त्रको कुरा मात्रै नगरी जनतालाई परिणाम दिने राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्नुपर्ने सभापति थापाले बताए । लोकतान्त्रिक व्यवस्था र जनताको अपेक्षाबीचको दूरी घटाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो ।

“डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ, पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ, यही सङ्कल्प गर्छ”, सभापति थापाले भने ।

‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र र जनताबीचको विश्वासमा असर पर्छ’

सभापति थापाले कांग्रेस कमजोर वा निष्क्रिय हुँदा लोकतान्त्रिक व्यवस्था र जनताबीचको विश्वासमा असर पर्नसक्ने बताए । कांग्रेसले आफूलाई जनताको आवश्यकता र अपेक्षासँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

“आजको दिनमा नेपाली कांग्रेस बन्द भयो भने के हुन्छ भन्ने कुरा जनताले सोच्नुपर्ने बनाउने काम गर्नुपर्छ, पुल ढल्यो भने विश्वास ढल्छ, त्यो विश्वासका लागि कांग्रेसले काम गर्नुपर्ने छ”, सभापति थापाले भने ।

कांग्रेसले आफ्नो राजनीतिक सिद्धान्त र मूल्यमा स्पष्ट भएर अघि बढ्नुपर्ने सभापति थापाले बताए । तत्कालको राजनीतिक लाभका लागि सिद्धान्तसँग सम्झौता गर्ने प्रवृत्तिबाट पार्टी टाढा रहनुपर्ने उनको भनाइ थियो । आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्र तथा उद्योगी व्यवसायीको भूमिकालाई सम्मान गर्नुपर्ने उनले बताए ।

सभापति थापाले निर्वाचन आउने र जाने भए पनि त्यसको महत्त्वलाई बेवास्ता गर्न नहुने बताए । निर्वाचनको परिणाम महत्वपूर्ण भए पनि तत्कालको चुनावी लाभभन्दा दीर्घकालीनरूपमा देश र जनताको हितमा काम गर्ने राजनीतिक संस्कार आवश्यक रहेको उनले उल्लेख गरे् ।

सभापति थापाले १५औँ महाधिवेशनलाई कांग्रेसको नेतृत्व परिवर्तन गर्ने मात्रै नभई पार्टीको आगामी राजनीतिक दिशा, नीति र जनतालाई परिणाम दिने क्षमताबारे गम्भीर मन्थन गर्ने अवसरका रूपमा अघि बढाउने बताए । उनले कांग्रेसका केही साथीहरू पार्टीबाट बाहिरिएको उल्लेख गर्दै उनीहरूलाई कांग्रेस छाडेको हो कि होइन भन्ने विषयमा पनि अब स्पष्ट उत्तर दिनुपर्ने बताए । उनले पार्टीभित्र रहेका सबैलाई समेट्ने र बाहिरिएका नेताहरूका सम्बन्धमा पनि स्पष्ट धारणा बनाइने बताए ।

सभापति थापाले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका साथ १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा र सङ्कल्प लिएर बाहिरिनुपर्ने बताए । उनले देशको पछिल्लो अवस्थालाई हेर्दा उत्सवका रूपमा मात्रै महाधिवेशन गर्न आफूहरूलाई सहज नभएको बताए ।

“रसुवाको भोटेकोशीमा गएको बाढीका कारण हजारौँ नागरिक हामीमाझ हुनुहुन्न । यो महाधिवेशन गर्न मन थिएन । तर, संविधान र कानुनको परिधिका कारण गर्न बाध्य भयौँ”, सभापति थापाले भने ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै सभापति लामिछानेले लोकतान्त्रिक मूल्य र मान्यतालाई अझ सुदृढ र संस्थागत बनाउने पक्षमा पार्टी रहेको स्पष्ट गरे ।

उनले भने, “तपाईंहरूमाझ पूर्ण विश्वाससहित भन्न चाहन्छु, हामी लोकतन्त्रका मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ । यससँग सम्बन्धित संस्थालाई अझ बलियो बनाएर नेपाली जनताको त्याग, बलिदान र तपस्याबाट प्राप्त परिवर्तनको रक्षा गर्ने क्रममा अग्रपङ्क्तिमा उभिनेछौँ ।”

सभापति लामिछानेले लोकतन्त्रलाई निर्वाचनका माध्यमबाट मात्रै समृद्ध बनाउनसक्ने बताए । राजनीतिक आस्था र विश्वास अलग हुनसक्ने भए पनि सरकारको नियत सही भएको उनको भनाइ छ ।

“सरकारको नियत सही छ । कुनै निर्णय विवादमा पर्न सक्लान्, कुनै निर्णय खराब हुन सक्लान्, हामी सच्याउँछौँ”, उनले भने, “तर लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता, त्यसमा दायाँबायाँ हुँदैन, त्यसलाई डगमगाउन दिँदैनौँ । म यहाँहरूलाई विश्वस्त हुनका निम्ति अनुरोध गर्न चाहन्छु”, सभापति लामिछानेले भने ।

“म यहाँहरूलाई विश्वस्त हुनका लागि अनुरोध गर्न चाहन्छु । मैले त्यतिखेर संसद्मै भनेको थिएँ कि दुई ठूला राजनीतिक दलविना कुनै कारण, विनाकुनै सङ्कट, विनाकुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले सङ्कट पैदा गर्छ भनेर ।” उनले विगतलाई स्मरण गर्दै भने, “अहिले त्यो सत्य सावित भएको छ, त्यसले हामीलाई जन्मायो । म तपाईंहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । लोकतन्त्रको यति धेरै दुहाइ पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गछौँ भनेर, पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस् ।”

इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेको स्पष्ट गर्दै पार्टी सभापति लामिछानेले लोकतन्त्रमाथि मुलुकमा अहिले कुनै पनि प्रकारको खतरा नभएकाले ढुक्क हुन सबैसँग अनुरोध गरे ।

लोकतन्त्रमाथि कहीँकतैबाट खतरा देखिए त्यसको प्रतिवाद नेपाली जनताले गरी लोकतन्त्र जोगाउने स्पष्ट गर्दै सभापति लामिछानेले देश र जनताका पक्षमा रचनात्मक सहयोग गरी नेपाली जनताको विश्वास जितेर आगामी चुनावमार्फत सरकारमा आउन बाटो रहेको बताए ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै उनले देशको सबैभन्दा पुरानो पार्टी कांग्रेसको महाधिवेशन सफलताको कामना गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।