
भरतपुर । भरतपुर–१, पशुपति मन्दिरपछाडि नारायणी नदीकिनारमा खुट्टा धुनेक्रममा चिप्लिएर आमाछोरा नदीमा बेपत्ता भएका छन् ।
खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर–१२, मुनालचोकमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रसिद्ध पौडेल बेपत्ता भएका हुन् । उनकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेललाई प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रसिद्धिको अवस्था सामान्य छ ।
नदीमा छोरा चिप्लिएर लडेपछि आमा बचाउन जानेक्रममा दुवै बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरेर छोरी प्रसिद्धिलाई उद्धार गरेको हो । बेपत्ता सिर्जना र उनका छोरा प्रसिद्धको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
भरतपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्यमा ६ जना निर्वाचित भएका छन् । चितवन जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि ध्रुवराज पोखरेलका अनुसार चितवन जिल्लाबाट प्रतिनिधित्व गरी उमेदवार बनेका ६ जना नेता अब केन्द्रीय सदस्य बनेका छन् ।
विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका जितनारायण श्रेष्ठले अहिलेको १५औँ महाधिवेशनमा पुनः केन्द्रीय सदस्यमा जितेका हुन् । श्रेष्ठ मतगणनाको क्रममा धेरै मत ल्याउनेमा अग्रपङ्क्तिको पाँचौँ नम्बरमा थिए । कालिका नगरपालिका–९ निवासी श्रेष्ठ चितवन कांग्रेसका पूर्वजिल्ला सभापति हुन् । श्रेष्ठले खुलातर्फ केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गरेका थिए ।
२०७९ सालमा भएको चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा उनी सत्ता गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका थिए । उनी दुई पटकसम्म चितवन जिल्लामा नेपाल विद्यार्थी संघको अध्यक्ष भइसकेका युवा नेता हुन् ।
जिल्ला सहसचिव गोपाल दरैका अनुसार निलकण्ठ रिजाल र शान्ति परियार पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय सदस्यको मतगणना अझै जारी रहेको छ । यसअघि जनजाति क्लस्टर खुलाबाट उमेदवारी दर्ता गरेका टेकप्रसाद गुरूङ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । गुरूङ चितवनका पुराना नेता मानिन्छन् । उनी नेपाली कांग्रेसको चितवन जिल्ला पूर्वसभापति हुन् । गत फागुनमा भएको संघीय निर्वाचनमा गुरूङ चितवन क्षेत्र नं ३ बाट उमेदवार बनेका थिए । यसअघि नै नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसकेका गुरूङ २०२२ सालदेखि राजनीतिमा सक्रिय छन् ।
गुरूङ विसं २०३२ सालमा नेपाली कांग्रेसको चितवन जिल्ला कार्यसमिति सदस्य बनेका थिए । तीनपटक जिल्ला पञ्चायतको सभापतिसमेत भइसकेका गुरूङले ५६ वर्षअघि वडाध्यक्षको चुनाव जितेका थिए । अर्का केन्द्रीय सदस्यमा निर्वाचित भएका अमृत गुरूङ पनि जनजाति क्लस्टरबाट उमेदवार बनेका थिए । भरतपुर–२५ निवासी गुरूङ युवा उमेदवार थिए । तरूण दल चितवनका उपाध्यक्षसमेत रहेका उनी चितवन क्षेत्र ३ बाट महाधिवेशन प्रतिनिधि बनेका थिए ।
यस्तै, जनजाति महिलाबाट उमेदवारी दर्ता गरेकी गीता गुरूङ पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । भरतपुर–२६ निवासी गुरूङ बागमती प्रदेशकी सांसद् हुन् ।





