
रत्ननगर । रत्ननगर वाङ्मय प्रतिष्ठानको आयोजनामा विजयादशमीको शुभकामना आदान प्रदान, कृति विमोचन तथा रचना वाचन कार्यक्रम रत्ननगर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा लक्ष्मण अर्यालको निबन्धसङ्ग्रह ‘अन्तर्नाद’ र सुरेशचन्द्र आचार्यको जीवनीपरक कृति ‘ज्ञानदीप‘ विमोचन गरिएको थियो ।
रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे, नगरप्रमुख प्रलाद सापकोटा, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, कृतिकारद्वय लक्ष्मण अर्याल, सुरेशचन्द्र आचार्यलगायतले एकैसाथ दुवै कृतिको विमोचन गरिएको हो । दुवै कृति रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशित गरेको सदस्य सचिव विश्वनाथ खनालले जानकारी दिए ।
सदस्य सचिव खनालले सञ्चालन तथा अशोक भुसालले सहजीकरण गरेको कार्यक्रममा नगरप्रमुख प्रलाद सापकोटाले विजयादशमीको शुभकामना व्यक्त गर्दै रत्ननगरमा स्थापना गरिएको रत्ननगर वाङ्मय प्रतिष्ठानले साहित्यको श्रीवृद्धिमा खेलेको भूमिका सराहनीय रहेको बताए ।
कार्यक्रममा प्रा.डा. एकनारायण पौडेल र खैरहनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रा. चेतराज रेग्मीले कृतिबारे विश्लेषणात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा चितवन साहित्य परिषद अध्यक्ष जगन्नाथ पण्डित, तत्कालीन रत्ननगर नगरउन्मुख गाविसका अध्यक्ष एवम् परिकल्पनाकार निजानन्द मल्ल, धनराज गिरी, कृतिकार लक्ष्मण अर्याल, कतिकार सुरेशचन्द्र आचार्य, रत्ननगर–१ का वडाध्यक्ष एवं नगर प्रवक्ता कुलप्रसाद सापकोटा, रत्ननगर–३ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेल, पठन संस्कृतिका अभियान्ता उदय अधिकारी, साहित्यकार तथा समालोचक प्रा. कपिल अज्ञात, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, शिक्षाविद् तथा समालोचक रमाकान्त सापकोटा, राजेन्द्र घायल, अनिता अर्याल, करुणा उदासी कृष्ण, गीता लामिछाने, प्रकाश ढकाललगायतले आआफ्ना रचना वाचन तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको समापन गर्दै रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले सनातन धर्मले आस्तिकहरुको पनि अस्तित्वको सम्मान गर्ने भएकाले विजयादशमीको विशेष महत्त्व रहँदै आएको बताए । उनले भने, ‘सत्यमाथि असत्यको विजय’ हुने भनेको हामीभित्र हुने दानवीय प्रवृत्ति हटाउनु हो । सबैले आआफ्ना दानवीय प्रवृत्ति हटाउन सके सत्यमाथि असत्यको विजय हुन्छ ।’
उनले दुवै कृतिकारलाई बधाई दिँदै आगामी दिनमा निरन्तर लेखनीको कामना गरे । उनले दुवै लेखकप्रति आफू अत्यन्त प्रभावित भएको बताए । कार्यक्रममा करिब २०० जना साहित्यकार तथा साहित्य अनुरागीहरुको सहभागिता रहेको थियो ।
चितवन । बडादसैँको अवसरमा चितवनमा ३० करोड रुपैयाँभन्दा बढीको खसी–बोकाको व्यापार हुने व्यवसायीले जनाएका छन् । यो पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ ।
दसैँको सुरूआतसँगै जिल्लामा खसी, बोकाको मासुको व्यापार वढेको छ । मासु व्यवसायी संघ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार यो वर्षको दसैँमा मात्र व्यावसायिक रुपमा १५ हजार बढी खसी काटिने छ । अध्यक्ष कँडेलका अनुसार दसैँमा मात्रै ३० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।
जिल्लामा रहेका एक हजार बढी मासु पसलमध्ये १५० वटा खसी मात्र काट्ने मासु पसल रहेका छन् । अन्यमा कुखुरा र खसीसँगै काट्ने गरिएको उनले जानकारी दिए । यो तथ्याङ्कमा दसैँका लागि घरमै उत्पादन गरी घरमै खपत भएका खसीबोकालाई जोडिएको छैन ।
गत वर्षको दसैँमा १० हजार बढी खसी–च्याङ्ग्रा बिक्री भएको थियो । यस पटक बिक्री बढ्ने देखिएको उहाँले बताउनुभयो । १५ हजारसम्म खसी–च्याङ्ग्रा (बनाएर वा जिउँदो) बिक्री हुने अनुमान गरिएको उनले बताए । कँडेलका अनुसार १५ हजार खसी–च्याङ्ग्रा बिक्री भएको खण्डमा रु ३० करोडको कारोबार हुन्छ ।
विगत पाँच वर्षदेखि चितवनका मासु व्यवसायीले दसैँमा भारतीय खसीबोका आयात गरेका छैनन् । चितवनमा सञ्चालनमा आएका सहकारीहरुले खसीबोका उत्पादन गर्न थालेपछि भारतबाट खसीबोका नझिकाइएको अध्यक्ष कँडेलले बताउनुभयो । उहाँका अनुसार यसपटक चितवनका खसीहरु कठमाडौँ पठाइएको छ ।
चितवनमा गोरखा, धादिङ, नवलपरासी, तनहुँलगायत जिल्लाहरुबाट खसी आउने गरेको उनले जानकारी दिए । जिउँदो खसीको मूल्य रु ७०० भन्दा माथि पर्ने गर्दछ । तयारी प्रतिकिलो रु एक हजार दुई सयमा खसीको मासु चितवनको बजारमा बिक्री भइरहेको छ ।
कुखुराको मासु भने खासै दसैँमा बिक्री नहुने उनको भनाइ छ । उनका अनुसार रु चार करोड हाराहारीको कुखुराको मासु बिक्री हुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा दसैँका लागि चितवनमा च्याङ्ग्रा मागभन्दा बढी आएको छ । पहिला मुस्ताङबाट मात्र च्याङ्ग्रा आउने चितवनमा यसपटक जुम्ला, बझाङ, डोल्पाबाट पनि चितवनको बजारमा च्याङ्ग्रा आइरहेको छ ।
यस वर्षको दसैँमा चितवनमा तीन हजारभन्दा बढी च्याङ्ग्रा आएको उनले बताए । जसका कारण व्यापार वढ्ने आकलन छ । यसअघिका दसैँमा फूलपातीबाट मासुको व्यापार बढ्ने भए पनि यस वर्ष घटस्थापनाबाटै बढेकाले खपत बढ्ने अनुमान गरिएको उनको भनाइ छ ।
काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् ।
बडादसैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गर्ने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । ‘सात्त्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्त्विक जल, चन्दन, र अक्षता लगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबली सहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबली पनि शास्त्रीय हो’, उनले भने ।
ब्राह्मणका लागि भने पशुबली बर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलीको महत्व रहेको धर्मशास्त्रविदहरुको भनाई छ । दुर्गा सप्तशती चण्डीको आठौं अध्यायमा पनि यस सम्बन्धी चर्चा भएकाले पशुबलीलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउँछन् । ‘राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबली विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ’, उनले भने । यी तीनवटा शक्ति दुर्गा भवानीबाटमात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबली दिइने गरिएको हो ।
आजैका दिन राति कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आरधनासहित मनाउने गरिन्छ । कालरात्रीको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । ब्राह्मणले भने कालरात्री पूजा पनि गर्न नपर्ने विधान छ ।
आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखी लगायत मन्दिरहरुमा पनि बलीसहित पूजा आजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्छ ।
यसैगरी उपत्यका बाहिरका धादिङको कालिका भगवती, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो लाग्दछ ।
आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलीसहित पूजा आजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।
देवीका शस्त्र अस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबली नचढाउनेहरुले भने आज पूजा कोठामा आआफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजा आजा गर्ने गर्दछन् ।
महाअष्टमीका दिन राती हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्री पूजा गरिन्छ ।





