२०८३ कार्तिक ४ मंगलवार
२०८३ कार्तिक ४ मंगलवार

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । अस्पतालका निर्देशक प्रा.डा. गोपेन्द्र देवले बडादसैँको विशेष दिनका रुपमा लिइने अष्टमीदेखि एकादशीसम्मका चार दिन पनि बिरामीले सेवा पाउन सकुन् भनी सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । उनका अनुसार उक्त अवधिमा रेडियोलोजी, प्रयोगशाला तथा अन्तरङ्ग सेवा पनि नियमित सञ्चालन हुनेछन् ।

डा देवले भने, ‘दसैँका समयमा पनि चितवन मेडिकल कलेजले आफ्नो सेवालाई निरन्तरता दिनेछ । हामी सकेसम्म सबै स्वस्थ रहनुहोस् भन्ने चाहन्छौँ । तर बिरामी हुनुभयो वा कुनै स्वास्थ्य समस्या देखियो भने अस्पताल आउनुहोला, सेवा दिन तयार छौँ ।’

चाडपर्वका समयमा हुनसक्ने दुर्घटनाका घाइते, हृदयाघात, खाना अपच तथा झाडापखालालगायतका समस्या बढी देखिन सक्ने भएकाले विशेषज्ञ चिकित्सकसहित आकस्मिक कक्षबाटै उपचार सेवा दिने व्यवस्था गरिएको उनले स्पष्ट गरे ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले दसैँ बिदाका समयमा अस्पताल बन्द हुने आशङ्काले बिरामी अन्योलमा पर्नसक्ने भएकाले सेवा सञ्चालनबारे जानकारी गराउनु आवश्यक रहेको बताए । अन्य कतिपय अस्पतालमा नियमित सेवा बन्द वा सीमित हुने भएकाले बिरामीलाई असहज नहोस् भन्ने उद्देश्यले आकस्मिक कक्षलाई थप चुस्त बनाइएको उनले जानकारी दिए ।

उनले भने, ‘आकस्मिक कक्षमा थप डेस्क राखेर ओपिडी सेवा लिनुपर्ने बिरामीलाई पनि सेवा दिने गरी तयारी गरेका छौँ ।’ पुराना रोग भएका बिरामीलाई नियमित परामर्श आवश्यक पर्नसक्ने र आकस्मिक स्वास्थ्य समस्या जुनसुकै समयमा पनि उत्पन्न हुनसक्ने भएकाले अस्पतालले सेवा सञ्चालनलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

चितवन । राइनो क्लब, नारायणगढले यही कात्तिक १४ मा ‘राइनो दौड प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ ।

पाँच किलोमिटर दूरीको दौड गैँडाकोटस्थित जयश्री पुलबाट सुरु भई नारायणगढको लीलाचोकमा पुगेर समापन हुने प्रतियोगिताका संयोजक महेश प्रधानले बताए ।

उनका अनुसार प्रतियोगितामा महिला तथा पुरुष दुवै विधामा प्रतिस्पर्धा हुनेछ । दुवै विधाका विजेतालाई समान पुरस्कार प्रदान गरिने उनको भनाइ छ । प्रतियोगितामा प्रथम हुनेले रु। १५ हजार, द्वितीय हुनेले रु। १० हजार र तृतीय हुनेले रु। पाँच हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिने छ ।

त्यसैगरी, निर्धारित ३० मिनेटभित्र पाँच किलोमिटर दौड पूरा गर्ने सबै धावकलाई फिनिसर प्रमाणपत्र प्रदान गरिने प्रधानले बताए । ५० वर्षभन्दा माथिका भेट्रान धावकलाई समेत विशेष सम्मान गरिने प्रतियोगिताका सह–संयोजक रोहित श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले नाम दर्ता गर्न सक्ने छन् । दर्ता शुल्क २०० रुपैयाँ तोकिएको छ ।

प्रतियोगिताका सल्लाहकार राजु श्रेष्ठले राइनो क्लबले विगतमा नारायणगढ तथा आसपासका क्षेत्रमा दौडलगायत विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको बताए । २०३७ सालदेखि सञ्चालन हुँदै आएको दौड प्रतियोगिताले विभिन्न कारणले निरन्तरता पाउन नसकेपछि यस वर्षदेखि पुनः सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वलक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीतिअनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी एक हजार २०० बढी जनशक्ति परिचालन गरिने छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिहरुको चहलपहल बढी हुने हुँदा चोरी सिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो । उनले भने, ‘अहिले संवेदनशील क्षेत्रहरुमा ३५ ‘स्पाई क्यामेरा’ जडान गरेर सुरक्षा दिइएको छ ।’ चोरी सिकारीका हिसाबले जोखिम रहेका क्षेत्रहरुमा स्पाई क्यामेरासहित क्याम्पिङ एन्ड एम्बुसिङ लगायतका कामहरु गरिने उनले जानकारी दिए ।

सूचना अधिकारी मगरका अनुसार विगतमा हुने गरेका नियमित गस्तीसहित स्वीपिङ, पट्रोलिङ्, साइकल गस्ती, मोटरसाइकल गस्ती, बोट, गाडी र हात्तीबाट गस्ती गरिने छ । चार्डपर्वको समयमा निकुञ्ज आसपासमा बसोबास गर्ने स्थानीय पर्व मनाउन लाग्ने भएकाले चोरी सिकारीका बढी संवेदनशील मानिन्छ । संवेदनशील क्षेत्रहरुमा ‘लिङ्क पट्रोलिङ’ लगायतका कामहरु भइरहेको छ । चुरे क्षेत्रमा समेत चोरी सिकारी हुन सक्ने भएकाले सो क्षेत्रलाई समेत मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको छ ।

निकुञ्ज क्षेत्रभित्र ५७ स्थायी पोस्ट र ३ अस्थायी पोस्टहरुबाट सुरक्षा दिने काम भइरहेको छ । यसलाई अझै चुस्त बनाउँदै स्थानीयसँगको साझेदारीमा निकुञ्ज सुरक्षा गरिने छ । शंकास्पद स्थानहरुमा तालिम प्राप्त कुकुर (स्निफर डग) मार्फत निगरानी गरिने छ । आवश्यकताअनुसार अन्य सुरक्षा निकायसँग समेत समन्वय गरेर निकुन्ज क्षेत्रमा रहेका बस्तीहरुमा समेत तदारुपता बढाइएको उनले जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।