रत्ननगर । रत्ननगर नगरपालिकाले ‘प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ सञ्चालित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको बुधबार औपचारिकरूपमा समापन गरेको छ ।
अभियानको अन्तिम दिन नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सचेतनामूलक प्रस्तुतीकरण एवम् अन्तक्र्रिया कार्यक्रम गरी समापन गरिएको हो ।
अभियानको समापन समारोहमा बोल्दै कार्यक्रमका सहभागीहरूले हिंसा नगर्ने, हिंसा नसहने र हिंसा भएको देखेमा त्यसको सशक्त प्रतिवाद गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । सो अवसरमा सम्पूर्ण सहभागीहरुले प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका थिए ।
कार्यक्रममा वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीले विशेष प्रशिक्षण दिएकी थिइन् । उनले समाजमा विद्यमान लैङ्गिक हिंसाका स्वरुपहरू, यसले पार्ने मानसिक तथा शारीरिक असर र न्यूनीकरणका उपायहरूका बारेमा प्रस्तुतीकरण दिएकी थिइन् । उनले प्रविधिको दुरुपयोगबाट सिर्जित हिंसा र त्यसबाट बच्ने उपायहरुबारे पनि प्रशिक्षण दिइन् ।
रत्ननगर नगरपालिका लक्षितवर्ग व्यवस्थापन समितिका संयोजक बबिताकुमारी चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटा प्रमुखअतिथि रहेका थिए । सो अवसरमा उनले सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्धता जनाउँदै हिंसा सह्य नहुने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, रत्ननगरका १६ वटै वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका शाखा अधिकृत तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । त्यस्तै, सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, टोल विकास संस्थाका प्रतिनिधिहरू र इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी निरीक्षक सोभनविक्रम राणासहितको प्रहरी टोलीको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा लक्षितवर्ग छनोट समितिका संयोजक यशोदा अधिकारी पौडेलले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण तथा सञ्चालन रत्ननगर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा घिमिरेले गरेकी थिइन् ।
रत्ननगर नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको थियो ।








