रत्ननगर । प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सम्झनामा बिहीबार रत्ननगरमा ५०औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ प्रदेश ‘ख’ चितवनद्वारा आयोजित ‘वर्तमान राष्ट्रिय राजनीति र राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता’ विषयक एकदिने गोष्ठीमा वक्ताहरुले वर्तमान समयमा विपीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक रहेको चर्चा गरे ।
कांग्रेस चितवनका नेता रामकृष्ण घिमिरेले कांग्रेसका संस्थापक विपीले भारतमा निर्वासनमा कष्टपूर्ण, कठिन र संघर्षयुक्त जीवन बिताएर फर्किएको दिन २०३३ पुस १६ गतेलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको स्मरण गरे । उनले भने, ‘यो दिवस नेपाल र नेपालीका लागि महत्त्वपूर्ण छ । किनभने, विपीले आठवटा मृत्युदण्डका मुद्दा खेपिरहेका भए पनि राष्ट्रियताको पक्षमा जीवन अर्पण गर्न तयार भई स्वदेश फर्किएका थिए, तत्कालीन राजनीतिक अवस्थामा विपीको त्यो साहसिक निर्णय थियो ।’
यस्तै, अर्का नेता शेषनाथ अधिकारीले राष्ट्र र राष्ट्रियता जोगाउनका लागि विपीले मेलमिलापको नीति लिएको बताए । भारतमा निर्वासनको समयमा सिक्किम भारतमा विलय भएको घटनालाई नजिकबाट नियालेका विपीले राष्ट्रियता जोगाउनकै लागि एकता र मेलमिलापको नीति अंगालेको उनले बताए ।
कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठले देशको सार्वभौमसत्ता संरक्षणका लागि ज्यानको बाजी थापेर विपी, गणेशमान सिंह, शैलजा आचार्यलगायतका नेता स्वदेश फर्किएको चर्चा गर्दै वर्तमान अवस्थामा राष्ट्रिय राजनीति र राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता झनै बढेर गएको बताए ।
यस्तै, बागमती प्रदेश सभा सदस्य उत्तम जोशीले आजको लोकतन्त्रसहितको नेपाल विपी कोइरालाको जोखिमको परिणाम भएको बताउँदै मुलुकलाई अफ्ठयारो परेको वर्तमान समयमा पनि विपीको मेलमिलापको नीति अत्यन्त सान्दर्भिक रहेको बताए ।
यस्तै, कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले मुलुकको राजनीतिक दृष्टिकोण र बदलिँदो विश्व राजनीतिका कारण मुलुक निर्माणका लागि राष्ट्रिय एकताको आवश्यकता अहिले पनि उत्तिकै रहेको बताए । उनले थपे, ‘प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका विपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक छ ।’
राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुन सक्छ भन्ने उनको सोचलाई सबैले आत्मसात् गर्नु आवश्यक रहेको उनले बताए । राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले मात्र स्थापित हुने र यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्ने उनको भनाइ थियो ।
कांग्रेस नेतृ सुशीला उप्रेतीले हाल देशले विभिन्न नाममा राजनीतिक निकास खोजिरहेको सन्दर्भमा विपीको मेलमिलापको नीतिको उपयोगले सार्थक परिणाम सिर्जना गर्न सक्ने सम्भावना रहेको उनले बताइन् ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ प्रदेश ‘ख’ चितवनका सभापति गोविन्द गौतमको सभापतित्वमा सम्पन्न गोष्ठीको सञ्चालन देवेन्द्र भुजेलले गरेका थिए ।









