२०८२ चैत्र २० शुक्रबार
२०८२ चैत्र २० शुक्रबार

रत्ननगरमा काव्यिक विवेचना, स्रष्टा सम्मान तथा कृति विमोचन

रत्ननगर । रत्ननगर वाङ्मय प्रतिष्ठानको द्वितीय स्थापना दिवसको अवसरमा रत्ननगर नगरपालिकाको सभाहलमा १४२औँ लेखनाथ जयन्तीको सन्दर्भमा काव्यिक विवेचना, स्रष्टा सम्मान एवम् कृति विमोचन गरिएको छ ।

सो अवसरमा चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष केदारनाथ खनाल, प्रा. अपिल अज्ञात, प्रा. चेतराज रेग्मी, समालोचक उदय अधिकारी र लक्ष्मण अर्यालले कविशिरोमणि लेखनाथ पौड्यालले नेपाली साहित्यमा दिएको योगदानको विवेचना गरेका थिए । उनीहरुले सम्मानित नियात्रा सर्जक जीवा लामिछानेको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उनमा ‘व्यापार, यात्रा, लेखन र समाजसेवा’जस्ता चार आयाम रहेको भन्दै ‘नेपालकै रत्न’का रुपमा चर्चा गरेका थिए ।

सो अवसरमा ‘अक्षत अन्टार्कटिका’ नियात्राका लेखक लामिछानेलाई ३० हजार रुपैयाँ राशिको ‘सारस्वत रत्न पुरस्कार–२०८१’ बाट सम्मानित गरिएको छ । सो अवसरमा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, धनराज गिरी, राजेन्द्र घायल, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, पूर्व नगरप्रमुख नारायण वन, भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेललगायतले सम्मानित स्रष्टाप्रति शुभकामना तथा रचना वाचन गरेका थिए ।

कार्यक्रममा सम्मानित स्रष्टा जीवा लामिछानेले कविशिरोमणि लेखनाथ पौड्यालको कृति बाल्यकालमा पढेको स्मरण गर्दै उनका सिर्जनाबाट ‘व्यङ्ग्य, विद्रोह, चिन्ता र दर्शन’ पाइने उल्लेख गरे । उनले कविशिरोमणि लेखनाथ र रसियन लेखक लियो टल्सटोय एउटैजस्तै लाग्ने गरेको सुनाए ।

उनले आफूले लेखेका तीनवटा कृतिमध्ये ‘अक्षत अन्टार्कटिका’ बाल्यकालदेखिकै कौलुहलता भएको बताए । एउटा रहस्यको सिङ्गो महादेश जहाँ मानव बस्ती नभएको, १८०० मिटर हिउँले ढाकेको, त्यहाँको जलचर दोहन भइरहेको सन्दर्भमा अन्टार्कटिकालाई अक्षत रहन दिनुपर्छ भन्ने सोचले सन् २०२४ जनवरी १३ देखि २४ तारिखसम्मको यात्राका अनुभव सङ्गालेर आफूले पुस्तक तयार गरेको उनले बताए ।

रत्ननगर वाङ्मय प्रतिष्ठानले आफूलाई सम्मानित गरेकोमा आभार प्रकट गर्दै उनले पुरस्कार रकममा दुई लाख थप गरी वाल्मीकि साहित्य सदनको अक्षयकोषमा जम्मा गर्ने प्रतिबद्धता जनाए । यस्तै, चितवन साहित्य परिषद्का लागि पनि आफ्नी आमाको नामबाट ५० हजार रुपैयाँको अक्षयकोष घोषणा गर्दै सो रकमबाट महिला स्रष्टालाई सम्मान गर्ने बताए ।

प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुखअतिथि नगरउपप्रमुख यादवप्रसाद पाठकले आफू असल बनेर अरुलाई असल बनाउने कार्यमा स्रष्टाहरुले आफ्नो रचनामार्फत सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा स्व. कल्पना अधिकारीको लकडाउन कवितासङ्ग्रह विमोचन गरिएको थियो । कोरोना सङ्क्रमणको महामारी बढेपछि लकडाउनको कालखण्डमा अधिकारीले ५४ कविता रचना गरेकी थिइन् । कवितासङ्ग्रह प्रकाशित गर्ने चाहना हुँदाहुँदै क्यान्सरका कारण उनको निधन भएपछि उनकै सहकर्मी लक्ष्मी पाण्डेको सक्रियतामा रत्ननगर वाङ्मय प्रतिष्ठानले सो कृति प्रकाशन गरी विमोचन गरेको हो ।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण प्रतिष्ठानका सदस्य सचिव विश्वनाथ खनालले गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।