रत्ननगर । बन्जारा–बन्जाडे समाज नेपालको केन्द्रीय अध्यक्षमा गीता बन्जारा चयन भएकी छन् । रत्ननगरमा सम्पन्न समाजको सातौँ केन्द्रीय साधारण सभा तथा अधिवेशनले बन्जाराको नेतृत्वमा १९ सदस्यीय नयाँ समिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा तारा बन्जाडे, उपाध्यक्षमा केशव बन्जारा र प्रदीप बन्जारा, महासचिवमा दीपेन्द्र बन्जारा, सचिवमा हिरालाल बन्जारा, कोषाध्यक्षमा राजकुमार बन्जारा चयन भएका छन् ।
त्यस्तै, केन्द्रीय सदस्यमा निर्मल बन्जारा, बसन्तराज बन्जारा, नन्दलाल बन्जारा, भीमा केसी बन्जारा, खुस्बी भण्डारी बन्जाडे, राजकुमार बन्जारा, रामहरि बन्जारा, मनोहर बन्जारा र सुशीला बन्जाडे चयन भएका छन् । अधिवेशनमै नवनिर्वाचित अध्यक्ष गीता तिमिल्सेना बन्जारा, अर्जुन बन्जारा र जगतबहादुर बन्जारालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो ।
नवनिर्वाचित केन्द्रीय समितिलाई निर्वाचन समितिका संयोजक डा. मणिराम बन्जाडेले पद तथा गोपनीयताको शपथग्रहण तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष गीता तिमिल्सेना बन्जाराले समाजको संस्थागत विकास गरी बन्जारा–बन्जाडे समाजलाई देशभर चिनाउने गरी काम गर्ने प्रतिबद्धता जनाइन् । भाइचाराको सम्बन्ध स्थापित गर्दै कुल तथा वंशको रक्षाका लागि बिचलित नभई काम गर्ने उनको भनाइ छ ।
बन्जारा–बन्जाडे समाज चितवन र मकवानपुर जिल्ला कार्यसमितिको व्यवस्थापनमा रत्ननगर वडा नं–१०, सौराहा चोकस्थित शान्ति भिलेज रिसोर्टमा साधारण सभा तथा अधिवेशन गरिएको हो । भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकनाथ बन्जारा र रत्ननगर नगरपालिकाका प्रवक्ता कुलप्रसाद सापकोटा विशिष्ट अतिथि रहेको सो उद्घाटन कार्यक्रममा समाजको विकासमा योगदान गरेका २४ जना ज्येष्ठ नागरिक र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रेयङ्का बन्जारालाई सम्मान गरिएको चितवन जिल्ला अध्यक्ष रमेश बन्जाराले जानकारी दिए ।
साधारण सभा तथा अधिवेशनमा देशभरबाट २०० प्रतिनिधि सहभागी थिए । निर्वाचन समितिको संयोजकमा डा. बन्जाडेसहित सदस्यमा शिज बन्जारा र प्रलाद केसी बन्जारा रहेका थिए ।






