२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

रत्ननगर महोत्सवमा तीन लाखले गरे अवलोकन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा जारी रत्ननगर महोत्सवको १३औँ संस्करणको १० दिनसम्म आइपुग्दा तीनलाखले महोत्सव अवलोकन गरेका छन् ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरु भएको उक्त महोत्सवअन्तर्गत माघ १ गते एकैदिन ४५ हजारले अवलोकन गरेका थिए । माघ २ गतेसम्म दुई लाखले अवलोकन गरेको सो महोत्सवमा तीन दिनमा एक लाखले अवलोकन गरेका हुन् ।

माघ २ गते ४० हजार, ३ गते ३० हजार र ४ गते ३० हजारले महोत्सव अवलोकन गरेको संघका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए । संघका कोषाध्यक्ष विनोद घिमिरेले महोत्सव अवलोकनकर्ताको संख्या बढ्दै जाँदा टिकट बिक्री पनि अपेक्षाकृत नै रहेको बताए ।

महोत्सव अवलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भव्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् । महोत्सव प्रवेश गरेका अवलोकनकर्ताको रोजाइमा विभिन्न जनजातिको घर, कृषि परिसर र सांस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ ।

महोत्सव परिसरमाख महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको छ ।

विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोड बढीको कारोबार हुने अनुमान गरिएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए । पर्यटन प्रवर्द्धनतर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका करिब ५०० स्टलहरू रहेका छन् । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव माघ ६ गतेसम्म चल्ने छ ।

चितवन उद्योग वाणिज्य संघको टोलीलाई स्वागत

यसैबीच, रत्ननगर उद्योग वाणिज्य संघले महोत्सव परिसरमै चितवन उद्योग वाणिज्य संघका चिरञ्जीवी सुवेदी नेतृत्वको नवनिर्वाचित टोलीलाई स्वागत गर्दै बधाई ज्ञापन गरेको छ ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा संघका अध्यक्ष शङ्कर गिरी र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले स्वागत गरेका हुन् ।

सो अवसरमा पूर्वअर्थमन्त्री पाण्डेले लगानी सुरक्षाको लागि राज्य जिम्मेवार हुनुपर्ने बताए । सरकारको पैसाले देश नबन्ने भन्दै उनले मुलुक निर्माणको लागि नयाँ उपायको खोजी गर्नुपर्ने बताए । कार्यक्रममा रत्ननगर उवासंघका अध्यक्ष गिरी र चितवन उवासंघका अध्यक्ष सुवेदीले व्यवसायी सुरक्षा तथा उद्यमशीलता विकासमा दुई संघबीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।