रत्ननगर । नेपाली कांग्रेस क्षेत्र नं १ निर्वाचन परिचालन समितिको आयोजनामा महिला भेला एवम् उमेदवार भेटघाट कार्यक्रम रत्ननगरमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ‘बदल्यौँ कांग्रेस : बदल्छौँ देश’ भन्ने संकल्पका साथ कांग्रेस चुनावी अभियानमा होमिएको बताउँदै अबको चुनावमा सय पार गगन थापाको नेतृत्वमा सरकार भन्ने नाराका साथ कांग्रेसका सबै शक्तिहरु आफ्ना उमेदवार जिताउन लाग्नुपर्ने बताए ।
उमेदवार बुर्लाकोटीले देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्ने जेनजी युवाहरुको भावना सम्बोधन गर्न नयाँ युगको पार्टीको रुपमा रुपान्तरिक कांग्रेसका उमेदवारलाई जिताउन जरूरी रहेको बताए ।
उनले अहिलेको निर्वाचनमा महिला शक्ति नै निर्णायक हुने भएकाले महिलाहरु एकजुट भएर अगाडि बढ्ने हो भने कांग्रेसलाई जित्नका लागि कसैले रोक्न नसक्ने ठोकुवा गरे । उनले भने, ‘यसपटक मलाई जिताएर पठाउनुहोस् । चितवनका तीनवटै क्षेत्रबाट महिला उमेदवार बनाउने जिम्मा मेरो भयो ।’
कार्यक्रममा कांग्रेस रत्ननगर सभापति प्रलाद सापकोटाले चितवन क्षेत्र नं १ मा ४२ वडा रहेकामा स्थानीय तहको निर्वाचनमा २१ जना महिला उमेदवार बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने महिला यस क्षेत्रमा हुनुहुन्छ । तपाईंहरु अगाडि बढ्नुहोस् ५० प्रतिशत उमेदवार महिलाकै हुनेछ ।’
उनले कांग्रेसका महिला नेतृहरुलाई चुनावी अभियानमा लाग्न आग्रह गर्दै उनले भने, ‘तपाईंहरुले आफ्नो परिवारको भोट सम्हाल्दै गाउँ–टोलमा पुगेर आफ्ना उमेदवारका पक्षमा भोट माग्नुहोस् । तपाईंहरु दृढ सङ्कल्पका साथ लाग्नुभयो भने राजेन्द्र बुर्लाकोटी सांसद् र सभापति गगन थापा प्रधानमन्त्री बन्नुहुनेछ ।’
आफूले मेयरका रुपमा रत्ननगर नगरपालिकामा वार्षिक ३५०० विपन्न नागरिकका लागि स्वास्थ्य बिमा, असहाय विपन्न उपचारकोष स्थापना, ब्लड बैंक, स्थापना क्यान्सरका बिरामीलाई स्थानीय सरकारबाट २५ हजार दिने निर्णय, उद्यमशील कार्यक्रमजस्ता थुप्रै जनमुखी काम गरेको बताउँदै उनले भने, ‘अन्य जनप्रतिनिधिले गरेका जनमुखी कामको आधारमा पनि जनताले कांग्रेसलाई भोट हाल्ने वातावरण तयार छ । स्वास्थ्य बिमाको अवधारणा ल्याउने पनि गगन थापा नै हो । यस विषयमा मतदातालाई बुझाउन जरूरी छ ।’
कार्यक्रममा निर्वाचन संयोजक किरणभूषण ओलीले भने, ‘अनावश्यक प्रचारबाजी र सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण सामग्रीको पछाडि नलाग्नुहोस् । विदेशमा हाम्रा पनि दाजुभाइ र दिदीबहिनी छन्, उहाँहरुले पनि हाम्रा बाआमालाई आफ्ना उमेदवारका पक्षमा भोट हाल्न भनिरहनुभएको छ । कसैसँग नडराउनुहोस्, प्रत्यक्ष र समानुपातिकमा हाम्रै उमेदवारका पक्षमा भोट माग्नुहोस् । जित टाढा छैन ।’
कार्यक्रममा राष्ट्रिय सभा सदस्य गीता देवकोटा, कांग्रेस नेतृ सावित्रीदेवी चौधरी, भागीरथी चौधरी, निता ढकाललगायतले क्षेत्र नं १ को विकास र जनताको समस्या समाधान गर्न राजेन्द्र बुर्लाकोटीलाई अधिक मतसहित विजयी गराउनुपर्नेमा उनले जोड दिए ।
नेपाली कांग्रेस रत्ननगरका सचिव अनिता अर्यालले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।









