भरतपुर । महिलाको हक, अधिकार, सशक्तीकरण तथा असहाय बालबालिकाको संरक्षण र पुनर्स्थापनामा साढे तीन दशकअघिदेखि समर्पित समाजसेवी मीना खरेल चितवन–२ बाट कांग्रेसको तर्फबाट निर्वाचनमा होमिएकी छन् । खरेल चुनाव नजिकिएसँगै घरदैलो अभियान, पार्टीका नेताहरूसँग अन्तर्क्रिया तथा छलफल कार्यक्रमहरुमा व्यस्त भएकी छन् ।
मङ्गलबार आयोजित क्रियाशील भेलामा कांग्रेस प्रदेश सभा सदस्य उत्तम जोशीले हजारौँ टुहुरा बालबालिकाको आमा बनेर महिला हिंसामा परेका महिलाहरूलाई न्याय दिलाएर धेरै महिलाहरूलाई पुनस्र्थापना गरी सहयोग गरेकी मीना खरेल समाजमा स्थापित नाम भएको बताए ।
मीना खरेल एक व्यक्तित्व मात्र नभई समाज रूपान्तरणको अभियान रहेको भन्दै उनले भने, ‘महिलाको अधिकारका लागि निरन्तर आवाज उठाउनु र हजारौँ असहाय बालबालिकाको जीवनमा आमाको भूमिका निभाउनु सामान्य कुरा होइन । यस्तो व्यक्तित्व, चितवन–२ ले उमेदवारका रुपमा पाउनु गर्वको विषय हो ।’
खरेल विगत २५ वर्षदेखि महिला हिंसा, महिलाका समस्याविरुद्ध सक्रियरूपमा काम गर्दै अभिभावकविहीन, बेसहारा तथा जोखिममा परेका बालबालिकाका लागि शिक्षा, स्वास्थ्य र संरक्षणमा उल्लेखनीय योगदान पु¥याउँदै आएकी नेतृ हुन् । सडकमा जीवन बिताउन बाध्य बालबालिकालाई सुरक्षित आश्रय, विद्यालय भर्ना, आवश्यक उपचार तथा अभिभावकत्व प्रदान गर्दै उनले हजारौँ बालबालिकाको भविष्य उज्यालो बनाएकी छन् । यही कारण उनी आज धेरै बालबालिकाको ‘आमा’ बनेकी छन् ।
उनले भने, ‘निजी सम्पत्ति प्रयोग गरेर हजारौँ असाहय बालबालिकाको आमा बन्दै शिक्षा, स्वास्थ्य, महिलाको हकहितका निमित्त जुन आवाज लिएर उहाँ अगाडि बढ्नुभएको छ अब समग्र देशवासीको आवाज बन्नका लागि उहाँ निर्वाचनमा होमिँदै हुनुहुन्छ त्यसका लागि पनि सबैले उहाँलाई मतदान गरी जिताउन आवश्यक छ ।’
सामाजिक कामसँगै पर्यटकीय गतिविधि, विकास निर्माणका गतिविधि, शिक्षा, स्वास्थ्य, खानेपानी व्यवस्थालगायत भोलिको दिनमा दुःखसुखका सारथि बन्नका लागि मीना खरेललाई जिताउनु आवश्यक रहेको उनले बताए ।
‘चितवन क्षेत्र नम्बर २ को विकास निर्माणका लागि उहाँले कटिबद्ध काम गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ’, उनले भने, ‘कांग्रेसले उमेदवार बनाएको मीना खरेल अन्य उमेदवारभन्दा उत्कृष्ट रहेको भन्दै प्रत्येक टोल, वडा र गाउँबस्तीबाट अब रुखमा भोट हाल्ने दिन आएको छ ।’
उनले भपे, ‘यतिबेला कांग्रेस एकजुट, जोशिलो, उर्जाशील, ऊर्जावान् भएको छ । यो ऊर्जा फागुन २१ गतेसम्म निरन्तरता दिनुपर्छ । मीना खरेललाई मत दिएर कोही पनि पछुताउन पर्दैन ।’
हाल युवा, जेनजीका मागहरू पनि अब कांग्रेसले पूरा गर्ने बताउँदै उनले यतिबेला काग्रेस आफू पनि बदलिएर देश बदल्छु भन्ने नाराका साथ आएको बताए ।
‘कांग्रेसले कानुन निर्माण गर्छ, देशको शासकीय स्वरूप परिवर्तन गर्छ, जेनजी युवाहरूको माग परिवर्तन गर्छ, देश परिवर्तन गर्छ’, उनले भने, ‘यसपटक सबैले कांग्रेसका उमेदवारलाई भोट हाल्न म सबैलाई अनुरोध गर्न चाहन्छु ।’






