रत्ननगर । नेपाली कांग्रेस चितवन क्षेत्र नं १ अन्तर्गत प्रतिनिधिसभा निर्वाचनका लागि रत्ननगर–१० मा निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
कांग्रेस रत्ननगरका पूर्व नगरसभापति रुपनराज घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा चितवन १ बाट कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले यस क्षेत्रबाट प्रदेश र प्रतिनिधिसभामा कांग्रेसको नेतृत्व नरहेका कारण विकासमा पछाडि परेको बताउँदै आफूले यस क्षेत्रको समस्या नजिकबाट बुझेकाले कसैले पनि भोट दिएर पछुताउनु नपर्ने बताए ।
जेनजी आन्दोलनपछि बदलिएको नयाँ पार्टी कांग्रेस रहेकोले महिला, युवा, जेनजीलगायत सबैको माग पूरा गर्नका लागि कांग्रेसका उमेदवारलाई जिताउन आवश्यक रहेको बताए ।
वर्तमान कांग्रेसका सभापति गगनकुमार थापाले नौ महिनाको छोटो कार्यकालमा ल्याएको स्वास्थ्य बिमाको अवधारणा अहिले बन्द हुने अवस्थामा पुगेको बताउँदै स्वास्थ्य बिमालाई सत् प्रतिशतले लाभ लिने गरी कार्यान्वयन गर्नका लागि गगनकुमार थापाको नेतृत्व आवश्यक रहेकाले भोट दायाबाया नगरी रुख चिह्नमा हाल्नका लागि मतदातालाई बुझाउनुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेस जेनजीले उठाएको मागप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै देशमा सुशासन ल्याउन र भ्रष्टाचार र बेथिति अन्त्य गर्नका लागि एकबद्ध भएर चुनावमा होमिएको बताए । उनले भने, ‘मलाई भ्रष्टाचार गर्नु छैन । पैसा कमाउने लालसा पनि छैन । ५० वर्ष सामाजिक सेवामा लागेँ । अब यस क्षेत्रको सांसद् बनेर विकास र जनताको सेवा गर्नेछु ।’
कार्यक्रममा कांग्रेस नगरका नगरसभापति एवम् रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले आफूले स्थानीय सरकारको नेतृत्व गरिरहँदा सयौँ योजना पेस गरे पनि प्रदेश र केन्द्रबाट बजेट नपरेको बताउँदै सीमित बजेटका बाबजुत पनि रत्ननगरमा विकासका नमुना कामहरु सम्पन्न गरेको बताए । कांग्रेसका जनप्रतिनिधिले गरेका कामलाई हेरेर भोटमा बदल्नुपर्नेमा जोड दिए ।
समाजसेवा र निष्ठाको राजनीति गर्दै आएका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई यस क्षेत्रले प्रतिनिधिसभा सदस्य उमेदवारका रुपमा पाउनु गौरवको विषय भएको भन्दै उनले कांग्रेसले अत्यधिक मतसहित विजयी गराउनुपर्नेमा जोड दिए ।
कांग्रेस रत्ननगर–१० का वडासभापति एवम् वडाध्यक्ष कलाधर पौडेलले आफ्ना उमेदवारलाई जिताउन सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै आफूले वडाको विकासमा गरेको योगदान हेरेर पनि यसपटक कांग्रेसले पुरानो साख फर्काउने विश्वास व्यक्त गरे ।






