भरतपुर । देश अहिले निर्वाचनमय बनेको छ । राजनीतिक दलहरु आ–आफ्ना उमेदवारलाई जिताउन घरदैलो तथा कोणसभालाई तीव्रता दिएका छन । मतदाता फकाउन उमेदवारहरु आफ्ना प्रतिबद्धता, प्रतिज्ञापत्र, वाचापत्रसहित हरेक मतदाताको घर पुगिरहेका छन । यसैक्रममा चितवनमा पनि निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ ।
सर्वाधिक चर्चित चितवनको क्षेत्र नं ३ मा पनि उमेदवार मतदाता फकाउन व्यस्त छन् । उनीहरुले आफूले जित्ने दाबी पनि गर्दै आएका छन । चितवन क्षेत्र नम्बर ३ का कांग्रेसका पुराना तथा पाका उमेदवार टेकप्रसाद गुरूङले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । उनी आफू चितवनको आदिवासी, जनजाति रहेको र चितवनको विकास र राजनीतिमा पांँच दशक योगदान पु¥याएकोले आफूले चुनाव जित्ने दाबी गरेका छन् । ‘म मेरो लोकतान्त्रिक कांग्रेस पार्टी पुरानो र जिम्मेवारी पार्टी हो, म जीतको नजिक पुगिसकेको छु । केवल नतिजामात्र आउन बांँकी छ’, गुरूङले भने ।
विगत एक दशकदेखि चितवनमा नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकले भोट हाल्न नपाएको बताउंँदै यसपटक कांग्रेसका भोट खेर नगए आफ्नो जीतलाई कसैले नरोक्ने गुरूङको भनाइ छ । पछिल्लो समय सामाजिक सञ्जाल र भीडको आधारमा चुनाव जित्ने आधार नरहेको बताउंँदै गुरूङले आफ्नो घरदैलोको क्रममा पाएको अपार माया र साथ सहयोग नै चुनाव जित्ने विश्वासिलो आधार रहेको बताए ।
‘अहिले देश जलाउने र देश बनाउनेबीचको प्रतिस्पर्धा हो’, उनले भने, ‘यसपटक मतदाताले आफ्नो विवेकले आफ्नै भविष्य निर्माण गर्नुछ ।’ घरदैलोको क्रममा आफू माडीदेखि मेघौलीसम्म, हरेक मतदाताको ओतदेखि खेतसम्म पुगेको बताउंँदै हरेकको समस्या नजिकैबाट नियालेको उनले बताए ।
‘मैले यस क्षेत्रको हरेक नागरिकको समस्या नजिकबाट नियालेको छु । मलाई पनि उहांँहरुले राम्रोसंँग चिन्नु भएको छ’, उनले भने, ‘मैले जितेर आएमा यो क्षेत्रको कृषि, पर्यटन, विकास, रोजगारी नै मेरो पहिलो प्राथमिकता रहनेछ ।’






