२०८२ फाल्गुन १६ शनिबार
२०८२ फाल्गुन १६ शनिबार

मतदाताको भरोसा कामबाट प्रमाणित गर्छु : मीना खरेल

भरतपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिँदै गएको छ । निर्वाचन आउन अब एकसाता मात्र बाँकी रहँदा नेपाली कांग्रेसकी उमेदवार मीनाकुमारी खरेलले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएकी छन् । घरदैलो, कोणसभा तथा भेटघाट कार्यक्रममार्फत उनी मतदातासम्म पुगिरहेकी छन् ।

बुधबार भरतपुर महानगरपालिका–४ मा सम्पन्न घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो । नेता–कार्यकर्ता तथा स्थानीय समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा खरेलप्रति देखिएको उत्साहले क्षेत्रको चुनावी समीकरण थप रोचक बनेको छ । भरतपुर–४ स्वयम् खरेलको बसोबास क्षेत्रसमेत भएकाले आफ्नै वडामा उनले पाएको समर्थनलाई विशेषरूपमा हेरिएको छ ।

भरतपुर–४ धर्मचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै खरेलले आफ्नै वडाबाट पाएको माया, साथ र समर्थनले आफू भावुक बनेको बताइन् । उनले भनिन्, ‘मैले कल्पनासमेत नगरेका धेरै मान्छेहरू आजको घरदैलो र कोणसभामा उपस्थित भएर मलाई हौसला दिनुभयो । यही माया, विश्वास र साथले अब हाम्रो जीत सुनिश्चित भएको महसुस गरेको छु । तपाईँहरूले राख्नुभएको भरोसालाई कामबाट प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । हृदयदेखि धन्यवाद ।’

उनको चुनावी अभियानमा समर्थन जनाउन पूर्व डिआइजी रमेश खरेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठ, प्रदेश सभा सदस्य उत्तम जोशी तथा चितवन जिल्ला पार्टी सभापति राजेश्वर खनाललगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै रमेश खरेलले मीना खरेललाई आदर्श समाजसेवी नेतृको रूपमा चित्रण गर्दै चितवन–२ का मतदाताले ऐतिहासिक अवसर पाएको उल्लेख गरे । उनले भने, ‘लामो समयदेखि असहाय, पीडित महिला तथा बालबालिकाको आवाज बनेकी मीना खरेलजस्तो उमेदवार पाउनु चितवन–२ मात्र होइन, सिङ्गो राष्ट्रकै लागि गर्वको विषय हो । यो लडाइँ कुनै लोकप्रियताको होइन, सत्य र असत्यबीचको सङ्घर्ष हो । यसमा चितवन–२ का जनता चुक्नु हुँदैन ।’

उनले खरेलले करिब चार दशकदेखि समाजसेवाको क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै अब त्यो अनुभव र प्रतिबद्धता संघीय संसद्मार्फत् राष्ट्रनिर्माणमा प्रयोग हुने विश्वास व्यक्त गरे । ‘यस क्षेत्रलाई जीवन समर्पित गरेकी नेतृलाई भोट नदिनु भनेको चितवन र यहाँका पीडित समुदायको अपमान गर्नु हो’, उनले भने, ‘हामी ढुक्क छौँ, यसपटक चितवन–२ का मतदाताले सम्मानसहित भोट दिएर उहाँलाई विजयी गराउनुहुनेछ ।’

घरदैलो कार्यक्रमकै क्रममा भरतपुर–४ स्थित लक्ष्मिनारायण मन्दिर परिसरमा समर्थकहरूले खरेललाई फूलमालासहित भजनकीर्तन गरेर स्वागत गरेका थिए । स्थानीय महिलाहरू र युवाहरूको सहभागितामा गरिएको स्वागत कार्यक्रमले चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएको थियो । आफ्नै क्षेत्रकी निष्ठावान् र कर्मशील व्यक्तित्व उमेदवार पाएको उल्लेख गर्दै स्थानीय बासिन्दाहरूले यसपटकको मतदानमा कुनै पार्टीभन्दा माथि उठेर मीना खरेललाई नै मत दिने बताएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।