खैरहनी । नेपाली कांग्रेसबाट चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीको घरदैलो, ¥याली तथा मतदाता भेटघाट तीव्र बनेको छ ।
बुधबार खैरहनी–३, कठारलगायतका क्षेत्रमा घरदैलो र र्यालीमा पुगेका बुर्लाकोटीले ‘बदल्यौँ कांग्रेस : बदल्छौँ देश’ भन्ने संकल्पका साथ कांग्रेस चुनावी अभियानमा होमिएको बताउँदै कांग्रेसका सबै शक्तिहरु आफ्ना उमेदवार जिताउन लाग्नुपर्नेमा जोड दिए ।
उमेदवार बुर्लाकोटीले देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्ने जेनजी युवाहरुको भावना सम्बोधन गर्न नयाँ युगको पार्टीको रुपमा रुपान्तरिक कांग्रेसका उमेदवारलाई जिताउन जरूरी रहेको बताए ।
उनले अहिलेको निर्वाचनमा महिला शक्ति नै निर्णायक हुने भएकाले महिलाहरु एकजुट भएर अगाडि बढ्ने हो भने कांग्रेसलाई जित्नका लागि कसैले रोक्न नसक्ने ठोकुवा गरे । उनले भने, ‘यसपटक मलाई जिताएर पठाउनुहोस् । पूर्वी चितवनमा विकासको लहर आउने छ । र, यस क्षेत्रका जनताको मुहारमा खुसी छाउने छ ।’
यस्तै, निर्वाचन संयोजक किरणभूषण ओलीले भने, ‘मतदाताहरु विवेकशील हुनुहुन्छ । उहाँहरु हल्लाको पछाडि लाग्नु हुन्न त्यो मलाई थाहा छ । सामाजिक सञ्जालमा आएका अनावश्यक प्रचारबाजी र भ्रमपूर्ण सामग्रीको पछाडि लाग्ने फुर्सद कसैलाई छैन ।’
बुर्लाकोटीको चुनावी अभियानमा जिल्ला कार्यसमितिका पदाधिकारीदेखि विभिन्न भूमिकामा रहेका नेता, कार्यकर्ताहरुको सहभागिता रहँदै आएको छ । उनीहरुले क्षेत्र नं १ को विकास र जनताको समस्या समाधान गर्न राजेन्द्र बुर्लाकोटीलाई अधिक मतसहित विजयी गराउनुपर्नेमा जोड दिँदै आएका छन् ।






