२०८२ चैत्र १२ बिहीबार
२०८२ चैत्र १२ बिहीबार

अङ्कुरम् एकेडेमीमा अभिभावक विशेष प्रशिक्षण

भरतपुर । भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबार दुई सत्रमा अभिभावक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिकालाई आत्मविश्वासी, सहनशील र खुसी बनाउँदै उनीहरूको भावनात्मक तथा व्यावहारिक आवश्यकताहरू बुझ्न सक्ने अभिभावक तयार गर्ने उद्देश्यले विद्यालयले सो कार्यक्रम आयोजना गरेको हो । पछिल्लो समय बालबालिकाको मानसिक स्वास्थ्य, व्यवहार र अभिभावक–बालबालिका सम्बन्धलाई सुदृढ बनाउने विषयबारे बढ्दो चासोलाई मध्यनजर गरीे कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

प्रख्यात न्युरो–लिङ्ग्विस्टिक प्रोग्रामिङ (एनएलपी) प्रशिक्षक जोश बी. निरौलाले प्रशिक्षण दिएको कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणको कार्यक्रममा अङ्कुरम् एकेडेमीमा अध्ययनरत विद्यार्थीका अभिभावकहरू सहभागी भएका थिए भने दोस्रो चरणको कार्यक्रममा छिमेकी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका इच्छुक अभिभावकहरूलाई सहभागी गराइएको थियो । आफ्नो सामाजिक उत्तरदायित्वलाई समुदायसम्म पुर्‍याउन दोस्रो चरणमा प्रशिक्षण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्राचार्य सुमन पौडेलका अनुसार न्युरो–लिङ्ग्विस्टिक प्रोग्रामिङ ‘मानव सोच, भाषा र व्यवहारबीचको अन्तरसम्बन्ध बुझ्ने एक प्रभावकारी मनोवैज्ञानिक तथा व्यवहारिक विधि हो, जसले व्यक्तिको सोचाइ र व्यवहारलाई सकारात्मक दिशामा परिवर्तन गर्न’ सहयोग पुर्‍याउँछ । प्राचार्य पौडेलले अभिभावकले आफ्ना बालबालिकासँग गर्ने दैनिक व्यवहार, बोलचाल र प्रतिक्रिया नै उनीहरूको व्यक्तित्व विकासमा महत्त्वपूर्ण  हुने बताए ।

प्रशिक्षणका क्रममा अभिभावकहरूले बालबालिकासँग प्रभावकारीरूपमा संवाद गर्ने तरिका, उनीहरूको भावना बुझ्ने सीप, विश्वास र सम्मानमा आधारित सम्बन्ध निर्माण गर्ने उपाय तथा सकारात्मक अनुशासनका अभ्यासहरूबारे व्यावहारिक ज्ञान हासिल गरेका थिए । वास्तविक जीवनका उदाहरणहरू प्रस्तुत गर्दै प्रशिक्षक निरौलाले अभिभावकहरूलाई दैनिक जीवनमा लागू गर्न सकिने सरल तर प्रभावकारी विधिहरू सिकाएका थिए ।

कार्यक्रम अन्तर्क्रियात्मक शैलीमा सञ्चालन गरिएको थियो, जसमा अभिभावकहरूले खुलेर आफ्ना जिज्ञासा र अनुभवहरू ‘सेयर’ गरेका थिए । उनीहरूले उठाएका विभिन्न प्रश्नहरूको प्रशिक्षक निरौलाले व्यावहारिक र सान्दर्भिक जवाफ दिएका थिए जसले कार्यक्रमलाई प्रभावकारी, रोचक र सहभागितामूलक बनाएको थियो ।

चितवनको एकमात्र ‘क’ वर्गको विद्यालय अङ्कुरम् एकेडेमीले बालबालिकाको सर्वाङ्गीण विकाससँगै अभिभावकीय शिक्षा र सचेतनामा जोड दिँदै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । विद्यालयकी निर्देशक सरला पौडेलले अभिभावक र विद्यालयबीचको सहकार्य बलियो भएमात्र बालबालिकाको समग्र विकास सम्भव हुने बताइन् ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै विद्यालयका आवासीय निर्देशक नइम चौधरीले सहभागीहरूलाई स्वागत गरेका थिए भने कार्यक्रम उनकै सभापतित्वमा सम्पन्न भएको थियो । प्रशिक्षणमा सहभागी अभिभावकहरूले कार्यक्रम उपयोगी, प्रेरणादायी र व्यावहारिक भएको प्रतिक्रिया दिएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।