रत्ननगर । रत्ननगर नगरपालिका–९ निपनीमा डिजेल बोकेको ट्याङकरले साइकलसहित चार सवारी साधनलाई ठक्कर दिएको छ । सोमबार दिउँसो तीन मोटरसाइकल र एक साइकललाई ट्याङ्करले ठक्कर दिएको चितवन प्रहरीले जनाएको छ ।
ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का अन्दाजी ३५ वर्षीया मीना रेग्मी रहेकी छन् । उनी स्कुटरको पछाडि बसेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु २ ख २८९४ नम्बरको ट्याङकरले भित्री सडकबाट निस्किँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक भरतपुर महानगरपालिका–७ का ५३ वर्षका पूर्ण सापकोटा सकुशल रहेका प्रहरी निरीक्षक रिजालले जानकारी दिए ।
ट्याङ्करले सडकछेउमा रोकिराखेको ना ६५ प ७८८३ र ना ५५ प ८०८३ नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएर क्षति पुर्याएको छ । ट्याङ्करले एउटा साइकललाई समेत ठक्कर दिएको थियो साइकल पनि रोकेर राखिएको थियो । ट्याङ्कर चालक राप्ती नगरपालिका–७ का २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






