२०८२ चैत्र १३ शुक्रबार
२०८२ चैत्र १३ शुक्रबार

रत्ननगर नगरपालिकाको १८औँ नगरसभा : विभिन्न प्रतिवेदन पारित, दुई प्रशासनिक भवनको पुनर्निर्माण

रत्ननगर । रत्ननगर नगरपालिकाको बुधबार सम्पन्न १८औँ नगरसभाले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित योजना तथा कार्यक्रमहरुको वडागत, शाखागत र विषयगत समितिको चालू वार्षिक बजेट संशोधन, रकमान्तर एवम् शीर्षकान्तर गर्ने प्रस्ताव पारित भएको छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको तोडफोड र आगजनीका कारण क्षति भएका नगरका दुई प्रशासनिक भवनको पुनर्निर्माण भइसकेको छ भने १६ वटै वडा कार्यालयको पुनर्निर्माणको काम जारी छ ।

बजेट तथा योजना तर्जुमा समितिका संयोजक नगर उपप्रमुख यादवप्रसाद पाठकले वडा बजेट रकमान्तर तथा शीर्षकान्तरसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको बताए ।

सभाले उपप्रमुख पाठकले प्रस्तुत गरेको रत्ननगर नगरपालिकाको विनियोजन ऐन, २०८२ को दोस्रो संशोधन तथा आव २०८२/०८३ को वार्षिक बजेट संशोधन रकमान्तर एवम् शीर्षकान्तर गर्ने प्रस्ताव पारित गरेको हो । यस्तै आर्थिक ऐन, २०८२ को पहिलो संशोेधन पनि सर्वसम्मत पारित गरिएको छ । यस्तै, न्यायिक समितिको प्रतिवेदन र अनुगमन समितिको प्रतिवेदन पनि सर्वसम्मत पारित गरिएको छ ।

लेखा समितिका संयोजक सूर्यबहादुर तामाङले प्रस्तुत गरेको नगरस्तरीय लेखा समितिको प्रतिवेदन पनि पारित भएको छ । यसैगरी, सुशासन समितिकी कार्यवाहक संयोजक शारदा न्यौपानेले प्रस्तुत गरेको नगरस्तरीय विकास तथा सुशासन समितिको प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

यस्तै, विधायन समितिका संयोजक वीरेन्द्र महतोले प्रस्तुत गरेको नगरस्तरीय विधान समितिको प्रतिवेदन सर्वसम्मत पारित भएको छ । कानुन निर्माण सहजीकरण समितिका संयोजक वीरेन्द्र चौधरीले प्रस्तुत गरेको नगरका कानुनहरुको अभिलेख प्रमाणीकरण प्रस्ताव पनि पारित भएको छ । संयोजक महतोले नगर कार्यपालिकाबाट हालसम्म पारित भएका ८४ वटा कार्यविधि, नियमावली, निर्देशिका, ऐन तथा कानुनहरु प्रस्तुत गरेकोमा नगरसभाले सर्वसम्मत पारित गरेको हो ।

यस्तै, सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले प्रस्तुत गरेको रत्ननगर नगरपालिकाको प्रशासकीय कार्यविधि, २०८२ सर्वसम्मत पारित भएको छ ।
सभाध्यक्ष नगरप्रमुख प्रलाद सापकोटाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२ साउनदेखि फागुन मसान्तसम्म भएका नगर कार्यपालिका बैठकको नीतिगत निर्णयहरु अनुमोदनसम्बन्धी प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

सभामा बोल्दै नगरप्रमुख सापकोटाले रत्ननगर नगरपालिकाको सीमित बजेटका बाबजुत पनि पारदर्शी ढङ्गले बजेट विनियोजन गरेको बताउँदै नगरलाई नमुना बनाउने सपना अझै जीवितै रहेको बताए । उनले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आफूहरुले काम गर्दै आएको र यस अवधिमा आधारभूत शिक्षा निःशुल्क गरिएको र विसं २०८३ को असारमा बजेट विनियोजन गरी सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा घोषणा गर्ने योजना रहेको बताए ।

नगरप्रमुख सापकोटाले कुनै पनि नगरवासी स्वास्थ्यसेवाबाट विमुख हुन नपरोस् भनेर बकुलहर रत्ननगर अस्पताल र भरतपुर अस्पतालमा विपन्न उपचार कोष स्थापना गरिएको स्मरण गर्दै नगरवासीमात्रै नभई कार्यविधिअनुरुप पूर्वी चितवनका अन्य तीन पालिकाका जुनसुकै विपन्नको हकमा पनि एक हजार रूपैयाँदेखि २५ हजार रूपैयाँसम्म उपचार सेवा लिन सकिने गरी कोष स्थापना गरिएको बताए । स्वास्थ्य बिमा बन्द हुन लागेको सन्दर्भमा यो सुविधाले नगरवासी लाभान्वित हुने विश्वास उनले व्यक्त गरे ।

प्रशासन शाखाकी प्रमुख सविता अर्यालले स्वागत मन्तव्य राखेको नगरसभामा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले धन्यवाद मन्तव्य ज्ञापन गर्दै रकमान्तर एवम् शीर्षकान्तर बजेट, वडाको ठेक्का प्रक्रिया, फोहोर सङ्कलनको शुल्कलगायतका सन्दर्भमा उठेका सवालको जवाफ दिएका थिए । सभामा जनप्रतिनिधिहरु, विषयगत शाखा प्रमुखहरु, वडा सचिवहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा नगरपालिकाबाट अवकाशप्राप्त सचिवहरु एवम् सरूवा भई अन्य पालिकामा गएका कर्मचारीहरुलाई सम्मानसहित बिदाइ गरिएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।