२०८२ चैत्र १३ शुक्रबार
२०८२ चैत्र १३ शुक्रबार

राप्तीमा भलिबल प्रतियोगिता र चैते दसैँ मेला सञ्चालन हुने

राप्ती । राप्तीको शिखर सामुदायिक वन उपभोक्ता समूह र रियल गोर्खा युवा क्लबको संयुक्त आयोजनामा जिल्लास्तरीय खुल्ला नकआउट भलिबल प्रतियोगिता तथा प्रथम चैते दसैँ मेला एवम् बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ ।

चैत दसैँको अवसर पारेर यही चैत १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने सो कार्यक्रम राप्ती–५, शिखरबस्तीस्थित नागदह खेल मैदानमा सञ्चालन हुनेछ ।

भलिबल प्रतियोगिता जिल्लास्तरीय नकआउट प्रणालीमा सञ्चालन गरिने छ । प्रतियोगितामा जिल्लाभित्रका विभिन्न टिमहरूको सहभागिता रहने खेल संयोजक तथा रियल गोर्खा युथ क्लबका सल्लाहकार अविनाश पुनमगरले जानकारी दिए । प्रतियोगितामा राप्ती–५ र राप्ती–९ का भेट्रान टोलीहरूको सहभागिता रहने छ भने प्रत्येक टिमले बाहिरी जिल्लाबाट बढीमा तीन जना खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ८० हजार रुपैयाँ, द्वितीय पुरस्कार ४० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ निर्धारण गरिएको छ । सहभागी हुन चाहने टिमका लागि दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ । साथै, कार्यक्रममा पन्जा लडाइँ खेल पनि समावेश गरिने संयोजक सूर्य मोक्तानले जानकारी दिए ।

यसैबीच, प्रथम चैते दसैँ मेलाको अवसर पारेर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा बृहत् सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिने छ । कार्यक्रममा नृत्य, गीत, झाँकीलगायतका विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने कार्यक्रम संयोजक तथा क्लबका अध्यक्ष समीप तामाङले जानकारी दिए ।

कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र सफल बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको शिखर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्देश घलानले जानकारी दिए । पाँच दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने करिब ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।