भरतपुर । चितवनको नारायणी नदीकिनारमा सञ्चालन हुँदै आएको नियमित रक्तदान कार्यक्रममार्फत एक हजार पिन्ट रगत सङ्कलन भएको छ ।
‘मानवताका लागि रगत अभियान’ नारासहित वल्र्ड ब्लड डोनर्स अर्गनाइजेसन (विश्व रक्तदाता सङ्गठन) चितवन शाखाले सञ्चालन गर्दै आएको सो अभियानले निरन्तर रक्तदानलाई प्रोत्साहन दिँदै आएको छ । शनिबार साँझसम्ममा एक हजार पिन्ट रगत सङ्कलन गरिएको विश्व रक्तदाता सङ्गठन चितवन शाखाका अध्यक्ष राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
‘हामी निरन्तर नारायणी किनारमा अपराह्न ५ः०० बजेदेखि राति ८ः०० बजेसम्म रक्तदान कार्यक्रम गर्दै आइरहेका छौँ, यसले रगत दिनुपर्छ भन्ने मानसिकता बढाउन सहयोग पुगेको छ, रगत पनि उत्तिकै सङ्कलन भइरहेको छ’, अध्यक्ष पोडेलले भने । यस कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुरले गर्दै आएको छ । यस्तै, अभियानलाई सफल बनाउन चितवन मेडिकल कलेज ब्लड बैंकले पनि साथ दिँदै आइरहेको छ ।
रक्तदान गर्ने सम्पूर्ण रक्तदाता तथा कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ । एक थोपा रगत कसैका लागि अमूल्य जीवन बन्न सक्ने भन्दै स्वस्थ नागरिकलाई नियमितरूपमा रक्तदान अभियानमा सहभागी हुन वल्र्ड ब्लड डोनर्स अर्गनाइजेशनले आग्रह गरेको छ ।
विश्व रक्तदाता सङ्गठनका संस्थापक अर्जुन अधिकारीले नियमितरूपमा सञ्चालन हुने यस अभियानबाट संकलित रगतले उपचाररत बिरामीहरूको जीवन बचाउन मह¤वपूर्ण योगदान पुगेको बताए । उनले यो अभियान काठमाडौँ, चितवन, नवलपुर, वीरगञ्जमा सुरू गरिएको बताए ।












