रत्ननगर । बकुलहर रत्ननगर प्रादेशिक अस्पतालमा रेबिज रोगविरुद्ध खोप सेवा शुभारम्भ गरिएको छ ।
रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले रेबिजविरुद्धको भ्याक्सिन अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्य, मेसु डा. मदन ज्ञवाली र जनस्वास्थ्य शाखा प्रमुख नारायण ढुङ्गानालाई हस्तान्तरण गरी सेवा शुभारम्भ गरेका हुन् ।
सो अवसरमा नगरप्रमुख सापकोटाले लामो समयको प्रयासपछि रन्टी रेबिज भ्याक्सिन (एआरभी) अस्पतालमा ल्याउन सफल भएको र सेवाग्राहीलाई रेबिज भ्याक्सिनका लागि सहज हुने बताए । रत्ननगर नगरपालिका अस्पताल स्थापनादेखि सँगसँगै सहकार्य गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहजीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
उनले प्रादेशिक अस्पतालमा मेसिन उपकरणलगायतका सेवासुविधा अत्यावश्यक रहेकाले बागमती प्रदेशले सहयोग गर्नुपर्नेमा जोड दिए ।
अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्यले अस्पतालमा सिटी स्क्यानको अभाव रहेको बताउँदै रत्ननगर नगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गरिदिन आग्रह गरे । कार्यक्रममा अस्पतालका सदस्य विश्वनाथ खनाल, जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत इन्द्रमणि भण्डारी, अस्पतालका मेसु डा. मदन ज्ञवाली, रत्ननगर नगरपालिका सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईं र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख डिएसपी रञ्जन अवाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अस्पतालका प्रयोगशाला प्रमुख सुरज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा डा. शशांककुमार सिंहले रेबिज रोगबारे प्रस्तुति दिएका थिए । डा. सिंहका अनुसार नेपालमा ५० हजारको संख्यामा बर्सेनि एन्टी रेबिज भ्याक्सिन लगाउने गरेको र रेबिज रोगका कारण एकसय जनाले ज्यान गुमाउने गरेका छन् ।
उनले कुकुर, स्याल, फ्याउरो र न्याउरी मुसोको टोकाइबाट रेबिज रोग लाग्ने गरेको जानकारी दिँदै उनले मुसा र बाँदरको टोकाइबाट नेपालमा रेबिजको केस नरहेको बताए । उनले रेबिज रोग लागिसकेपछि कुनै पनि उपचार नहुने भएकाले जनावरले टोक्नासाथ टोकेको दिन, तीन दिन र सात दिन गरी तीन डोज एआरभी लगाउनुपर्ने बताए ।
उनले एआरभी पूर्ण सुरक्षित र भरपर्दो रहेकाले साइड इफेक्ट नभएको र गर्भवती महिलालाई पनि लगाउन सकिने जानकारी दिए । कार्यक्रममा जनप्रतिनिधिहरु, चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।








