२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

नेपाली कांग्रेसद्वारा पृथ्वीमान गुरूङप्रति उच्च सम्मान !

चितवन । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रहेका पृथ्वीमान गुरूङले जब विद्यार्थी कोइरालालाई भेट गरे, त्यसपछि उनको राजनीति नेपाली कांग्रेसमा सक्रिय रुपमा अघि बढ्यो । विसं २०३१ मा विद्यार्थी कोइराला पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा रहँदा भेटेका गुरूङले कोइरालाकै परामर्शमा चितवन झरेर सक्रिय राजनीतिमा लागेको जनाइएको छ ।

विसं २००६ मा कास्कीमा जन्मिएका गुरूङले एमएस्सीसम्मको अध्ययन गरेका थिए । प्राध्यापनसमेत गरेका बौद्धिक व्यक्तित्व गुरूङले प्राध्यापन छोडेर चितवनको राजनीतिमा सक्रियरूपमा लागेका थिए ।

केही समय अघिसम्म गण्डकी प्रदेशको प्रमुखको रूपमा रहेका गुरूङको यही साउन १० गते चितवनस्थित निवासमा निधन भएको छ । राजनीतिक र सामाजिक जीवनमा ठूलो योगदान पुर्‍याएका गुरूङको निधनसँगै प्रदेश सरकार र उनको पार्टी कांग्रेसले उच्च सम्मान व्यक्त गरेको छ ।

तीन दिनसम्म जिल्लास्थित पार्टीका कार्यालय बन्द गरेको कांग्रेस चितवनले आज जिल्लाका सबै तहहरुमा शोक पुस्तिका राखेर सम्मान व्यक्त गरेको छ । जिल्ला सभापति राजेश्वर खनालका अनुसार गुरूङ विद्यार्थीको परामर्शमा चितवन आएर प्राध्यापक छोडेर यहाँको सामाजिक परिवर्तन र राजनीतिक काममा सक्रिय भएका हुन् ।

नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको धेरै पटक सदस्य, आठौँ महाधिवेशनदेखि नै महासमिति सदस्य रहेका गुरूङ विसं २०६१ देखि २०६३ सम्म जिल्ला सभापति रहेका थिए । विसं २०४६ मा तत्कालीन जिल्ला सभापति कृष्णलाल सापकोटाको संयोजकत्वमा केन्द्रले गठन गरेको पाँच सदस्यीय जनआन्दोलन समितिमा उनी सदस्य थिए ।

विसं २०४८ मा चितवन क्षेत्र नं ३ बाट पार्टीको तर्फबाट उम्मेदवार भएर गुरूङ झिनो मतले पराजित भए । पराजित भए पनि उनी जनताको काममा निरन्तर लागिपरे । बिपी क्यान्सर मेमोरियल अस्पताल, माडीलाई भरतपुरसँग जोड्ने राप्तीमा पुल निर्माण, निकुञ्जभित्रको बस्ती पदमपुर स्थानान्तरण, पूर्वी चितवनको राप्ती तटबन्धजस्ता जिल्लाका ठूला विकास आयोजनामा उनको महत्त्वपूर्ण भूमिका रहेको खनाल बताउँछन् ।

विसं २०४८ पछि गिरिजाप्रसाद कोइराला पटकपटक प्रधानमन्त्री हुँदा यी विकासका आयोजना सम्पन्न भएका हुन् । त्यसो त सो समयमा पश्चिम चितवनको विकासमा गुरूङको योगदान महत्त्वपूर्ण छ । पश्चिम चितवन मात्रै होइन भरतपुर क्षेत्रमा सञ्चालनमा आएका ठूला दुई मेडिकल कलेज स्थापना गर्न गुरूङले भूमिका निर्वाह गरेको खनालले बताए ।

पार्टीमा रहेर जनताको हितमा काम गरेका कारण पूर्वसभापति गुरूङलाई जिल्ला समितिले उच्च सम्मान दिएर १३ दिनसम्म नै शोकका कार्यक्रम मात्रै गरिरहेको खनालले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।