रत्ननगर । रत्ननगर–७ स्थित पर्यटकीय नगरी सौराहामा ऊर्जा प्रभावकारी भवन निर्माणसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ । रत्ननगर नगरपालिका र बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (विन) परियोजनाको संयुक्त आयोजनामा सञ्चालित सो तालिमको रत्ननगरका उपप्रमुख यादवप्रसाद पाठकले समापन गरेका हुन् ।
कार्यक्रमका प्रमुखअतिथिसमेत रहेका उपप्रमुख पाठकले ऊर्जा प्रभावकारी भवन निर्माणसम्बन्धी तीनदिने तालिमले चितवनको भौतिक पूर्वाधार निर्माणलाई व्यवस्थित र आधुनिक डिजाइनमा प्रभावकारी भूमिका खेल्ने बताउँदै तालिममा सिकेका सीपको समुचित प्रयोग गर्न इन्जिनियरहरुलाई आग्रह गरे । उनले विन परियोजनासँगको सहकार्यबाट रत्ननगर नगरपालिकामा बन्ने नयाँ भवनहरु ऊर्जा प्रभावकारी निर्माणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा परियोजनाकी आर्किटेक इन्जिनियर संगीता थापामगरले बनेको भवनमा मान्छे आरामले बस्न सक्ने गरी ऊर्जा प्रभावकारी भवन निर्माणका लागि परियोजनाले काम गरिरहेको बताइन् । उनले. चितवनसहित ६० वटा पालिकामा परियोजनाले काम गरिरहेको भन्दै ३४ वटा पालिकाले कार्यविधि बनाएर काम सुरू गरिसकेको उल्लेख गरिन् ।
ऊर्जा प्रभावकारी भवन र अन्य भवनमा १० देखि ११ डिग्रीसम्मको तापक्रम अन्तर हुने भन्दै वायुमण्डलमा ३८ डिग्री तापक्रम हुँदा ऊर्जा प्रभावकारी भवनमा ३२ डिग्री तापक्रम हुने उनको भनाइ थियो ।
ऊर्जा प्रभावकारी भवन निर्माणका लागि परियोजनाले भवनको नक्सा डिजाइन गर्ने इन्जिनियरको क्षमता विकासका लागि तालिम, समुदायमा सचेतना, वित्तीय संस्थाका प्रतिनिधिहरुलाई पुँजीगत लागत र नीतिगत व्यवस्थाका विषयमा काम गरिरहेको उनले जानकारी दिइन् ।
तीन दिनको अवधिमा तालिममा सहभागी इन्जिनियरहरुलाई ऊर्जा प्रभावकारी भवन निर्माणका लागि प्राविधिक तथा व्यावहारिक ज्ञान प्रदान गरी सहभागिी इन्जिनियरहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुङ्गानाले तालिम निकै फलदायी रहेको र अब बन्ने भवन संस्थागत र व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । भवन निर्माण आचारसंहिताको पालना गर्दै सरकारी तथा निजीस्तरमा काम गरिरहेका इन्जिनियरहरुले ऊर्जा खपत कम हुने गरी भवनको डिजाइन गर्न तालिमले थप सहयोग पुग्ने उनको भनाइ थियो ।
इन्जिनियर गेहेन्द्र आचार्यले नवलपरासीमा सेवाकेन्द्र रहेको बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (विन) परियोजनामार्फत आवश्यक परामर्श, समन्वय र सहकार्यका लागि सधैँ तत्पर रहेको बताए ।
४० जना इन्जिनियरको सहभागिता रहेको तालिममा परियोजनाकी आर्किटेक इन्जिनियर संगीता थापामगर, प्रशिक्षक इन्जिनियर निसर्ज कुँवर र इन्जिनियर गेहेन्द्र आचार्यले सहजीकरण गरेका थिए ।
कार्यक्रममा रत्ननगर–७ का वडा सदस्य कुलप्रसाद आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।








