राप्ती (लोथर) । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण र वितरण कार्यलाई सहज बनाउन बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढाएको छ ।
निगमले शुक्रबार लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरी दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको कार्य शुभारम्भ गरेको हो । राप्ती नगरपालिका वडा नं–१ लोथरस्थित २३ बिगाहा १२ कठ्ठा जमिनमा आधुनिक सुविधासम्पन्न ग्रीन फिल्ड टर्मिनल निर्माण गर्न लागेको निगमले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको क्रममा विसं २०८० साल जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन र लोथरमा भण्डारण गृहसहित आधुनिक सुविधासम्पन्न डिपो निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो समझदारी कार्यान्वयनका लागि दुवै देशका सरकारीस्तरका पेट्रोलियम कम्पनीले आपसी सम्झौता गरी निर्माण कार्य गर्ने उल्लेख गरेका थिए ।
सोही समझदारीअनुसार गत असोज १७ गते इन्डियन आयल कर्पोरेसन (आइओसी) र नेपाल आयल निगमबीच बिटुबी सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण कार्य सुरू भएको ५४ महिनामा परियोजना सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ । इन्डियन आयल कर्पोरेसनले सो परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)समेत तयार पारिसकेको छ ।
भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ६९ किलोमिटर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना विसं २०७६ सालदेखि सञ्चालनमा आएको हो । सुरूवातको चरणमा डिजेल र मट्टितेल पाइपलाइनमार्फत आयात गरिएकामा केही समयअघिदेखि पेट्रोलियम पदार्थ पनि पाइपलाइनबाटै आपूर्ति गरिएको छ ।
सो परियोजना निर्माण भएपछि नेपालका पश्चिमी र उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति सजह हुने निगमले जनाएको छ । विसं २०२७ सालमा देशभर पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण र वितरण कार्यका लागि निगमको स्थापना भएको थियो ।
निगमले आइओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाट लोथरसम्म पाइपलाइनका लागि पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिने जनाएको छ । निगमका अनुसार अमलेखगन्ज–लोथर ६२ किलोमिटर दूरीमा १० दशमलव ७५ इन्च ब्यासको पाइपलाइन बिच्छयाइने छ ।
परियोजना प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले पेट्रोलियम पाइपलाइन विस्तार परियोजना साउन १६ गतेदेख सुरूवात भएको बताउँदै शनिबारदेखि नै सडक निर्माण र आइओसीसँग समन्वय गरी आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने जानकारी दिए ।
प्रमुख इन्जिनियर यादवले पाइपलाइन परियोजनाबाट पेट्रोलिमय पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुनुका साथै पेट्रोलियम पदार्थको चोरी तथा मिसावटमा पनि कमी आउने बताए । उनले सो परियोजनामा स्थानीयवासीलाई रोजगारीको व्यवस्था हुने बताए ।
निगमका उपनिर्देशक रामहरि निरौलाले निर्धारित समयमै परियोजना सम्पन्न हुने बताउँदै ट्र्याङ्करबाट इन्धन ढुवानी गर्ने समय विस्तारै हट्दै जाने बताए ।
राप्ती नगरपालिका वडा नं–१ का वडाध्यक्ष सिद्धलाल स्याङ्तानले चितवनकै गौरवको परियोजना यस क्षेत्रमा कार्यान्वयनमा आएकोमा खुसी व्यक्त गर्दै भने, ‘यो परियोजना राप्ती नगरपालिकाको मात्रै नभई चितवनकै गौरव हो, परियोजना सफलतापूर्वक कार्यान्वयनबाट यस क्षेत्रका स्थानीयको आर्थिक आयआर्जन र जीविकोपार्जनमा पनि सहज हुनेछ ।’ यस परियोजनालाई सफल पार्न राप्ती नगरपालिकाले सबै किसिमका सहयोग गर्न तत्पर रहेको उनले बताए ।
निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले पाइपलाइनबाट २७३ किलोलिटर प्रतिघन्टाको गतिमा तेल आपूर्ति गर्न सकिने जानकारी दिए । पूर्व–पश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिनेछ । ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकै समय नियमितरूपमा ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ । पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने सहायक प्रबन्धक पराजुलीले जानकारी दिए ।
लोथरमा १६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेसन निर्माण हुनेछ । सो स्टेसनमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीनवटा भर्टिकल ट्याङ्क निर्माण हुनेछ । यस्तै, डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीनवटा, मट्टितेल भण्डारणका लागि ८०० किलोलिटर क्षमताका दुईवटा र हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीनवटा ट्याङ्क निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा कुल ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुईवटा ट्रान्समिक्स ट्याङ्क निर्माण गरिनेछ ।
आइओसीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनअनुसार पाइपलाइनसहित भण्डारण गृह निर्माण लागत १४ अर्ब नौ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमा लोथर पाइपलाइन निर्माणका लागि चार अर्ब २८ करोड ८० लाख रुपैयाँ र लोथरमा निर्माण हुने भण्डारणसहितको ग्रीन फिल्ट टर्मिनलको लागि ९ अर्ब ८० करोड ८० लाख लागत अनुमान तयार गरिएको छ ।
पाइपलाइन परियोजना विस्तारको कार्य सुरू भएपछि लोथरका स्थानीय हर्षित भएका छन् । सो परियोजना निर्माणबाट यस क्षेत्रका स्थानीयको जीविकोपार्जनमा सहज तथा स्थानीय उत्पादनको खपत र रोजगारी सिर्जनालगायत क्षेत्रमा सहयोग पुग्ने वडाध्यक्ष सिद्धलाल स्याङ्तानको भनाइ छ ।









