कालिका । कालिका नगरपालिकाले नगरवासीलाई मनसुनजन्य विपद्को समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनी वर्षाले नगरपालिका क्षेत्रभित्रका विभिन्न खोलानालाहरुमा जलप्रवाह बढ्न गई मानवीय तथा भौतिक क्षतिहरु हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन नगरपालिकाले नगरवासीमा आग्रह गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले विज्ञप्ति जारी गरी वर्षा सुरू भएको हुनाले विपद्जन्य घटना बाढीपहिरो जान सक्ने सम्भावना रहेकोले खोला तथा नदी तटीय क्षेत्र वा भिरालो जोखिमयुक्त क्षेत्रमा बसोवास गर्नेहरु मनसुन अवधिभर अझ उच्च सतर्कता अपनाएर आफ्नो जीउधनको सुरक्षामा चनाखो भइदिन नगरवासीलाई अनुरोध गरेका हुन् ।
उच्च सतर्कता अपनाउँदाअपनाउँदै कुनै प्रकारको विपद्को घटना घटेमा नजिकका प्रहरी चौकीहरु, श्री सिंहनाथ गढ, नगरप्रमुखसहित जनप्रतिनिधिहरु, वातावरण तथा विपद् व्यवस्थापन समिति, विपद् फोकल पर्सन, विपद् व्यवस्थापन शाखा, नगर प्रहरीलगायतका ठाउँमा जानकारी गराउन नगरवासीमा अनुरोध गरिएको छ ।
नगरपालिकाले विपद्जन्य घटनाबाट बच्न र बचाउनमा खटिएका सबै संयन्त्रहरुको मोबाइल नम्बर पनि सार्वजनिक गरेको छ । मनसुनसँग सम्बन्धित बाढी, डुबान, भूक्षय, भारी वर्षा, चट्याङ र आकस्मिक बाढीका घटना हुन सक्ने जोखिम बढेको हुनाले कहीँकतै कुनै घटना हुनासाथ तत्काल खबर गर्न पालिकाले आग्रह गरेको छ ।
गत वर्ष कालिकामा मनसुनजन्य बाढीका कारण एक बालकको मृत्यु भएको थियो । भौतिक क्षतिहरु समेत भएका थिए । चितवनमा मनसुनजन्य क्षतिको मारमा बर्सेनि कालिका नगरपालिका परिरहेको छ ।
तथ्याङ्कअनुसार नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटना तीव्ररुपमा बढेको पाइन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७२ सालदेखि २०८१ सम्म मनसुनजन्य विपद्का घटनामा दुई हजार ३१७ जनाको मृत्यु भएको छ ।









