रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१६ को कार्यालय र पिठुवा स्वास्थ्यचौकीको संयुक्त आयोजनामा रत्ननगर–१६ अन्तर्गत सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत किशोरीहरुको लागि रक्तअल्पता परीक्षण कार्यक्रम सुरू गरिएको छ ।
भानु मेमोरियल आमाविका प्राचार्य इन्द्रबहादुर अधिकारीको अध्यक्षता एवम् रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्यहरु रीता विक, सरिता गुरूङ, चीजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, वडा सचिव मञ्जु पौडेल, स्वास्थ्यचौकी व्यवस्थापन समितिका सदस्य डोलकुमार थापालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रक्तअल्पताको समस्याबारे प्रकाश पार्दै पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्माले नेपालमा रक्तअल्पताको दर उच्च रहेको बताउँदै २१ प्रतिशत किशोरी र ११ प्रतिशत किशोरमा रक्तअल्पताको समस्या रहेको जानकारी दिए ।
उनले ३२ प्रतिशत किशोरकिशोरीमा न्यून पोषणको समस्या रहेको र ४८ प्रतिशत किशोर र ४३ प्रतिशत किशोरीहरुले न्यूनतम खाद्य विविधता भएको आहार लिइरहेको बताए । विशेषगरी किशोरीहरुमा हुने कुपोषणको समस्याले पछि उनीहरुबाट जन्मिने बालबालिकामा पनि दीर्घकालीन असर पर्ने उनले बताए ।
किशोरावस्थामा हुने रक्तअल्पताको समस्यालाई सम्बोधन गर्न सरकारले आव २०७२÷०७३ देखि विद्यालयहरुमा आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सञ्चालन गरेको छ । यस्तै, विद्यालय नजाने किशोरीहरुका लागि स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकामार्फत साप्ताहिकरुपमा आइरन चक्की खुवाउने कार्यक्रम लागू गरेको थियो ।
विद्यालयहरुमा आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सञ्चालन भए पनि विद्यालयहरुमा अध्ययनरत किशोरीहरुको लागि रक्तअल्पता परीक्षण कार्यक्रम भने पहिलोचोटि सञ्चालन गरिएको पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज शर्माले जानकारी दिए ।
रक्तअल्पता देखिएका किशोरीहरुलाई समयमै उपचार गर्न सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । उनले पालिकाका सबै वडाहरुमा यो कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो । रक्तअल्पता परीक्षण कार्यक्रममा स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए ।












