रत्ननगर । रत्ननगर–१, निपनीस्थित जिएसटी कलेजको आयोजनामा बिबिए कार्यक्रमअन्तर्गत लन्चप्याड सेलेब्रेटिङ सक्सेस चार्टिङ फ्युचर्स कार्यक्रम हुने भएको छ ।
स्थानीय शिक्षालाई विश्वव्यापी सफलतामा रुपान्तरण गर्ने उद्देश्यसहित सो कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमअन्तर्गत ब्रेन ड्रेन टु ब्रेन गेन टर्निङ लोकल एजुकेसन इन्टु ग्लोबल एक्सेस शीर्षकमा प्यानल डिस्कसन सञ्चालन हुनेछ ।
रत्ननगर–१, निपनीस्थित होटल स्टारमा साउन २९ गते बिहीबार बिहान ११ः३० बजेदेखि सञ्चालन हुने प्यानल डिस्कसन कार्यक्रममा प्यानलिस्टका रुपमा न्यू क्यापिटल कलेजका प्राचार्य तथा हिसानका केन्द्रीय सदस्य भूपेन्द्र धिताल, स्काइराइडर स्कुलका प्राचार्य तथा प्याब्सन चितवनका अध्यक्ष मदन पुरी र नेपाल आदर्श शिक्षा सदनका अध्यक्ष आइपी लामिछाने रहने छन् भने कार्यक्रमको सहजीकरण ई. सागर कार्कीले गर्नेछन् ।
सो प्यानल डिस्कसनमार्फत नेपालबाट हुने ब्रेन ड्रेन रोक्ने र स्थानीय शैक्षिक स्रोत तथा प्रतिभालाई देशको विकासमा प्रयोग गर्ने उपायबारे बृहत् अन्तक्र्रिया हुने कलेजका प्राचार्य राजकुमार दाहालले बताए । लाइभ म्युजिक विथ स्न्याक्ससहितको सो कार्यक्रममा पूर्वी चितवनका विभिन्न कलेजमा अध्ययनरत हाल कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरिने प्राचार्य दाहालले जानकारी गराए ।
जिएसटी कलेजले पूर्वी चितवनमा नै पहिलोपटक नयाँ शैक्षिक सत्रका लागि यसै वर्षदेखि चार वर्षीय बिबिए कार्यक्रम सुरू गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिएसटी कलेजले बिबिए अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि दुई सेक्सनमा ६६ सिट कोटाको बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको हो ।









