२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

चितवनमा भदौ १ देखि लम्पी स्किनविरुद्धको खोप अभियान सञ्चालन गरिने

चितवन । चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किनरोग नियन्त्रणका लागि खोप अभियान सुरू गरिने भएको छ । आगामी भदौ १ देखि साताव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

बागमती प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयकी सूचना अधिकारी डा. सविना मिश्रका अनुसार प्रदेश सरकारबाट प्राप्त खोप सातै स्थानीय तहमा वितरण गरी पशुलाई लगाइने छ । प्रदेश सरकारले १३ जिल्लामा अभियानको रूपमा लम्पी स्किनविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।

जिल्लामा दुई हजार डोज खोप बाँकी छ । अभियानका लागि थप १० हजार डोज खोप प्रदेशबाट आउँदै छ । उनले भनिन् “अहिले १२ हजार डोज खोप लगाउँदै छाँै ।” सातै स्थानीय तहमा गाईभैँसीमा यो खोप लगाइने छ । रोग लागिसकेका, गोठमा रोग देखिएका पशुलाई खोप नलगाइने उनले जानकारी दिइन् । स्थानीय तहमा खोपकर्ता नियुक्त गरी पठाउने तयारी गरिएको छ ।

जिल्लामा हालसम्म ६१ हजार ७९९ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइ सकिएको छ । भरतपुर महानगरपालिकामा १४ हजार ८९६, खैरहनी नगरपालिकामा आठ हजार २००, राप्ती नगरपालिकामा १४ हजार ५००, रत्ननगरमा आठ हजार ६०० पशुमा खोप लगाइएको छ ।

माडी नगरपालिकामा दुई हजार ८००, कालिका नगरपालिकामा नौ हजार ९७८, इच्छाकामना गाउँपालिकामा दुई हजार ८२५ पशु चौपायमा लम्पी स्किनविरुद्धको खोप लगाइसकिएको छ । उनका अनुसार जिल्लामा हालसम्म एक हजार ११६ गाईभैँसीमा यो रोग देखिएको छ । कार्यालयका तथ्याङ्कअनुसार हालसम्म ४५ गाईगोरु लम्पी स्किनका कारण मरिसकेका छन् ।

गर्मीयाममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको मिश्रले जानकारी दिइन् । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।

सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिन खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाटमुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने उनले बताइन् ।

रत्ननगर नगरपालिका पशुपक्षी शाखाका डा. लसता श्रेष्ठका अनुसार गोठ–गोठमा पुगेर सेवा प्रवाह गर्दा प्राविधिकबाटै रोग सर्न सक्ने जोखिमका कारण पशुसेवा शाखा तथा सेवाकेन्द्रहरुबाटै कृषकहरुलाई औषधि वितरण गर्ने गरिएको छ । उनका अनुसार हालसम्म लम्पी स्किनबाट प्रभावित ७३२ गाईभैँसीलाई सेवा दिइएको छ ।

रत्ननगर नगरपालिकाले गोठ–गोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक सेवा सञ्चालन गर्दै आएको छ । पालिकाका १६ वटै वडामा महिनाको एकपटक विज्ञसहितको प्राविधिक टोली किसानको खेत र गोठमै पुगेर बाली र पशुको उपचार गर्नेगरी सेवा सञ्चालन गर्ने गरिएको पशुपक्षी शाखाका प्रमुख कृषिविज्ञ प्रवीन लामाले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।