२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

भरतपुर । निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन चितवनले नयाँ पुस्ता (जेनजी) आन्दोलनका क्रममा ध्वस्त पारिएका जिल्लास्थित कार्यालयहरूको सेवा प्रवाहलाई सहज र छरितो बनाउन बिहीबार विद्युतीय उपकरणहरू हस्तान्तरण गरेको छ ।

प्याब्सन चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमार्फत १० थान कम्प्युटर र १० थान प्रिन्टर हस्तान्तरण गरेको हो । जिल्लास्थित प्याब्सनआबद्ध स्कुलहरूबाट उठाइएको रकमबाट ती सामग्री खरिद गरिएको प्याब्सन चितवनले जानकारी दिएको छ ।

‘युवाहरूको उकुसमुकस र देशमा सुशासन कायम गराउने हुटहुटीबाट सिर्जित आन्दोलनले जिल्लाका अधिकांश कार्यालयहरू ध्वस्त भएको र जिल्लामा छरितो सेवा प्रवाहका सहज होस् भनेर सहयोग गरिएको हो,’ प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले बताए ।

‘भदौ २३ र २४ गतेको आन्दोलनबाट सिर्जित परिस्थितिपश्चात सेवाग्राही नागरिकले सकेसम्म कम पीडा भोग्नु परोस् भनेर हामी प्रमुख जिल्ला अधिकारीसँग सल्लाह गरी ती सामग्री प्रदान गरेका हौँ’, पुरीले भने । प्रशासनको आग्रहबमोजिम हस्तान्तरण गरिएका सामग्रीमा टुबेल्थ जेनको आई–५ कम्प्युटर १० थान, ब्रदर ब्रान्डको एल–२३२० ड्युप्लेक्स (डबल साइड प्रिन्ट गर्न मिल्ने) थ्री इन वान प्रिन्टर १० थान र २२ इन्चको एलइडी मोनिटर १० थान रहेका छन् । ती कम्प्युटरमा ८ जिबी ¥याम र ५१२ जिबीको एसएडी लगाइएको प्याब्सन चितवनले जनाएको छ ।

प्याब्सन चितवनका कोषाध्यक्ष युवराज पौडेलको सक्रियता एवम् नेतृत्वमा प्याब्सन रकम सङ्कलन गरेर प्रदान गरिएको कम्प्युटर र प्रिन्टर प्रतिसेटको मूल्य एक लाख १० हजार हुन आउँछ भने सहयोग गरिएको सबै सेटको मूल्य एघार लाख रुपैयाँ पर्ने प्याब्सन चितवनले जानकारी दिएको छ । ‘देश दुखेको बेला मलम लगाउने प्रयासस्वरुप सहयोग गरेका हौँ,’ कोषाध्यक्ष पौडेलले भने ।

अध्यक्ष पुरीद्वारा हस्तान्तरित सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सामग्रीका लागि धन्यवाद ज्ञापन गरेका थिए । उनले भने, ‘नागरिकलाई छरितो सेवा प्रवाह गर्न चितवन प्रशासन प्रतिबद्ध छ, हामी घटनाको तेस्रो दिनबाटै सेवामा जुटिसकेका छौँ ।’

कतिपय जिल्ला प्रशासन कार्यालयहरूले दसैँअघि सेवा प्रवाह गर्न सकिँदैन भनेर सूचना निकालिरहेको अवस्थामा आफूहरू भने तत्कालै सेवा प्रवाहमा जुटिसकेको बताए । ‘आन्दोलनका नाममा ढुङ्गा हान्न उक्साउने र ढुङ्गा हान्नेलाई चाहिएको सेवा तुरुन्तै दिन सकियो भने त्यो ‘इँटको जवाफ फूलले दिएजस्तै हुन्छ’, उनले भने ।

प्रजिअ अर्यालले ध्वंसमा परेका चितवनका कार्यालयहरूमध्ये केही कार्यालयहरू सञ्चालनमा आइसकेको र मालपोत कार्यालयबाहेक अन्य सबै कार्यालयहरू छिट्टै सञ्चालनमा आउने बताए । आन्दोलनका क्रममा निकै संयमित भएको र मानवीय क्षति हुन नदिन आफूहरू पछि हटेको बताए । उनले भौतिक संरचनाको क्षति विस्तारै पूर्ति हुने तर मानवीय क्षति अपूरणीय हुने भएकोले आफूहरू पछि हटेको बताए ।

प्याब्सन चितवनका सचिव दयानिधि अर्यालले सञ्चालन गरेको सामग्री हस्तान्तरण कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू नेपाल प्रहरीका एसपी गोविन्द पुरी, नेपाली सेनाका गणपति दिनेश लामा, सशस्त्र प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक, निजी विद्यालयका प्रिन्सिपल एवम् सञ्चालकहरूको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।