रत्ननगर । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरूले अब आफ्नो परिचयपत्र असोज मसान्तसम्म नवीकरण गर्न सक्ने भएका छन् । सरकारले सामाजिक सुरक्षा नियमावली संशोधन गरी यो व्यवस्था लागू गरेको रत्ननगर नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले जानकारी दिए ।
यसअघि परिचयपत्र नवीकरणको अन्तिम मिति भदौ मसान्तसम्म तोकिएको थियो । तर, चालू आर्थिक वर्ष २०८२/०८३ का लागि सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ अनुसार असोज मसान्तसम्म नवीकरण गर्दा पनि मान्य हुने व्यवस्था गरिएको बस्ताकोटीले बताए ।
सामाजिक सुरक्षा भत्ता त्रैमासिकरूपमा वितरण हुँदै आएको छ । भत्ता ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, लोपोन्मुख जातजाति र बालबालिकालाई लक्षित गरी प्रदान गरिन्छ । भत्ता प्राप्त गर्न परिचयपत्र अनिवार्य छ र यसको समयमै नवीकरण गर्नुपर्ने प्रावधान छ ।
परिचयपत्र नवीकरणका लागि भत्ता प्राप्त गर्ने व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने प्रावधान छ । तर, आफैँ उपस्थित हुन नसक्ने बालबालिकाको हकमा निवेदनका आधारमा सम्बन्धित वडा कार्यालयबाट नवीकरण गर्न सकिनेछ । यस्ता विवरण स्थानीय तहले अद्यावधिक गर्नुपर्ने नियम रहेको छ ।
परिचयपत्र नवीकरण समयमै नगरेमा भत्ता प्राप्त नहुने बस्ताकोटीले बताए । ‘नवीकरण नगर्दा भत्ता रकम रोकिन्छ, त्यसैले तोकिएको समयसीमाभित्रै नवीकरण गर्न सबैलाई अनुरोध छ’, उनले भने ।
असोज मसान्तसम्मको यो समयसीमा थपिएसँगै लाभग्राहीहरूलाई नवीकरणका लागि थप समय प्राप्त भएको छ । सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गरिँदै आएको छ ।









