भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१, भतेरी जंगलस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा कारको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा दुई मोटरसाइकल चालक घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३३ च २६२७ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग २३ प ३०९२ र बागमती प्रदेश ०६–००१ प ९३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा बागमती प्रदेश ०६–००१ प ९३९१ नम्बरको मोटरसाइकलपछाडि सवार ४५ वर्षीया रेखाकुमारी पौडेलको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
सोही मोटरसाइकलका चालक गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं–१ बस्न ५६ वर्षीय खड्कप्रसाद पौडेल र ग २३ प ३०९२ नम्बरको मोटरसाइकल चालक कास्कीको पोखरा महानगरपालिका वडा नं–११ बस्ने ३६ वर्षीय राजु आचार्यको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कार चालक धनुषाको मिथिला नगरपालिका–१० बस्ने ३७ वर्षीय राम नारायणलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।









