२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

नारायणगढ–गैँडाकोट जोड्ने सिग्नेचर पुल निर्माण सुरू

चितवन । देशको पूर्व–पश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढस्थित नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माण सुरू भएको छ । चितवनको नारायणगढ र नवलपुरको गैँडाकोट जोड्ने हालको पुलसँगै नयाँ पुल निर्माण सुरू गरिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार निर्माणाधीन पुलको काम निरन्तर अघि बढिरहेको छ । पुलको निर्माण डिजाइन एन्ड बिल्ड प्रणालीअन्तर्गत भइरहेको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनादेखि फिल्डमा काम सुरू गरिसकेको छ । विसं २०८० जेठ १९ गते ठेक्का सम्झौतापछि निर्माण कम्पनीले पुलको अन्तिम डिजाइन तयार गरी प्रमाणीकरण गराइसकेको प्रमुख लामिछानेले बताए ।

उनले भने, “निर्माण व्यवसायीले समयमै डिजाइन पूरा गरी प्रमाणीकरण पनि भइसकेको छ, सोही आधारमा अहिले जग खन्ने र फाउन्डेसन निर्माण अघि बढाइएको छ ।” लामिछानेका अनुसार यो पुल केबल–स्टेड शैलीको आधुनिक संरचना हो । पुलको मुख्य टावरबाट तानिएका ठूला स्टील केबलहरूले पुललाई थाम्ने भएकाले यो संरचना बलियो, सुरक्षित, सौन्दर्यपूर्ण र पहिचानमूलक हुने बताइएको छ । हाल नदीमा डाइभर्सन निर्माण गरी पुलको फाउन्डेसन निर्माण गर्नुपर्ने स्थानहरूमा आवश्यक स्पेस तयार गर्ने काम भइरहेको छ ।

उक्त आयोजनाका व्यवस्थापक इन्जिनियर मञ्जिल मिश्रका अनुसार बर्खा सुरू हुनुअघि नै फाउन्डेसनको काम सक्नेगरी काम भइरहेको छ । प्रारम्भिक चरणमा टेस्ट पाइल पनि अघि बढिरहेको छ । चालु आर्थिक वर्षभित्र फाउन्डेसन तथा पाइलिङ सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुल निर्माणको अवधि चार वर्ष भए पनि हाल डेढ वर्ष जति समय बाँकी छ । हाल निर्माणको म्याद थपको प्रक्रिया पनि अघि बढिसकेको जानकारी उनले दिए ।

इन्जिनियर मिश्रका अनुसार ‘सिग्नेचर’ पुलमा नदीतर्फ दुई र दायाँबायाँ गरी चारवटा पिलर रहनेछन् । नारायणगढतर्फ दुई महिनाभित्र पाइलिङ सकेर गैँडाकोटतर्फ अर्को महिनादेखि सुरू गरिने छ । यस वर्ष फाउन्डेसन तथा केही सब–स्ट्रक्चरका कामहरू सुरू गरिने मिश्रको भनाइ छ । सडक विभागले पुल निर्माणका लागि सन् २०२३ मा ठेक्का लगाएको थियो । नारायणी नदीमा रहेको अहिलेको पुलको समानान्तर निर्माण गरिँदै गरेको नयाँ पुलको लम्बाइ ४२० मिटर र चौडाइ १२ मिटर हुनेछ ।

आइकोनिक केबल–स्टेड पुलअन्तर्गत आर्चब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सनलगायतका संरचनात्मक प्रविधिहरू समावेश हुनेछन् । पुल एक अर्ब ६८ करोड रुपैयाँको लागतमा निर्माण हुनेछ । नयाँ पुलको आयु कम्तीमा १०० वर्ष रहने बताइएको छ । हाल रहेको पुल विसं २०३८ मा निर्माण भएको हो र यसको आयु ७० वर्ष तोकिएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।